बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल हार्ट नेटले यस वर्षको विश्व मुटु दिवस  नर्भिक प्राङ्गणमा यसरी मनायो (हेर्नुस तस्वीर)

शनिबार, ३१ भदौ २०७४, १८ : ०९
शनिबार, ३१ भदौ २०७४

काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलले विविध कार्यक्रमका साथ यस वर्षको विश्व मुटु दिवस मनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १३ गते शुक्रबारका दिन अर्थात् महानवमीका दिन पर्न गएकोले नर्भिकले उक्त दिवस नेपाल हार्ट नेटसँगको संयोजनमा आजै शनिबार मनाएको हो ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको आयोजकले जनाएको छ । 

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ हालै आएर विकासोन्मुख राष्ट्रहरूमा मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् । हाल विश्वमा १ करोड ७३ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।


विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १ सय ५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन तथा अन्य विविध कार्यक्रमहरू गर्ने गरिन्छ ।

यस वर्षको विश्व मुटु दिवसको नारा ‘स्वस्थ जीवनशैलीका अनुभव बाँडौं’ रहेको छ । यसले मानिसका लागि मुटुको महत्व कति छ भन्ने दर्साउने आयोजकले जनाएको छ ।नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब २०० जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । कार्यक्रमको प्रमुख आतिथ्य वरिष्ठ मुटुरोग विशेषज्ञहरू मध्येका प्रा.डा. डम्बरबहादुर कार्कीले गरेका थिए भने विशेष अतिथि वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अवणीभूषण उपाध्याय थिए । कार्यक्रममा नेपाली मुटुरोग फाँटका सिद्धहस्त व्यक्तित्वहरू, वरिष्ठ मुटुरोग विशेषज्ञ नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्ट, लगायत मुटुरोग शल्य चिकित्सक डा. ज्योतीन्द्र शर्मा, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल र मुटुरोगका विविध विषयहरुमा प्रकाश पारेका थिए ।

 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रा. डा. यादवदेव भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै ‘इन्टेन्सिभ केयर स्पेशलिष्ट’ को सेवा थप्ने, चिकित्सा सेवामा चिकित्सकहरूको समूहगत दृष्टिकोण अपनाइने र बिरामीको समग्र व्यवस्थापनका लागि एकै स्थानमा सम्पूर्ण समाधान दिइने रणनीति अपनाइने बताए । 

प्रा.डा. यादव देव भट्टले नर्भिकको मुटुरोग विधालाई नेपाली जनताको उच्चतम् सेवाका खातिर नयाँ उचाईमा पुर्याउने योजना पनि प्रस्तुत गरे । हृदयाघात पश्चात् बिरामीको ज्यान बचाउन गरिने एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपका लागि अमेरिकन कार्डियाक एशोसियनले निर्धारित गरेको (प्रक्रिया सकेर बिरामी शय्यामा सार्ने) समय ९० मिनेट तोकेको छ भने नर्भिकको उक्त समय (धेरैजसो केसहरूमा) केवल ६० मिनेट मात्रै रहेकोले नर्भिकको स्तर युरोपेली र अमेरिकी सरह भएको उनले बताए । 


विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारीख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको दिवसले डेढ दशक पार गरिसकेको नर्भिक हस्पिटलले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप