शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा पार्टी संगठन अस्तव्यस्त : नेताहरु ‘भारदारी सभा’मा मस्त

शुक्रबार, ०९ असोज २०७७, २१ : ३१
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । नेपाली काँग्रेसको सांगठनिक संरचना अपूर्ण र अस्तव्यस्त छ । संघीय संरचनाअनुसार काँग्रेसले पार्टी पूर्ण संरचना बनाएको छैन । संघीय संरचनाअनुसार दुई वर्षअघि पार्टीको विधान संशोधन गरेको काँग्रेसले त्योअनुसार प्रदेश कमिटी गठन गर्न अझै आवश्यक ठानेको देखिँदैन ।

पार्टीका विभिन्न निकाय पनि अपूर्ण छन् । भ्रातृ संस्थाको ‘अस्थिपञ्जर मात्र बाँकी रहेको’ काँग्रेस नेताहरुबाटैै टिप्पणी आउने गरेका छन् । तरुण दल, नेपाल विद्यार्थी संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, दलित संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको वैधानिक कमिटी छैन ।

नेपाल किसान संघ र नेपाल आदिवासी जनजाति संघमा १७ वर्षदेखि  भानु सिग्देल र इन्द्रबहादुर गुरुङले नेतृत्व ओगटिरहेको अवस्था छ । नेपाल प्रजातान्त्रिक सेनानी संघका अध्यक्ष टंकप्रसाद शर्मा कँडेलले १७ वर्षदेखि महाधिवेशन नगराएर नेतृत्वमा कब्जा जमाएका छन् । 

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठ र नेपाल तामाङ संघका अध्यक्ष कबेलबहादुर लामाले १४ वर्षदेखि संस्थाको महाधिवेशन गराउन सकेका छैनन् । नेपाल ठाकुर समाजका अध्यक्ष अनिरुद्र ठाकुरले पनि स्थापना भएदेखि नै महाअधिवेशन गराउन सकेका छैनन् ।

काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद मीन विश्वकर्मा ८ वर्षदेखि नेपाल दलित संघका अध्यक्ष छन् । महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न विश्वकर्मालाई कुनै चासो छैन । यता नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन नभएको तीन वर्ष भइसकेको छ । निर्धारित समयमा महाधिवेशन गर्न नसकेको भन्दै तत्कालीन अध्यक्ष नैनसिंह महरलाई राजीनामा दिन लगाएर एक वर्षपछि तदर्थ समितिमा ल्याइएको पनि ७ महिना भइसकेको छ । 

६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी पाएको राजीव ढुंगाना नेतृत्वको तदर्थ समितिले यो अवधिमा पूर्णता समेत पाउन सकेको छैन । ६ महिना बितिसक्दा पनि १० जना पदाधिकारीबाट नेविसंघ विस्तार हुन सकेको छैन । 

१२ महिनाअघि नै म्याद सकिएको नेपाल तरुण दलको हालत पनि उस्तै छ । महाधिवेशनका लागि १ पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेपछि फेरि ६ महिनाको लागि म्याद थप गरिएको छ । पोखरामा भएको महाधिवेशनमा ४ सदस्यीय पदाधिकारी चयन भएपछि तरुण दलको कार्यसमिति विस्तार नहुँदै ३४ महिना बित्यो । 

यता अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीचको विवाद अझै टुंगिएको छैन । महासचिव शाही तरुण दलमा निष्कृय बनेको अवस्था छ ।  काँग्रेसका १३ भातृसंस्थामध्ये ११ भ्रातृ संस्थाको वैधानिक कार्यसमिति छैन ।

नेपाल महिला संघ, नेपाल मगर संघ, नेपाल मुश्लिम संघको केन्द्रीय कार्यसमिति मात्र वैैधानिक छ । यस्तै काँग्रेसका १८ शुभेच्छुक संस्थामध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा संघ, प्रेस युनियन, वन प्राविधिक संघ, कुमाल संघ र नेवाः खल गरी छ शुभेच्छुक संस्थाको केन्द्रीय कार्यसमितिको म्याद समाप्त भइसकेको छ ।

यता ३५ मुलुकमा रहेका जनसम्पर्क समिति मध्ये १८ जनसम्पर्क समितिको पनि म्याद समाप्त भइसको अवस्था छ । तर काँग्रेस नेताहरुबीच विभिन्न नेता, व्यक्ति वा अवधारणका नाममा संस्था (एनजिओ)हरु गठन र विस्तारको होडबाजी चलिरहेको छ । 

यसले काँग्रेस नेता– कार्यकर्ताको प्राथमिकता पार्टी तथा भ्रातृ–शुभेच्छुक संगठनभन्दा एनजीओ विस्तारमा केन्द्रित भएको लुकेको छैन । 

एनजीओको होडमा रामचन्द्र र गगनका नाम अगाडि

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरो चिन्तन पौडेलले यतिबेला युवा सजगता अभियान नामक संस्था विस्तामा लागेको पाइन्छ । उनी एनजीओको केन्द्रीय समिति, सल्लाहकार समिति, विदेशस्थित विभिन्न देश, नेपाल भित्रै सात प्रदेश र विभिन्न जिल्लामा संयोजक नियुक्तमै व्यस्त छन् । 

यस्तै नेता पौडेलका ज्वाइँले परमेश्वर पोखरेलले सामाजिक लोकतन्त्र अध्यायन केन्द्र चलाउने गरेका छन् । जसको उनले केन्द्र  प्रदेश र जिल्ला समिति समेत निर्माण गरिसकेको भेटिन्छ । यस्तै काँग्रेस नेता गगन थापा निकट युवाहरुको समूहले युथ काँग्रेस नामक सस्था गठन गरेको छ ।

सचिन तिमिल्सिना अध्यक्ष रहेको युथ काँग्रेसले प्रदेशमा प्रदेश समिति र विभिन्न जिल्लामा जिल्ला कार्यसमिति गठन गरिसकेको छ । विभिन्न देशमा पनि संगठन विस्तार भइरहेको पाइन्छ । यस्तै काँग्रेस सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य मिन विश्वकर्माको स्कुल अफ डेमोक्रेसीले पनि संगठन विस्तारमा तीव्रता दिएको छ ।

नेविसंघका पूर्व अध्यक्षसमेत रहेका  नैनसिंह महर अध्यक्ष रहेको उक्त संस्थाले देश तथा विदेशमा संगठन वितार गरिरहेको देखिन्छ । देशभर ६७ जिल्लामा र १८ भन्दा बढी देशमा आफ्नो संगठन विस्तार गरिसकेको र तीब्र रुपमा विस्तार गर्ने क्रममा रहेको स्कुल अफ डेमोक्रेसीले कही दिनअघि सातै प्रदेशका संयोजक समेत चयन गरेको थियो ।

यस्तै केन्द्रीय सदस्य प्रदीप पौडेलको संरक्षकत्वमा रहेको नेविसंघका नेता नवराज त्रिपाठीको युथ डेमोक्रेटिक फोरम पनि देशव्यापी सञ्चाल बनाउन व्यस्त छ । युथ डेमोक्रेटिक फोरम अध्यक्ष सरोज मरासिनीले विभिन्न प्रदेश र जिल्लामा संयोजक तोक्ने क्रम जारी राखेको पाइन्छ ।

यस्तै शशांक कोइरालानिकट निलकण्ठ रिजाल अध्यक्ष रहेको बिपी कोइराला युवा नेतृत्व मञ्चले पनि पछिल्लो समय विभिन्न जिल्लाका संगठन विस्तार गरिरहेको छ । नेता थापाको काँग्रेस पाठशालाले पनि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यस्तै थापा प्रमुख सल्लाहकार प्रताप पौडेल अध्यक्ष रहेको पब्लिक पोलिसी पाठशालाले कृयाशील छ । 

काँग्रेस नेता कृष्णप्रसाद सिटौला निकट नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना अध्यक्ष रहेको जिपि कोइराला लोकतन्त प्रबर्द्धन अध्ययन केन्द्रका सञ्चालन गर्दै आएका छन् । यस्तै काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत निकट प्रेमराज जोशीले आफूअध्यक्ष रहेको बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसीका नाममा गतिविधि अगाडि बढाएको पाइन्छ । जोशीले विभिन्न जिल्लामा शाखा विस्तामा गरेर संगठनिक गतिविधि गरिरहेको पाइन्छ ।

सामाजिक लोकतान्त्रका लागि ऐक्यबद्धता नेपाल नामक संस्थामा पौडेल निकट मनोजमणि आचार्य, प्रमोदहरि गुरागाँई र प्रतिमा गौतमले विभिन्न कृयाकलाप गर्दै आएको पाइन्छ । यस्तै पौडेल निकट ताराबहादुर थापा नेतृत्वको सुशील कोइराला सोसलिष्ट युथ सर्कल नामक संस्था पनि अस्तित्वमा रहेको पाइन्छ  । अभिनास सिलवालले सञ्चालन गर्दै आएको किसुनजी अध्ययन केन्द्र पनि नेता थापा निकट मानिन्छ । 

गोविन्द प्रसाद शर्मा अध्यक्ष रहेको प्रजातान्त्रिक महासंघ देशव्यापी संगठन भएको संस्था हो । वरिष्ठ नेता पौडेलसँग नजिक ठानिएको उक्त संस्था देश विदेशमै सञ्जाल बनिरहेको छ । यस्तै प्रकाशमान सिंह निकट ‘मंगलादेवी स्मृति प्रतिष्ठान’ले पनि संगठन विस्तारलाई तीव्रता दिएको छ । 

केही दिनअघि गंगालक्ष्मी अवाल अध्यक्ष रहेको उक्त प्रतिष्ठानले सातवटै प्रदेशका संयोजक समेत चयन गरेको थियो । यस्तै सिंह निकट नविन्द्रराज जोशी अध्यक्ष रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठानले पनि विभिन्न गतिविधि गर्दै आएको छ । गणेशमान सिंहका नाममा काँग्रेस नेता भीमसेनदास प्रधान लगायतका नेताहरुले पनि विभिन्न संस्थाहरु सञ्चालनमा ल्याएको पाइन्छ । 

यस्तै नोना कोइराला स्मृति प्रतिष्ठानका तर्फबाट काँग्रेस नेता डा. शेखर कोइराला सामाजिक गतिविधि गर्दै आएका छन् । डा.नारायण कुमार अध्यक्ष रहेको उक्त प्रतिष्ठानका शेखर संरक्षक समेत हुन् । यस्तै काँग्रेसमा सबैभन्दा ठूलो सञ्जाल भएको प्रतिष्ठानका रुपमा जिपि कोइराला फाउन्डेसनलाई लिइन्छ । काँग्रेस नेतृ सुजाता कोइराला अध्यक्ष रहेको उक्त संस्थाको देश तथा विदेशमा ठूलो सञ्चालन रहेको पाइन्छ ।

यस्तै काँग्रेसका पुराना नेताहरु कुलबहादुर गुरुङ, गोबिन्दराज जोशी र बिनयध्वज चन्द लगायतले बिपी विचार राष्ट्रिय समाज निर्माण गरेका छन् । बिपीका विचार र सिद्धान्तलाई जनस्तरसम्म पुयाउने उदेश्यले उक्त संस्था स्थापना गरिएको भनिएको छ । सो संस्थाको नेतृत्व नेता गुरुङले गरिरहेको छन् ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनको अध्यक्ष महामन्त्री डा. शशांक कोइराला समेत रहेका छन् । त्यसको सम्पूर्ण गतिविधि फाउन्डेसनका सदस्य सचिव अलुत कोइरालाले गर्दै आएका छन् । यस्तै काँग्रेस उपसभापति विमलेन्द्र निधि अध्यक्ष रहेको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान पनि रहेको छ ।

यस्ता संस्थाहरु गठन गरेर पार्टी संगठनसँग जोडिएका कार्यर्तालाई आफूसँग जोडर गुट निर्माणको अभ्यास गरिरहेको देखिन्छ । जसलाई काँग्रेसभित्र ‘भारदारी सभा’को संज्ञा दिइने गरिएको छ ।

पार्टीमा कुरा उठ्छ नीति बन्दैन

नेताहरु पार्टी र भ्रातृ संगठनलाई निस्तेज गरेर विभिन्न नेता र अवधारणाका नाममा ‘भारदारी सभा’ खडा गर्ने काम भइरहेको गुनासो सुनिन्छ । यस विषयमा गत वर्ष केन्द्रीय समिति बैठकमा एजेण्डा बनाएर छलफल भएको थियो । नेताका नाममा खोलेका प्रतिष्ठानहरु नेताहरुको प्रतिष्ठा ध्यानमा राखेर सञ्चालन गर्नुपर्छ भनेर नेताहरुले कुरा उठाएका थिए ।

पार्टीको समानान्तर संगठनका रुपमा विकसित गरिन खोजेको भन्दै यसबारे पार्टीले ठोस नीति बनाउनु पर्ने केही नेताहरुको तर्क थियो । त्यतिबेला पार्टीले कुनै ठोस निर्णय भने लिएको थिएन । यता काँग्रेस केन्द्रीय सदस्य एवम् शुभेच्छुक संस्था समन्वय विभाग प्रमुख एनपी साउदलाई पनि यस्ता एनजीओ गठन गर्ने कुरा निको लागेको छैन । 

उनले भने, ‘नेपाली काँग्रेसँग आबद्ध नेता कार्यकर्ताहरुको सक्रियतामा विभिन्न नेताका नाममा, व्यक्तिका नाममा वा अवधारणाका नाममा विभिन्न संस्था खुलेका छन् । आधारभूत रुपमा उनीहरुको संरचना गैरसरकारी संस्था जास्तो देखिन्छ । कतिपय गैरसकारी संस्थाका नाममा दर्ता पनि भएका छैन । तर अधिकांश संस्थाहरु राजनीतिक प्रयोजनका लागि गठन गरिएका देखिन्छन् ।’

साउदका अनुसार काँग्रेससँग क्रियाशील विभिन्न तह–तप्कालाई विभिन्न नाममा जोडेर गुटको पक्षपोषण गर्ने गरी त्यस्ता संस्थाहरुको सयन्त्रको प्रयोग गर्ने भित्री उद्देश्य रहेको देखिन्छ । त्यसमाथि थप अहिलेको लकडाउन र निषेधाज्ञाले  यस्ता संस्थाहरुलाई सक्रिय हुने अनुकूल वातावरण बनाइदिएको उनको बुझाइ छ ।

‘यतिबेला नेपाली काँग्रेसभित्र झुण्डबजार अत्यन्त फस्टाएको छ । यसले पार्टीको नीति निर्देशन र आबद्धताभन्दा पनि पार्टी कार्यकर्तालाई त्यस्ता संस्थामा संगठित गरेर दिग्भ्रमित तुल्याउने काम भएको देखिन्छ । यसले पार्टीभित्र अन्तरविरोध पनि बढाएको छ । पार्टीभित्रको जनमत पनि दिगभ्रमित भएको छ,’ साउदले भने । पार्टी आधारित व्यक्तिगत सञ्जालहरु वा गुटीय सञ्जालहरु पार्टीका लागि प्रतिउत्पादक हुने उनको दावी छ ।

उनले भने, ‘यस्ता संस्था र यस्ता संस्थासँग आबद्ध हुने कार्यकर्ताका बारेमा एउटा दृष्टिकोण बनाउन आवश्यक छ । आम कार्यकर्ता भ्रममा नपरुन् भनेर पार्टी पंक्तिलाई पनि निर्देशित गर्न जरुरी छ ।’

यसबारे केन्द्रीय सदस्य कल्याण गुरुङ भने फरक मत छ । उनले भने, ‘यो संवैधानिक अधिकार हो । कुनै पनि संघ संस्था खोल्नु र त्यसको विधानभित्र रहेर गतिविधि गर्न पाउने संवैधानिक हक हो । संस्था खोल्ने सबैलाई स्वतन्त्रता हुन्छ । संस्था खोलेर गतिविधि गर्ने कुरा राम्रो हो । पार्टीलाइै कुनै पनि असर गर्दैन ।’

कसैले बढीभन्दा बढी जिम्मेवारी निर्बाह गर्न चाहनु राम्रो भएको उनको भनाइ छ । गुरुङले भने, ‘राजनीतिक दलको कुनै नेताले राम्रो कामलाई एनजीओले अवरोध गर्यो, हाम्रोभन्दा बढी एनजीओले कुनै काम गर्यो भन्ने हो भने त्यो लघुताभास हो । कुनै एनजीओले राजनीति दलसँग समान्तर गतिविधि गर्न सक्छ ।’ 

एनजीओमा आबद्ध नेता कार्यकर्तालाई पार्टीले कुनै पनि जिम्मेवारी दिइने छैन, छनेर नीतिगत निर्णय गर्ने सक्ने अवस्था नरहेको भन्दै यसका विरुद्धमा टिप्पणी गर्न उचित नभएको नेता गुरुङले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप