शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कान्छो महानगरसहित तीन उपमहानगरमा कसले मार्ला बाजी ?

मङ्गलबार, ०३ असोज २०७४, ११ : ५१
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं– स्थानीय तहको  तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको मतदान सकिएसँगै मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । 
मतगणना भएका स्थानीय तहमा सुरुवाती परिणाम मिश्रित रुपमा आएको छ । जसमा कांग्रेस, एमाले,राजपा नेपाल र माओवादी केन्द्रका उम्मेदवारवीच नै प्रतिश्पर्धा हुने देखिएको छ । २ नम्बर प्रदेशका १३६ स्थानीय तहका एकमात्र कान्छो वीरगञ्ज महानगर, जनकपरसहित कलैया र जितपुरसिमरा उपमहानगरको नतिजा कसको पक्षमा आउने हो ? भन्ने सर्वत्र चासो बढिरहेको छ । 
खासगरी प्रमुख राजनीतिक दलहरुले निर्वाचन भएका एक महानगर र तीन उपमहानगरलाई आफ्नो प्रतिष्ठासँग जोडेपछि यहाँको परिणाम हेर्न देशभरका जनता आतुर छन् । 
वीरगञ्जमा त्रिपक्षीय भिडन्त
२ नम्बर प्रदेशको एकमात्र वीरगञ्ज महानगरमा मेयर पदका लागि ३५ जना प्रतिश्पर्धामा छन् । काङ्ग्रेसबाट अजय द्विवेदी, एमालेबाट बसरुदिन अन्सारी, माओवादी केन्द्रबाट रहवर अन्सारी, राजपा नेपालका राजेशमान सिंह, फोरम नेपालका विजय सरावगी, नेपाल लोकतान्त्रिक फोरम नेपालका विमल श्रीवास्तव, राप्रपाका अर्जुनबहादुर सिंह नयाँ शक्ति नेपालबाट मुनाकुमार साह कानु, नेपाली जनता दलबाट मनोजकुमार रौनियार, मालेबाट लक्ष्मीराज न्यौपाने रहेका छन् भने २५ जनाले स्वतन्त्र उम्मेदवार रहेका छन् ।
 कांग्रेसका अजय द्धीवेदी, एमालेका बसरुद्विन अन्सारी, माओवादीका ३१ वर्षीय रहबर अन्सारी र राजपाबाट राजेशमान सिंह स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट सामाजसेवीका रुपमा परिचित उद्योगी विजय सरावगी पनि वीरगञ्जमा राम्रै छवि बनाएकाले उनी समेत प्रतिश्पर्धामा आउने भएपनि यो महानगरमा कांग्रेस, एमाले र राजपाका उम्मेदवारबीच नै कडा टक्कर हुने अनुमान गरिएको छ ।  ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा एक लाख पाँच आठ हजार पाँच सय १ मतदातामध्ये झण्डै ७६ प्रतिशत मत खसेको थियो । 

जनकपुरमा काँग्रेस राजपाको प्रतिस्पर्धा
प्रदेश २ को सम्भावित राजधानीका रुपमा चिनिएको जनकपुर उपमहानगरको निर्वाचन काँग्रेस, एमाले र माओवादीका साथै राजपाले समेत प्रतिश्ठाको विषय बनेको छ । पूर्व राष्ट्रपति रामवरण यादव, नेपाली काँग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधि, नेताहरु लीला कोइराला, आनन्द ढुंगाना, रामकृष्ण यादवको प्रभाव रहेको जनकपुर उपमहानगरको निर्वाचनमा कसले बाजी मार्ने हो भन्ने उत्सुकता बढेको छ । यद्यपी जनकपुर उपमहानगरको नतिजा कांग्रेसकै पोल्टामा जाने जानकारहरु बताउँछन् । कांग्रेसको किल्ला मानिने जनकपुरमा एमाले कांग्रेस किल्ला तोड्ने दाउमा छ भने राजपा पनि यो स्थानमा आफुलाई मजबुत भएको बताउदै आएको छ । जनकपुरमा नेपाली काँग्रेसका मनोज साहका कडा प्रतिश्पर्धीका रुपमा राजपाका लालकिशोर साह आउने बताइन्छ । जनकपुरमा मेयरका लागि १९ जनाले उम्मेदवारी दिए पनि काँग्रेस र राजपावीच नै प्रतिश्पर्धा हुने धेरैको अनुमान छ । 

कलैयामा चारपक्षको भीडन्त 
बाराका २ वटा उपमहानगरपालिकामध्ये कलैया उपमहानगपालिकामा मेयर र उपमेयरमा जित्न दलहरुले जातिय समिकिरण मिलाएर उम्मेदवारी दिएका छन् । २७ वटा वडा रहेका कलैया उपमहानगरपालिकामा लगभग ५६ हजार मतदाताले मतदान गरेका छन् । यो उपमहानगरपालिका यादव र मुस्लिम समुदायको बाहुल्य भएकाले त्यहि आधारमा मेयरमा टिकट वितरण गरिएको थियो । 
कांग्रेसबाट केन्द्रीय सदस्य तथा सांसद राधेचन्द्र यादवका छोरा राजेश यादवतथा एमालेबाट पूर्वउपमेयर तथा बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साह, फोरम नेपालका प्रमोद गुप्ता र राजपा नेपालका जयप्रकास साहवीच प्रतिश्पर्धा हुने अनुमान गरिएको छ । २०५४ सालको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट कलैया नगरपालिकाकाको  एमालेबाट उपमेयरमा साह निर्वाचित भएका थिए । 
त्यस्तै माओवादी केन्द्रले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउने अन्दोलनमा खटेका मुकेश साहलाई मेयरको टिकट दिएकाले उनीसमेत कडा प्रतिश्पर्धामा रहेको मतदाताहरु बताउछन् । त्यस्तै फोरम नेपालबाट मेयरका उम्मेदवार बनेका प्रमोद गुप्ता पनि कमशल उम्मेदवार मानिदैनन । 
चुनाव जित्ने रणनीतिअनुसार गुप्तालाई मैदानमा उतारेकाले दलहरुलाई उनको प्रतिश्पर्धा कम चुनौतिपुर्ण नरहेको बताइएको छ । गुप्ता पहिलो संविधानसभा चुनावमा क्षेत्र नंम्बर ३ बाट निर्वाचित भएका व्यक्ति हुन् । उता, राष्ट्रिय जनता पार्टी नेपालबाट जयप्रकाश साह पनि प्रतिश्पर्धी नै मानिन्छन् । 

जितपुर सिमरामा पनि त्रिपक्षीय  
बाराका जुम्ल्याहा उपमहानगरपालिकामध्ये जितपुर सिमरामा पनि त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यो उपमहानगरपालिकामा मधेसवादी दल प्रतिस्पर्धामा आउन सक्ने अवस्था नरहेको प्रारम्भिक आँकलन गरिएको छ । यो उपमहानगर राजमार्ग आसपास रहेकाले आधाजसो पहाडी समुदायका मतदाता छन् । 

जसमा नेकपा एमाले,नेपाली कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । एमाले र माओवादीले पहाडे समुदायबाट मेयरका उम्मेदवार बनाएका छन् भने कांग्रेसले मधेसी समुदायबाट मेयर बनाएको छ । 
साबिकका जीतपुर, सिमरा, अमलेखगञ्ज, डुमरवाना, मनहर्वा, फत्तेपुर, छातापिपरा, इनरुर्वा सिरहा, हरैयाको रामनगर, हरपुर र रामपुर टोकनीको केही भाग मिलाएर यो उपमहानगर बनेको छ । एक लाख १५ हजार जनसंख्या र ५६ हजार ६ सय ६० मतदाता रहेको यस उपमहानगरलाई २४ वडा वडा विभाजन गरिएको छ ।
जितपुर सिमरा उपमहानगरपालिकाको पहिलो मेयर बन्नका लागि कांग्रेसका कृष्ण बरत सिंह, एमालेका डा.कृष्ण पौडेल र माओवादी केन्द्रका राजन पौडेल प्रतिस्पर्धामा छन् । त्यस्तै उपमेयरमा कांग्रेसबाट नारायणी रायमाझी, एमालेबाट सरस्वती चौधरी र माओवादीबाट गायत्रीदेवी थरुनी उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप