शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टानको विरोधः विदेशीसँग गाउँपालिकाले छुट्टै कर उठाउँदा समस्या

सोमबार, ०२ असोज २०७४, २१ : १३
सोमबार, ०२ असोज २०७४

काठमाडौँ – प्रदेश नं १ अन्तर्गत सोलुखम्बूस्थित खम्बू पासाङल्हामु गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र प्रवेश गरेबापत प्रतिविदेशी पर्यटक रु दुई हजार असुल गर्ने निर्णयको पर्यटन व्यवसायीले विरोध जनाएका छन् । 

गाउँपालिकाको गैरन्यायिक निर्णयले समग्र पर्यटन व्यवसायलाई धरापमा पार्ने भन्दै उक्त निर्णयका विरुद्ध सम्पूर्ण व्यवसायी एकताबद्ध ढङ्गले लाग्नुपर्नेमा जोड दिए । 

नेपाल पर्यटन व्यवसायी सङ्घ (निट नेपाल)ले आज पर्यटन बोर्डमा सरोकार भएका निकायसँग गरेको छलफलमा ट्रेकिङ एजेन्सिज एशोशिएशन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटकबाट शुल्क उठाउने गाउँपालिकाको निर्णय गलत भएको र केन्द्र सरकारलाई समेत चुनौती दिने यस निर्णयले पर्यटन क्षेत्रलाई तहसनहस पार्ने खतरा औँल्याए । 

निट नेपालका अध्यक्ष दीपक महतले पर्यटन बोर्ड ऐनअन्तर्गत टिम्स लागू भएको र यसलाई खम्बू गाउँपालिकाले फिर्ता गरी पर्यटक शुल्क उठाउँछु भन्ने चुनौतीलाई केन्द्र सरकारले बेलैमा नै ध्यान दिएर नसच्याउने हो भने पर्यटन क्षेत्र धराशायी बन्ने बताए ।

पर्यटन व्यवसायी सागर पाण्डेले पर्यटन क्षेत्रमा एकपछि अर्को प्रहार भइरहेको र त्यसको पछिल्लो उदाहरण खुम्बू गाउँपालिकाको शुल्क उठाउने निर्णय हो भन्दै पर्यटन क्षेत्रका सबै समस्याको किनारा लगाउन सम्पूर्ण व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले खुम्बू गाउँपालिकाले सरोकार भएका निकायसँग कुनै समन्वय नगरी एक्कासि पर्यटकलाई शुल्क असुल गर्ने निर्णय आपत्तिजनक हो भन्दै यसले पर्यटन क्षेत्रमा अराजकता निम्त्याउने उल्लेख गरे ।

खुम्बू गाउँपालिकाभित्र प्रवेश गर्ने प्रत्येक विदेशी नागरिकलाई प्रत्येक पटक प्रवेश गरेबापत रु दुई हजार शुल्क लिने भनी गत असार २५ मा बसेको गाउँपालिका बैठकले निर्णय गरेको हुँदा आगामी असोज १५ देखि उक्त शुल्क असुल गरिने व्यहोराको सूचना प्रकाशित भएको थियो । 

स्थानीय तहको आर्थिक ऐन, २०७४ को दफा १३ तथा अनुसूचि ११ मा उल्लेख भएबमोजिम असुलउपर हुने र सोही मितिदेखि पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) शुल्क असुल गर्न रोक लगाइएको सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप