शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको चुनौतीपछि उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न बाबुरामको माग,  सहयोग गर्ने प्रतिबद्धता

सोमबार, २६ असोज २०७७, ११ : २७
सोमबार, २६ असोज २०७७

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन नेपाली काँग्रेसले चुनौती दिएपछि डा. बाबुराम भट्टराईले उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन्। पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै भट्टराईले छानविनको माग गरेका हुन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईले ट्वीटरमा बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारको छानविनमा लागि आफू सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।

लेखेका छन्, ‘मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु ।’

भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको बताएका थिए। त्यसको प्रमाण दिनसमेत आफू तयार रहेको भट्टराईको दाबी थियो ।

मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका भट्टराईले लगाएको आरोपलाई लिएर सामाजिक सञ्चालमा ओली, प्रचण्ड र देउवामाथि प्रश्न उठेको थियो ।


त्यसपछि प्रमुख प्रतिपक्षी काँग्रेसले सरकारलाई समेत पाँच प्रश्न गरेको छ । ‘राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्ले संयोजकत्वमा बिशेष समितिले प्रतिवेदन कहाँ थन्क्याइएको छ ? विदेशी कम्पनीलाई बिना प्रतिस्पर्धा सुम्पने तयारीमा के नियत लुकेको छ ? डिजेल र पेट्रोल खरिदमा उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँका दरले बुढिगण्डकीका लागि उठाइदै आएको अर्बौँको रकमको स्थिति के छ ? मुआब्जा वितरणमा किन नियतवश अनियमितता गरेको ? र, बुढीगण्डकीको भविष्य के हुन्छ ?’ भन्ने काँग्रेसको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप