शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ महिनादेखि दुबईको अस्पतालमा कोमामा इस्तखार मियाँ, सहयोग गरिदिन परिवारको अपिल

आइतबार, ११ असोज २०७७, ०९ : २०
आइतबार, ११ असोज २०७७

वैदेशिक रोजगारीका लागि यूएई आएका पर्सास्थित वीरगञ्ज–२ का इस्तखार मियाँ ठकुराइ अहिले कोमामा पुगेका छन् । लिभर र मिर्गौलाको जटिल समस्याले गर्दा विगत डेढ महिनादेखि उनी दुवईको रसिद अस्पतालमा जीवनसँग संघर्ष गर्दै छन् । कोमामा भेन्टिलेटरको सहायताले श्वासप्रश्वास गर्दै आएका ठकुराइलाई पछिल्लो समय मस्तिष्कमा पनि समस्या देखिएको अस्पताल स्रोतले बताएको छ ।

विदेशमा धेरै पैसा कमाइ परिवारको भविष्य सजाउने योजना बुन्दै गरेका ठकुराइ विगत ५ वर्षदेखि दुवईको सतुवामा रहेको एक टेलरिङ कम्पनीमा काम गर्थे । एक्कासी शारीरिक समस्या आएपछि उनीलाई रसिद अस्पताल लगिएको थियो ।

ठकुराइका छोरी गुलाप्सा खातुनले कम्पनीले बुवाको कुनै पनि रेखदेख नगरेको गुनासो गरिन् । लामो समयसम्म अस्पतालको शैयामा आफ्नो बुवा मृत्युसँग लड्दै गर्दा छोरी गुलाप्साले सहयोगको अपेक्षा गरेकी छिन् । उनका अनुसार बुवाको उपचार खर्च पनि धेरै भएकोले समस्या झनै जटिल बन्दै गएको बताइन् ।

वीरगञ्जको घण्टाघर नजिकै एक म्यानपावर एजेन्सीबाट ५ वर्ष अघि युएईमा आएका ठकुराइ काम गर्ने कम्पनीले उनको भिसासमेत रद्द गरिदिएको कम्पनीका सुपरभाइजर राजीवलाई उदृत गर्दै छोरी गुलाप्साले रातोपाटीलाई बताइन् ।

बुवाको शारीरिक जटिल समस्या आएपछि कम्पनीले छाडेको छोरी गुलाप्साको आरोप छ । उनलाई आफ्नो बुवाको अवस्थाबारे सोही कम्पनीको सुपरभाइजरले खबर गरेका थिए । अहिले बुवाको अवस्था बुझ्न खोज्दा ती सुपरभाइजर सम्पर्कविहीन भएकोले सहयोगको लागि सबैमा अपिल गरेकी हुन् । उनले नेपाली दूतावास युएईलाई समेत सहयोग गरिदिन अनुरोध गरेकी छिन् ।

गुलाप्साका अनुसार कम्पनीले कोरोनाको कारण व्यावसाय धराप परेको भन्दै कामबाट निकालिएको बताए पनि गत बकर ईदमा बुवाले नेपालमा पैसा पठाएको बताइन् । उनले  भनिन्, ‘कम्पनीले भागेको आरोप लगाएको छ।मेरो बुवाको उपचार खर्च दिनुपर्छ भनेर कम्पनीले कामबाट निकालेको बहना गर्याे । यो झुटो हो । कम्पनीमा नै काम गर्दा बुवा बिरामी हुनु भएको हो । अहिले उपचारमा बेवास्ता गर्दैछ । मेरो बुवाले न्याय पाउनुपर्छ ।’

यता, बिरामीलाई भेट्न दुवईको रसिद अस्पताल पुगेका मुस्लिम सोसाइटी युएईका उपाध्यक्ष नौमान सिद्विकीले ठकुराइको अवस्था नाजुक भएको बताए । उनले ठकुराइको उपचारमा खटिएका चिकित्सकहरुसँग बिरामीको अवस्थाबारे जानकारी लिएका थिए । सिद्विकीका अनुसार ठकुराइको कलेजो र मिर्गाैलाले काम गर्न छाडेको र मस्तिष्कमा समेत असर परेको बताए ।

अस्पतालमा ठकुराइको उपचार राम्रो भई रहेको तर कम्पनीले उपचारमा कुनै पनि रेस्पोन्स नगरेको उनले बताए । बिरामी ठकुराइको भिषा समेत सकिएकोले उपचारमा जटिल समस्या आउन सक्ने सिद्विकीको भनाइ छ ।

न्युन आर्थिक अवस्था रहेको ठकुराइ परिवारको मुख्य आम्दानीको स्रोत वैदेशिक रोजगारीमा रहेका आफ्ना बावु नै थिए । उनीहरुले आफ्नो बुवाको कमाइले नै दैनिक जीवनयापन गर्दै आएका थिए । तर कमाउने मान्छे नै अस्पतालको शैय्यामा पुगेपछि उनको परिवार अहिले विचल्लीमा परेको छ ।

ठकुराइको कमाइबाट बाचेका उनीहरुको परिवारमा श्रीमती,३ छोरी, १ छोरा र बुढी आमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप