मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङ बजारको सुख/दुःख : परोपकारी कामदेखि गणतन्त्र ल्याउनेसम्मको योगदान

मङ्गलबार, ०३ असोज २०७४, ११ : २१
मङ्गलबार, ०३ असोज २०७४

‘नो टेन्सन’ ।

काठमाडौंमा अत्याधुनिक सानाठूला मल, सपिङ कम्प्लेस, मार्केट र मिनिमार्केट खुले पनि हङकङ बजारका व्यापारीलाई कत्ति पनि चिन्ता छैन । उनीहरूको व्यापार तल÷माथि भएको होइन । 

संवत् २०४९ पुस २ बाट काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित हङकङ बजारको लक्षित ग्राहक आफ्नै छ । बजारमा सर्वसाधारणदेखि निम्नमध्यमवर्गका ग्राहकलाई लक्षित गरेर लत्ताकपडादेखि जुत्ताचप्पलमात्रै होइन, विद्युतीय सामग्रीसम्म राखिएका छन् ।   

काठमाडौं निम्नव्यापारी संघ अध्यक्ष लक्ष्मी वलीका अनुसार ३३ रोपनीमा फैलिएको हङकङ बजारमा झन्डै १ हजार २ सय स्टल रहे पनि पसलका हिसाबले झन्डै ७ सय छन् । सात क्षेत्रमा विभाजित बजारका संगठित व्यापारी देख्दा/सुन्दा जोकोही लोभिन्छन् ।

सेक्टर ७, स्टल नम्बर १०१ सञ्चालक देवनारायण दाहालले स्थापनाकालदेखि हङकङ बजारमा व्यापार गर्दै आएका छन् । उर्लाबारी मोरङनिवासी ५० वर्षीय दाहालले व्यापारबाट चार परिवारको घरखर्च धानेकोबाहेक दुई छोराछोरालाई राम्रै स्कुलमा पढाउन सकेकोमा गर्व गरे । उनले बौद्धमा घरसमेत बनाएका छन् । श्रीमतीले इजरायलमा कमाएको पैसाले घर बनाए पनि मुख्य आधार व्यापार नै भएको उनले स्वीकारे । 

व्यापार भनेको अपार हो भन्ने नेपाली उखान प्रचलित छ । यदि त्यसो नभइदिएको भए फार्मेसिस्ट सृष्टि खड्काले छँदाखाँदाको जागिर छाडेर हङकङ बजारमा व्यापार गर्न रहर गर्दिनथिन् । सेक्टर–२, स्टल नम्बर ११० रामेछापकी खड्काले पाँच वर्षदेखि व्यापार गर्दै आएकी छन् । भनिन्, ‘पसलमा मानिस चाहिएपछि जागिर छाडेर यता लागें ।’ उनको पसलमा महिलाका लागि आवश्यक भारतीय कपडा पाइन्छ ।

अक्सिजनले अप्ठ्यारो
देख्नेले २५ वर्षदेखि यहीं ठाउँमा व्यापार गर्दा राम्रै देखे पनि बजारभित्रका समस्या खनिखोस्री साध्य छैन । सुन्दर वस्तुभित्र करूपता पनि लुकेको हुन्छ भनेझैं बजारभित्र अनेकन समस्या छन् । ‘पर्याप्त अक्सिजन नहुँदा ग्राहकमात्रै होइन व्यापारीसमेत बेहोश भएपछि अस्पताल दौडाउनुपर्छ,’ हङकङ बजार सेक्टर ७, पसल नम्बर १०१ सञ्चालक दाहालले भने, ‘चिसोले त्यत्तिकै अप्ठ्यारो पारेको छ ।’

सेक्टर ५ र ६ नम्बरमा अक्सिजन कमी हुने भएकाले त्यहाँ पुग्दा जोकोहीलाई अलि गाह्रो हुन्छ ।

टुकुचाको तनाव
१० वर्षदेखि व्यापार गर्दै आएका सेक्टर ७, स्टल नम्बर १०७ का फडिन्द्र कार्कीले दुःखेसो पोखे, ‘टुकुचाको दुर्गन्धले त्यत्तिकै अप्ठ्यारो पारेको छ । फागुनदेखि भदौसम्म व्यापार गर्न अत्यन्तै गाह्रो हुन्छ ।’ 

टुकुचामा बाढी आउँदा सेक्टर ६ का व्यापारीलाई असर पुर्याउँछ । कहिलेकाहीं टुकुचाको बाढी सेक्टर ६ तिर पस्छ । बाढी पसे दुई÷तीन दिन पसल बन्द गर्नुको विकल्प छैन । पसल नै बन्द गर्दा व्यापारीलाई असर नपर्ने कुरै भएन । 

त्यतिमात्रै होइन, फागुनदेखि वैशाखमा चल्ने हावाहुरीले पसलको पाल उडाइदिने गर्छ ।

शौचालय अभाव
३३ रोपनीमा फैलिएको बजारमा तीन शौचालयमात्रै छन् । व्यापारीमात्रै होइन, ग्राहक र बटुवाले समेत त्यही शौचालय प्रयोग गर्दा कहिलेकाहीं निकै अप्ठ्यारो पर्ने बताइन्छ । 

भाडैभाडा 
हङकङ बजारमा पसल थापेकाले प्रतिस्क्वायर फिटको १२ रुपैयाँका दरले भाडा बुझाउनुपर्छ । धेरैतिर भाडा बुझाउने उनीहरूले समाज कल्याण परिषद्, कपडा राख्ने गोदाम, कपडा बोक्ने भरिया, सरसफाइको भाडा तिर्नुपर्छ ।

दाहालका अनुसार भरियालाई एक भारीको मासिक ५ सय दिनुपर्छ । भरियाले बिहान पसलसम्म कपडा लैजाने, बेलुका गोदामसम्म पुर्याउने गर्छन् । पसल खुलेदेखि बन्द नभएसम्म बत्ती बाल्नुपर्ने बाध्यता छ । बत्ती बालेअनुसार पैसा तिर्नु छँदै छ । त्यतिमात्रै होइन, सरसफाइका लागि प्रतिपसलले मासिक १ सय बुझाउनुपर्छ । गोदाममा एक भारी कपडा राखेको मासिक शुल्क ५ सय तोकिएको छ ।

संघ सञ्चालनका लागि प्रत्येक स्टलले ५० रुपैयाँ बुझाउनुपर्छ ।

महिला बढी
हङकङ बजारमा महिला व्यापारी धेरै छन् । श्रीमान् वैदेशिक रोजगारीमा लागेपछि श्रीमतीलाई यही बजारमा अलमलाएका छन् । एकातिर व्यापार भयो अर्कोतिर बालबच्चा हुर्काउने, बढाउने र पढाउने काम पनि भयो ।  

कारबाही कडा
निम्नव्यापारी संघ अध्यक्ष वलीका अनुसार यहाँका व्यापारीलाई असल, कुशल व्यवसायीमा रूपान्तरण गर्दै लगेको सुनाए । उनले ग्राहकसँगको अन्तरसम्बन्ध विस्तार गर्दै लगेको दाबी गरे । त्यसका लागि संघले आचारसंहिता बनाएको छ ।

संघले ग्राहकलाई दुव्र्यवहार गर्ने, मनपरी मूल्य तोक्ने, बार्गेनिङ गर्ने र अनावश्यक विवाद गर्ने व्यापारीलाई कारबाही गर्दै आएको छ । ग्राहकलाई दुव्र्यवहार गरेको प्रकृति हेरेर सम्बन्धित व्यापारीको एकदेखि सात दिनसम्म पसल बन्द गरिने प्रावधान छ । कारबाहीमा परेका व्यापारी थुपै्र छन् ।

परोपकारी काम
व्यापार/व्यवसाय गरेर घरपरिवार चलाउनु त छँदै छ । त्यसबाहेक परोपकारी काममा समेत एकजुट हुने उनीहरूले संस्कार विकास गरेका छन् । गोरखा भूकम्पपछि पुतलीसडक, बागबजार, डिल्लीबजारका स्थानीयले हङकङ बजारमा आश्रय लिएका थिए ।

यहाँका व्यापारी–व्यापारीबीच आर्थिक संकलन गरेर बाढीपीडितका लागि सहयोग गरेका उनीहरूले बजारका भरिया र व्यापारी बिरामी पर्दा उपचारका लागि आर्थिक सहयोग जुटाउँछन् । 

संघकी भूपू उपाध्यक्ष लक्ष्मीदेवी विष्टलाई स्तन क्यान्सर भएपछि उनीहरूले एकै दिन तीन लाख रुपैयाँ संकलन गरेका थिए । यसैगरी, साइकलयात्री पुष्कर शाह विश्वभ्रमणमा निस्कँदासमेत हङकङ बजारका व्यापारीले आर्थिक संकलन गरेर सहयोग जुटाइदिएका थिए ।

गणतन्त्र ल्याउन योगदान
बजारमा रहेका व्यापारी विभिन्न दलसम्बद्ध हुनु अस्वाभाविक होइन । काँग्रेस, एमाले र माओवादी केन्द्रसम्बद्ध व्यापारीको आ÷आफ्नै संगठन छन् । तर, व्यावसायिक हितका लागि काठमाडौं निम्नव्यापारी संघ छ ।

दोस्रो अर्थात् ०६२/६३ को आन्दोलनमा बजार बन्द गरेर आन्दोलित उनीहरूले गणतन्त्र ल्याउन सघाएको दाबी गर्छन् । आन्दोलनक्रममा उनीहरूले जेलनेसम्म भोगेको थिए । 

दसैंमा चौबीसै घन्टा खुला
गत भदौ २७ गतेदेखि हङकङ बजार चौबीसै घन्टा खुला छ । बजार अष्टमीसम्म चौबीसै घन्टा खुला रहनेछ । सम्बन्धित स्टलका व्यापारी अष्टमीसम्म त्यहीं सुत्छन् । अन्य समयभन्दा दसैंमा व्यापार धेरै हुने उनीहरूको भनाइ छ ।

हङकङ बजारमा माधव नेपालदेखि यम बरालसम्म 
हङकङ बजारमा नेतादेखि गायकसम्म किनमेलका लागि पुगेको प्रत्यक्षदर्शी बताउँछन् । एमाले वरिष्ठ नेता माधव नेपाल, अधिवक्ता टीकाराम भट्टराई र गायक यम बराल आफ्नै पसलअघिको पसलबाबाट किनमेल गरेको आफ्नै आँखाले देखेको व्यापारी दाहालले सुनाए । 

अक्षम सरकार
२५ वर्षअघि जस्तो थियो, अहिले पनि हङकङ बजारको संरचना त्यस्तै छ । व्यापारीले सरकारलाई कर तिर्छन् । महानगरपालिकालाई व्यावसायिक कर तिर्ने उनीहरूले परिषद्लाई भाडासमेत तिर्दै आएका छन् । सालिन्दा करोड हाराहारी कर तिरे पनि उनीहरूले माग गरेको अस्थायी टहरासम्म बनाइदिन सरकार सकारात्मक देखिएन ।

‘अस्थायी टहरासम्म भइदिएको भए घामपानीबाट ओतिन सजिलो हुन्थ्यो,’ व्यापारी खड्का भन्छिन्, ‘बर्खामा धेरै गर्मी । जाडोमा चिसो न चिसो सहेर व्यवसाय चलाउनुपरेको छ ।’

भृकुटीमण्डको खेर गएको जग्गामा पसल थापेर करोड कर लिने सरकारले ती व्यापारीको वास्ता गरेका छैनन् । सिंहदरबारको पश्चिमी आँगनमा रहेको बजारमा समस्यामाथि समस्या छन् ।

समस्यामाथि समस्या सहेर ग्राहकको माया पाएकैले २५ वर्षदेखि बजार चल्दै आएकोमा काठमाडौं निम्नव्यापारी संघ अध्यक्ष ओली खुसी छन् । झापानिवासी ओलीको जुत्तापसल २५ वर्षदेखि चलेकै छ । व्यापारमा कमी छैन ।

हङकङबजारको पृष्ठभूमि
संवत् ०४२/४३ तिर हङकङ बजार खुलामञ्चमा थियो । फुटपाथमा व्यापार गर्दै आएकालाई बाटामा नबस भनेर खुलामञ्चमा सारिएको हो । सुन्दर सहर परिकल्पना गरेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चबाट व्यापारी हटाउने निर्णय गर्यो । व्यापारीले विकल्प मागे । महानगरपालिका र व्यापारीबीच रस्साकस्सी चल्यो । अन्ततः उनीहरूलाई भृकुटीमण्डपमा सारियो । खुलामञ्चमा सार्वजनिक सभा/सम्मेलन भइरहने भएकाले पनि बजार राख्न उपयुक्त थिएन ।

खुलामञ्चमा रहँदा हङकङ बजारले चिनिने त्यही बजार भृकुटीमण्डपमा सार्दा त्यही नामले चिनियो । नाम कसरी हङकङ बजार रह्यो ? संघ अध्यक्ष ओलीले प्रस्ट्याए, ‘हङकङमा खुला बजार हुँदारहेछन् । खुलामञ्चमा खुला बजार राखिएपछि हङकङको जस्तै खुलाबजार भएकाले हङकङ बजार भनिएको हो ।’

खुलामञ्चमा रहँदा भृकुटीमण्डमा जस्तो प्लास्टिककै भए पनि छानो हाल्न पाइँदैनथ्यो । भृकुटीमण्डपमा छानो हाल्ने सुविधा छ । काठमाडौंको महाबौद्ध, वटुको ७० प्रतिशत व्यापारी भृकुटीमण्डपका उत्पादन हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप