शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसपालिको दसैँ : न नयाँ पैसा, न नयाँ लुगा !

सोमबार, ०३ कात्तिक २०७७, १२ : ५९
सोमबार, ०३ कात्तिक २०७७

बागबजारकी मुना कँडेल हरेक वर्ष दसैँ लागेसँगै सपिङ के के गर्ने भनेर लिस्ट बनाउँन हतारिन्थिन् । कस्तो लुगा किन्ने, कहाँ जाँदा के पहिरन लगाउँने सोही अनुसारको किनमेल उनले हरेक दसैँमा गर्थिन् । तर, यसपटक दसैँको तेस्रो दिन भइसक्यो उनलाई दसैँ लागेको अनुभव नै भएको छैन रे । कोरोना महामारीका कारण टिका लगाउन कतै नजाने भएपछि नयाँ लुगा पनि किन चाहियो र ? त्यसैले उनी नयाँ लुगा नकिन्ने पक्षमा छिन् ।

उसो त जडिबुटीकी संगीता सुवेदीलाई पनि यसपटक दसैँ लागेको जस्तो अनुभव नै भएको छैन । उनका दुइ छोराछोरी छन् । बालबच्चा साना भएकाले नयाँ लुगाको आश गर्छन् तर उनले आफ्ना छोराछोरीको पनि चित बुझाइ सकेकी छन्, बाहिर सपिङ गए कोरोना सर्छ त्यसकारण नयाँ लुगा नकिन्ने भनेर ।

कोरोना माहामारीले चैत यता देशको अर्थतन्त्र र जनजीवन नराम्ररी प्रभावित छ । कतिपयको रोजगारी खोसेको कोरोनाले चाँडबाँड समेत खल्लो बनाएको छ । वर्ष दिनभरी कामको थकानबाट आफना आफ्न्तसँग भेट्ने बहाना समेत छैन यसपटक । विशेष गरी विभिन्न काम र अध्ययनको शिलशिलामा शहरतिर बसेका छोराछोरीसमेत घर फर्कने सोचमा नभएपछि वर्षभरी एक्लै बनेका बुढा बाबा आमाले पनि यसपटकको दसैँमा मिठो मसिनो आफ्ना छोराछोरीसँग बसेर खान नपाउँने भएका छन् ।

कानमा पहेलो जमारा, निधारभरी अक्षता, शरीरमा नयाँ बस्त्र र दक्षिणा स्वरुप नयाँ नोट दसैँको बर्षैादेखि चलिआएको परम्परा नै हो । हुनेखाने र हुँदा खाने सबैले आफ्नो हैसियत अनुसारको दसैँका लागि जोहो गरेकै हुन्थे ।

छैन नयाँ नोट

हरेक बर्षको दसैँमा नयाँ नोट साट्नेको भीड् नेपाल राष्ट्र बैङ्कको विभिन्न कार्यालय बाहिर हुन्थ्यो । विभिन्न बैङ्क तथा वित्तिय संस्थाले पनि आफ्ना ग्राहकलाई नयाँ नोट साटिदिएकै हुन्थे । तर यसपटक ति स्थानहरु सुनसान छ । नेपाल राष्ट्र बैङ्कले नयाँ नोट नसाट्ने जनाइसकेको छ । बढ्दो कोरोना महामारीका कारण भिडभाडमा कोरोना सर्नसक्ने तर्फ सचेत हुँदै राष्ट्र बैङ्कले सार्वजनिक सुचना नै जारी गरेर नयाँ नोट नसाट्ने जनाइसकेको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणकर भट्टले बैङ्क तथा वित्तिय संस्थाले आफ्ना ग्राहकलाई नयाँ नोट साट्नसक्नेछन् भनेपनि यता बाणिज्य बैङ्कहरुमा नयाँ नोट नै आइनपुगेकोले नयाँ नोट नसाटिने भएको छ ।

बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल राष्ट्र बैङ्कले नयाँ नोट बैङ्कहरुलाई नपठाएको बताउँछन् । यसपटकको दसैँलाई डिजिटल कारोबारमा आधारित दसैँ बनाउने उनको भनाइ छ ।

गर्भनर महाप्रसाद अधिकारी आएपछिको पहिलो दसैँ हो । आम सर्वसाधारणले टिका पश्चात महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट पाउने छैनन् । यस वर्ष गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ र १० रुपैयाँका ४० करोड नयाँ नोट दसैँपछि मात्र बजारमा आउनेछ ।

जडिबुटीकी शुभद्रा मैनालीलाई दसैँमा नयाँ नोट नदेखेपछि खल्लो लागेको बताउँछिन् । उनी भन्छिन्, ‘नयाँ नोट साटेर घरमा ल्याएपछि बल्ल दसैँ आएजस्तो लाग्थ्यो तर यसपटक नयाँ नोट ल्याउन नपाउँदा दसैँ आएको जस्तो लागेकै छैन ।’ यी त प्रतिनीधि पात्र मात्र हुन्  । आम नागरिक जो दसैँलाई बिशेष रुपले मनाउँथे सबैलाई यसपटकको दसैँ दसैँ जस्तो लाग्न सकिरहेको छैन ।

कारोबार कम हुँदा नयाँ नोटको माग पनि कम हुन्छ 

सामान्यतः दसैंमा बजारमा चहलपहल बढ्छ । कारोबार पनि यो बेला बढी हुने गर्छ । तर कोरोनाको कारण बजारमा चहलपहल निकै कम छ । नेपाल चेम्बर अफ कर्मशमा उपाध्यक्ष कमलेश अग्रवाल बर्षभरि हुने व्यापारको ४० प्रतिशत ब्यापार त दसैँमा नै हुने गरेको बताउँछने । यद्यपि अहिले व्यापार हुन नसक्दा व्यवसायीलाई चिन्ता थपिएको उनको भनाइ छ । अर्थशास्त्रीहरु दसैँ, तिहार तथा छठ जस्ता चाडमा मात्रै झण्डै ४ खर्ब रुपैयाँ उपभोगमा खर्च हुने गरेको बताउँदै आएका छन् । यसपटक एक चौथाइ पनि खर्च हुन नसक्ने अवस्था रहेको तीनै अर्थविदहरु औल्याउँछन् ।

नेपालमाअन्य बेलामा भन्दा दसैँमा नगदमा कारोबार हुने भएकाले नोटको माग बढी हुने गरेको छ । सोही माग धान्नकै लागि पनि राष्ट्र बैङ्कले दसैँमा हरेका वर्ष नयाँ नोट बजारमा पठाउने गरेको छ ।  दसैँको अर्थतन्त्र चलायमान हुने भएकाले पनि राष्ट्र बैङ्कले हरेक दसैँको अवसर पारेर नयाँ नोट छाप्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप