शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तराईका डेढ दर्जन सञ्चार माध्यमबाट आचारसंहिता उल्लङ्घन

आइतबार, ०१ असोज २०७४, १८ : ५६
आइतबार, ०१ असोज २०७४

काठमाडौँ । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको तेस्रो चरणको प्रचारप्रसार र मौन अवधिमा डेढ दर्जन सञ्चार माध्यमका सामग्री निर्वाचन आचारसंहिता प्रतिकूल भएको पाइएको जनाएको छ । 

काउन्सिलले निर्वाचन आयोगको सहकार्यमा यही असोज ३ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा गत भदौ १९ गतेदेखि नियमितरुपमा अनुगमन गरेको थियो । काउन्सिलका सूचना अधिकारी दीपक खनालका अनुसार यसबीचमा दुई छापा माध्यम, नौ रेडियो, एक टेलिभिजन, तीन अनलाइन गरी १५ सञ्चार माध्यमले आचारसंहिता उल्लङ्घन गरेका थिए । 

आचारसंहिता उल्लङ्घन गर्ने ती माध्यमलाई काउन्सिलले ध्यानाकर्षण गराएको छ । ती माध्यममा तोकिएको समय र आकारभन्दा बढी विज्ञापन प्रकाशन गरेको, सःशुल्क विज्ञापन उल्लेख हुनुपर्नेमा सो नभएको र प्रत्यक्ष प्रसारण गरेका उदाहरण पाइएका छन् । आयोगले विद्युतीय सञ्चार माध्यममा बढीमा ४५ सेकेण्ड र छापा माध्यममा ७÷७ इञ्च विज्ञापन प्रसारण र प्रकाशन गर्न पाइने आधार तोकेको छ । 

काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले मौन अवधिमा बाराको ‘रेडियो बादल’, पर्साको ‘जनसृष्टि’ दैनिक र सिरहाको ‘रेडियो समग्र’ले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री दिएकामा आफूहरुले तत्काल रोक लगाएको बताए । उनले समग्रमा यसअघिका चरणका निर्वाचनभन्दा तुलनात्मकरुपमा कम आचारसंहिता उल्लङ्घन देखिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप