बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कथावस्तुले हो उपन्यास वा लेखनको तौरतरिका तोक्ने : सलमान रुस्दी

सोमबार, ०२ असोज २०७४, ११ : ३२
सोमबार, ०२ असोज २०७४

सलमान रुस्दीको १३औँ उपन्यास ‘द गोल्डेन हाउस’ यथार्थवादी धारमा फर्केको छ । यसै सन्दर्भमा हाल न्युयोर्क विश्वविद्यालय निवासमा बस्दै आएका प्रसिद्ध लेखक सलमान रुस्दीसँग स्क्रल डट इनले इमेल मार्फत अन्तरवार्ता लिएको थियो । उक्त अन्तरवार्ता नेपाली पाठकहरूका लागि सान्दर्भिक हुने ठानेर हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
 
यो उपन्यासका लागि कथा कसरी बुन्नुभयो ?
लेखन पृष्ठभूमिमा उपन्यासका चरित्रहरू एक एक गरेर आए । मसँग निरो चरित्र सुरुवातदेखि नै थियो, यद्यपि मैले त्यो चरित्रबारे लेखनको प्रगति हुँदा बढी जान्दै गएँ । त्यसपछि आए तीन छोराहरू, महिलाको चरित्र । मुख्य चरित्रका रूपमा कथावाचक चरित्र रेनेलाई पाएँ । प्रारम्भमा त मैले रेनेलाई एक सहायक चरित्रका रूपमा मात्रै कल्पना गरेको थिए, अर्थात किताबलाई चियाउने आँखीझ्यालका रूपमा मात्रै सोचेको थिएँ । तर जब ऊ गोल्डेन परिवार नजिक हुनपुग्यो तब एउटा यस्तो समय आयो जसले ऊ त्यो धर्सो पार गर्न पुग्छ ।

त्यस परिवारलाई नियाल्ने मात्रै होइन, परिवारको अङ्ग बनेको पनि देखेँ । उसमा परिवारका सदस्यहरू जस्तै कमिकमजोरी र नैतिक रूपमा सम्झौता गर्ने गुणहरू देखिए । एक तरिकाले बुझ्दा यो पुस्तक नै उसका बारेमा थियो । मैले यस उपन्यासलाई बिल्डङ्स रोमन (उपन्यास जसको मुख्य विषय युवा पात्रको नैतिक, मनोवैज्ञानिक र बौद्धिक विकास हुनेगर्छ) को रूपमा हेरेँ । अर्थात ज्ञान प्राप्तिको निमित्त लेखिएको उपन्यास । एउटा युवक (रेने) जटिल परिवारमा संलग्न हुनपुग्छ र उसको यो संलग्नताबाट कसरी मानव बन्ने वा नबन्ने भन्ने सिक्दछ ।

सन् २००५ मा ‘सालिमार द क्लन’ लेखिसकेपछि यहाँले द पेरिस रिभ्युमा अन्तर्वार्ता दिँदा साहित्यका लागि मेरा स्रोत सकिए भनेर उल्लेख गर्नुभएको थियो । उसो त यहाँका उपन्यासहरू विषयवस्तुको गहनता र व्यापकतामा उत्कृष्ट हुन्छन् र पछिल्लो उपन्यास पनि अपवाद होइन । एक पुस्तक लेखिसकेपछि तपाईं आफूलाई कसरी पुनः जागृत गर्नुहुन्छ र नयाँ थालनी गर्नुहुन्छ ? सन् २०१५ मा ‘टु इयर्स एट मन्थ्स एन्ड ट्वेन्टी एट नाइट्स’ उपन्यास प्रकाशित गर्नुभयो र दुई वर्ष नबित्दै ‘द गोल्डेन’ हाउस उपन्यास प्रकाशित गर्नुभयो । के तपाईं भन्न सक्नुहुन्छ २०१५ को ‘टु इयर्स एट मन्थ्स एन्ड ट्वेन्टी एट नाइट्स’ उपन्यास लेखिसकेपछि अहिलेको उपन्यास ‘गोल्डन हाउस’ प्रकाशित गर्दा यहाँले आफूलाई कसरी रूपान्तरित गर्नुभयो ?
हरेक उपन्यास लेखिसक्दा म जहिल्यै आफूलाई थकित महसुस गर्छु । नयाँ कुरा सृजना गर्दा त्यस सृजनाले आफूभित्र रहेको सबै कुराको माग गर्छ र सृजना गरिसकेपछि आफू रित्तिएको महसुस हुन्छ । यस पटक भने अचम्मै भयो । मेरो पछिल्लो उपन्यास लेखिसक्दा नै ‘द गोल्डेन हाउस’को अवधारणा आयो । (पछिल्लो पटक यस्तो चाहिँ मिडनाइट्स चिल्ड्रेन लेखेको करिब हप्ता दिनमा सेम उपन्यास लेख्दा भएको थियो) तत्पश्चात अधिक गति र आवश्यकता महसुस गरेर मैले उपन्यास लेख्न थालेँ । लेखनी रोमाञ्चक थियो तर अलिक भयप्रद पनि ।

पटकथा लेखनमा यहाँको रुचि जगजाहेर र स्पष्ट छ । ‘मिडनाइट्स चिल्ड्रेन’को फिल्म रूपान्तरणको पटकथा पनि यहाँले नै लेख्नुभाथ्यो  । अहिले ‘द गोल्डेन हाउस’ले फिल्मी सङ्केत दिएको छ, पटकथा र उपन्यासको समिश्रण रहेको छ । तपाईंलाई आफ्नो आख्यानको कथावस्तुलाई फिल्मी तरिकाले प्रस्तुत गर्न केले प्रेरित गर्छ ?
उपन्यास लेखनपछि चलचित्र मेरो जीवन भरिको रुचि हो र चलचित्रलाई उपन्यासमा कुनै न कुनै रूपमा राख्न पाउँदा म निकै खुसी छु । उपन्यास सुरु गर्दा मैले रेने (उपन्यासको चरित्र) लाई बिना कुनै दिलचस्पी लेखकको रूपमा कल्पना गरेको थिए । रेनेलाई लेखक बनाउनु उचित हँुदैन भन्ने बुझ्न मलाई धेरै समय भने लागेन । उसलाई लेखकबाहेक जे बनाउँदा नि सुहाउँथ्यो तर लेखक कदापि सुहाउँदैनथ्यो । लेखापाल नै बनाउँदा पनि बिग्रिन्नथ्यो र अचानक मलाई ऊ चलचित्रकर्मी हो भन्ने महसुस भयो । यसले मलाई प्रक्रियागत रूपमा प्रचुर सम्भावना र भाष्यको बाटो खोलिदियो । यो उपन्यास लेख्दा मभित्र रहेको फिल्मी जुनुनले धेरै नै मज्जा पायो ।

तपाईं हाम्रो समयको यथार्थवादी लेखक हुनुहुन्छ तर यस उपन्यासमा तपाईं जादुई यथार्थवादीबाट यथार्थवादीमा परिणत हुनुभयो त ?
कथावस्तुले हो उपन्यास वा लेखनको तौरतरिका तोक्ने । यस उपन्यासको मामिलामा जादुई यथार्थवाद कथावस्तुको विचलनका रूपमा देखिन आउँछ । यस उपन्यासमा मैले जादुई यथार्थता खोजेकै होइन । उदाहरणका लागि कुनै व्यक्ति कहिले पियानोका लागि लेख्छ, कहिले बाजाका तारका लागि, कहिले हर्नका लागि (भोंपु बाजा) । यस अवस्थामा यही कुरा मेरो मस्तिष्कमा खेलाइरहेको थियो । म एकसाथै यो उपन्यासलाई सामजिक रूपमा मनोरञ्जनात्मक र मनोवैज्ञानिक रूपमा गहन बनाउन चाहन्थे । (यहाँले यसअघि सालिमार द क्लनका बारेमा कुरा गर्नुभो, यो उपन्यास पनि ठ्याक्कै यही सोच राखेर लेखिएको हो, उडानको प्रसङ्गलाई हटाउने हो भने ।)
 
यहाँको उपन्यासमा बगैँचालाई मनमोहक स्थान दिनुभएको छ र बगैँचाले एउटा महत्वपूर्ण भूमिका निभाएको छ । तपार्इंले मैले बगँैचामा धेरै समय बिताएँ पनि भन्नुभएको छ रे । के तपाईं भन्न सक्नुहुन्छ तपाईंलाई बगैँचामा केले डोर्यायो र त्यहाँ तपाईंले कथाको पृष्ठभूमि किन बनाउनु भयो ?
बगैँचा मेरा लागि एउटा नाट्यशाला हो । त्यहाँको स्टेजमा मेरा पात्रहरू प्रस्तुति दिन्छन् । संसारभित्र एउटा परिवृत्त संसार जसलाई अन्तरङ्ग जीवनले घेरेको छ तर उमेर र समयको भयङ्कर कोलाहालबाट भने छुट्टिएको छ । मैले निर्देशक हिचकको सिनेमा रियर विन्डोका बारेमा नसोचेको होइन । जहाँ जीवनहरू अरू जीवनहरूबाट नियालिएका थिए, सबैले सबैलाई हेरेका छन् ।

तपाईंका उपन्यासले कहीँ न कहीँ राजनीतिलाई छोएकै हुन्छ, विशेषतः यो उपन्यास अहिलेको अमेरिकामा अत्यावश्यकीय र सान्दर्भिक लाग्दछ । तपार्इंले यो उपन्यास ४५औँ राष्ट्रपति चुनिनुभन्दा पहिल्यै नै लेखेको हुनुपर्छ वा तपाईंलाई को राष्ट्रपति हुन्छ भन्ने अड्कल गर्नुभन्दा पहिला लेखेको हुनुपर्छ । राजनीतिक वातावरणले तपाईंको कथानकलाई कसरी असर गरेको छ ? के तपाईंले जान्दा जान्दै आफ्नो लेखनको भाष्य परिवर्तन भएको पाउनुभएको छ ? ज्यादाजसो मान्छेका मनमा छाएको निराशा र तपाईंको उपन्यासका पात्रहरूको निराशाको तादाम्यता उपन्यासका पानाहरूमा भेट्न सकिन्छ, म यो तालमेलबारे निकै उत्सुक छु र विचरणीय कुरो अहिलेको सन्दर्भ र वातावरण नबुझी यो पुस्तक पढ्न गाह्रो छ ।    

अहिलेको समय र परिस्थितिविरुद्ध लेख्न निकै खतरनाक छ तर रोमाञ्चक पनि छ । मैले यस्तो लेखन फ्युरी लेख्दा पनि गरेकै हो, इन्दिरा गान्धी सरकारको सङ्कटकालका बेला मिडनाइट्स चिल्ड्रन पनि लेखेकै हो । मात्र यत्ति हो कि चलिरहेको समयलाई तपाईले ग्रहण गर्नैपर्छ र त्यो समय परिस्थितिलाई मुखरित हुन दिनैपर्छ ।

यो किताबको अधिकांश हिस्सा नभम्बर ८ भन्दा अगाडि लेखिएको हो र केही परिवर्तन भइहाले मैले मेरो उपन्यासलाई त्यही परिवर्तनसँग ढाल्नेबारेमा विचार गरिसकेको थिए (र मैले मेरो उपन्यासलाई परिस्थितिसँग ढालेँ पनि) । जसरी मिड्नाइट्स चिल्ड्रेनले त्यस समयको झल्को दिन्छ, त्यसैगरी द गोल्डेन हाउसले अहिलेको विभत्स समयको झल्को दिन्छ ।

यो उपन्यासको वाचक एवं मुख्य पात्र रेनेले एक दुईपटक ‘द ग्रेट ग्यात्सबी’ उल्लेख गर्छन् र यो पुस्तक पढ्दा त्यो पुस्तकलाई मज्जैले सम्झिन सकिन्छ । सन् १९२० को अमेरिका (द ग्रेट ग्यात्सबी) र सन् २०१० को अमेरिका (द गोल्डेन हाउस) कहिले रोचक युगलका रूपमा हेर्नसक्छन् । के तपाईं यी दुई पुस्तकमा समानता छन् भनेर भन्न सक्नुहुन्छ वा पात्रहरूको जीवनमा समानता भेट्नुहुन्छ ?
आफ्नो जीवनको पुनर्खोज, मान्छेका गहिरा समस्या र जरुरत पैसाले पूर्ति गर्न नसक्नु । देशको इतिहास कुनै एक पललाई आफ्नो बनाउन खोज्नु । सम्भवतः यस्तै प्रकृतिका कुरा मिल्न सक्छन् । तर निरो ग्यात्सबी होइन, बगँैचाहरू अन्डा होइनन् र रेने निक होइन । यद्यपिक कहिलेकाहीँ आफूलाई निक ठान्दछ ।

लैङ्गिक पहिचानको विषयवस्तु र यस विषयवस्तुका रूपान्तरणका कुरा यो पुस्तकमा प्रधान छन् । अनेक अरू मुद्दा छोडेर यो मुद्दा अचानक बाहिर आएको छ । यो समयमा तपाईंलाई यो कथा भन्न केले प्रेरित गर्यो ?
म मेरो वरिपरि के भइरहेको छ, त्यसबारेमा ध्यान दिइरहेको थिए । जसै डी गोल्डेन पात्र आयो म बढीभन्दा बढी गहिरो गरी व्यस्त भए । किताबको यो खण्डमा सम्भवतः सबैभन्दा बढी सूक्ष्मताले हेर्नुपर्यो । चिन्तनमा घोत्लिन पर्यो  र काम गर्नुपर्यो । म सही काम गर्न चाहन्थेँ ।

आफ्ना धेरै निजी क्षणमध्ये एक क्षण रेने गोल्डेन परिवारमा फिल्म बनाउनका लागि गहिरो अनुसन्धान गर्छ, यहाँसम्म कि परिवारका सदस्यका रोमन नामहरूको विस्तृत विवरणमाथि खोज गर्छ । तपाईंका पुस्तकहरू पढेर र तपाईंका लेक्चर सुनेर म तपाईंलाई बहुमुखी क्षेत्रका विद्वानको रूपमा पाउँछु । तपाईंमा धेरै गहनता र ज्ञानको विविधता छ जसरी उपन्यासको किरदार रेने भन्दछ, ज्ञान सुन्दर छ । मलाई सदैव एउटा चासो भइरहन्छ के तपाईं उपन्यास लेख्दा आफूमा भएको सबै ज्ञान रित्याउनुहुन्छ वा धेरै अनुसन्धान र विमर्श गर्नुहुन्छ ? के तपाईं द गोल्डेन हाउसका केही विषयवस्तुका उदाहरण दिनसक्नुहुन्छ जहाँ तपाईं अनभिज्ञ हुनुहुन्थ्यो र त्यस विषयवस्तुमा तपाईंले खोज गर्नुभएको थियो ?
भन्नुपर्दा मलाई रोमन र युनानीहरूमाथि थोरबहुत ज्ञान छ र त्यसले मलाई धेरै सहयोग पनि गर्यो । तैपनि मैले लेखेका कुरा दोहर्याई तेहर्याई हेर्नैपर्यो र मैले स्युटिनस, अपुलेसका बारेमा पुनः अध्ययन गर्नैपर्यो र अत्रियुसको श्रापितको घर बारेमा राम्रैसँग बुझ्नैपर्यो । एकपटक म रोमका निरोको ध्वस्त र खण्डहर दरबार डोमुस औरिया अर्थात सुनौलो घरमा पुगे र आफूलाई ठूलो परिक्रमा भइरहने वृत्ताकार भोजन गृह अगाडि पाएँ र ‘रेनेसा’ युरोपियन पुनर्जागरणका कलाकार माइकलएन्जेलो लगायतलाई त्यस गृहका भित्ताहरूले कला सिकाइरहेको पाए । यति नै हो मेरो दिमागमा खेलाइरहेको कुरा । मैले लैङ्गिकता जस्तो गह्रुँगो विषयसम्बन्धी राम्रै अध्ययन गरे र मैले नयाँ विषयवस्तुदेखि नयाँ सोच विकास गर्न सिकेँ ।

के यस उपन्यासमा तपाईंका जीवनमा आउने किरादार, पाटाहरू र अनुभवहरू बारेमा तपार्इं जानकार हुनहुन्छ ?
एक चरित्र छ, जसप्रति म अनुरक्त छु, र त्यो चरित्र उपन्यासमा त्यति सकारात्मक चरित्र होइन । ती हुन् रसियन महिला भस्लिसा, जो सुरुमा निरोलाई जालमा पार्छिन्, त्यसपछि रेनेलाई । रोचक कुरा के छ भने मेरो यो किताबका पहिला पाठकहरू पनि ती महिलाप्रति आशक्त छन् ।

कथामा रहेको कलाकार पात्र एक ठाउँमा भाषामा थपघट गर्नु भाषालाई सिध्याउनु हो भन्छन्, अर्थात ती कलाकार पात्र राजनीतिक रूपमा सही हुनखोज्ने प्रवृत्तिको जमेर आलोचना  गर्छन् । तपाईं पहिलेदेखि नै वाक स्वतन्त्रताको वकालत गर्दैआउनुभएको छ र वाक स्वतन्त्रतामा कुनै किसिमको छाँटकाँट वा परिमार्जन स्वीकार्नुहुन्न । के यो भन्न सही होला कि तपाईंका अन्य पुस्तकभन्दा यस पुस्तकले तपार्इंको राजनीतिक र धार्मिक दृष्टिकोण निर्विवाद रूपमा बुझ्न सकिन्छ ?
किताब बोल्ने भनेको किताबका किरदार वा पात्रहरूले बोल्ने हो । यसलाई निर्विवाद भन्नु त्यति युक्तिसङ्गत नहोला । म प्रोपोगान्डा साहित्यमा विश्वास गर्दिनँ । म आफ्नो कृतिमा एउटा संसार रचना गरिरहेको हुन्छु र मेरा पाठकलाई नै पुस्तकमा लेखिएको विषयवस्तु हेरी आफ्नो विचार आफै तय गर्न छोडिदिएको छु ।
गोल्डेन परिवारको कथा बम्बेमा सुरु हुन्छ र न्युयोर्कमा अन्त्य हुन्छ । अर्थात त्यो सहर जहाँ तपाईं पहिले बस्नुभएको थियो र त्यो सहर जहाँ अहिले बस्दैहुनुहुन्छ ।

तपार्इं न्युयोर्कबारेमा बोल्दै गर्दा निकै स्नेह साथ प्रस्तुत हुनुहुन्छ र त्यो स्वाभाविक पनि हो । किनभने तपाईं न्युयोर्कसँग गहिरो गरी जोडिनुभएको छ । बम्बेका बारेमा लेख्दा कस्तो महसुस गर्नुहुन्छ ?   
मलाई थाह छ बम्बेप्रति मेरो गहिरो सामीप्यता छ र मलाई यो पनि थाह छ मुम्बई भने त्यो ठाउँ पक्कै होइन । म अझै पनि उत्कट रूपले इच्छुक छु बम्बेबारे र अझैँ पनि बम्बेप्रति अगाध सामीप्यता छ । तीन सहरले हो मलाई बनाएको र म जहाँ गए पनि यी तीन सहरलाई साथ लग्छु र जे लेखे पनि यी तीन सहरलाई छुटाउँदिनँ ।

जब म तपाईंका अन्तरवार्ता पढ्छु वा तपाईंमाथि लेखिएको लेख पढ्छु वा तपाईंका पुस्तकको समीक्षा पढ्छु, त्यहाँ कुनै न कुनै रूपमा लेखिएकै हुन्छ ‘यस विषयका लागि सर्वश्रेष्ठ कहिलिएका छन्’ । के यसले तपाईंलाई चिढ्याउँछ ? कि बानी परिसक्यो ? अथवा हाम्रो समयमा यो प्रसाङ्गिक नै हो ?
म ‘यस’बारे कुरै गर्दिनँ । मैले ‘यस’लाई छोडिसकेँ । यद्यपि संसार ‘यस’बारे सोच्दछ । मैले ‘यस’का बारेमा ६ सयभन्दा बढी पाना भएको पुस्तक लेखेको छु । यदि मानिसहरू इच्छुक नै छन् भने त्यो हो जोसेफ एन्तोन ।

किताब बाबु र छोराको बारेमा हो । तपाईंका छोरा तपाईंको उपन्यास बारे के बुझाइ राख्छन् ? म हारुन एन्ड लुका बारेमा कुरा गर्दैछन्, जसबारे तपाईंले पहिला यो पुस्तक छोराहरूका लागि लेखिएको हो भन्नुभएको थियो । के तपाईंका छोराले तपाईका अन्य पुस्तक पढे त ?
उनीहरूले यो उपन्यास (द गोल्डेन हाउस) पढेका छैनन् तर पढ्छाँै भन्थे । हारुन एन्ड लुकाबाहेक सामान्यतया मेरा छोरा मेरा उपन्यासका उत्सुक पाठक होइनन् । सन्तानहरू आफ्ना आमा बुवालाई आमा बुवा नै देख्दछन् र तिनलाई आमाबुवा के कम गर्छन् भन्ने मामिलामा चाहिँ त्यति वास्ता हुन्न ।

अनुवाद : दिनेश पन्त
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप