बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले रोकेन पुष्प व्यवसायीलाई : फूलमा आत्मर्निभरमात्र होइन, निर्यातको योजना बन्दै

बुधबार, २६ कात्तिक २०७७, १५ : १०
बुधबार, २६ कात्तिक २०७७

बुटवल । कोरोना महामारीले विश्वभर व्यापार–व्यवसायमा असर परेको छ । कोरोनाका कारण स्वदेशमै पनि अधिकांश व्यवसाय संकटमा परिरहेको समयमा  पुष्प व्यवसायीहरुलाई भने खासै फरक परेको छैन ।
हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान् पर्व तिहार आउन केही दिनमात्र बाँकी रहेको अवस्थामा लुम्बिनी प्रदेशका पुष्प व्यवसायीहरु उत्साहित भएका छन् । तिहारमा सयपत्री, मखमली लगायतका फूलको बढी खपत हुने गर्छ ।

केही वर्ष अघिसम्म तिहारमा मालाका लागि आवश्यक फूल भारतबाट उल्लेख्य मात्रामा आउने गर्दथ्यो । फूलका लागि भारतमा निर्भर हुनुपर्ने अवस्था थियो । तर अहिले फूलमा परनिर्भरता घटेर गएको छ । नेपालमै व्यावसायिक फूल खेती सुरु भएसँगै भारतसँगको निर्भरता घटेको हो । फूल व्यवसायले राम्रो बजार पाउन सफल भएको व्यवसायीहरु नै स्वीकार्छन् । 

रुपन्देही जिल्लामा पछिल्लो समय पुष्प व्यवसायतर्फ महिलाहरुको आकर्षण बढेको छ भने सामूहिक रुपमा पुष्प व्यवसाय गर्नेहरु पनि प्रशस्त छन् । कतिपयले जग्गा भाडा लिएर पनि पुष्प ब्यवसाय गरेको लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटाले बताए ।

हाल एक सयभन्दा धेरै समूह बनाएर पुष्प व्यवसाय गरेको तथ्यांक छ । लकडाउनका बीचमा यो व्यवसायलाई असर गरे पनि अहिले खासगरी तिहारमा उत्पादन भएको फूलले आफूहरुलाई सफलता मिलेको व्यवसायीहरुको भनाइ छ । 

प्रदेश तथा स्थानीय सरकारको सहयोग
दुई वर्ष अगाडिदेखि नै तिलोत्तमा नगरपालिकाले विदेशी खादा निरुत्साहित गर्दै फूलको माला प्रयोग गर्ने रणनीति ल्यायो । यो नीतिसँगै फूलको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान, कृषि उपकरण सहयोग गर्न थालेपछि स्थानीय किसान उत्साहित बनेका हुन् । 

तिलोत्तमा नगरपालिकामा ४ वटा समूहले पुष्प खेती गरेका छन् । तिलोत्तमामा जस्तै बुटवल, पाल्पाको तिनाउ गाउँपालिका, बाँकेको कोहलपुर, नेपालगञ्ज आदि ठाउँमा समूह बनाएर पुष्प व्यवसाय भइरहेको लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष रमेश पाण्डेयले बताए । 

उनका अनुसार प्रदेश सरकारले ‘व्यावसायिक पुष्प खेती गरौं, आत्मनिर्भर बनौं, आयात होइन निर्यात गरौं,’ भन्ने नाराका साथ पुष्प खेतीका तालिम, उपकरण सहयोग दिएपछि किसानहरु उत्साहित बनेका छन् ।
प्रदेश सरकारले पुष्प खेती गर्नेहरुमा लागि अनुदानसमेत दिने गरेको छ । उनले लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्न लागेको बताए । प्रदेशका १२ वटै जिल्लामा पुष्प खेती गर्न सकिने भएकोले फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने दावीसमेत उनले गरे ।

विदेश निर्यात गर्ने लक्ष्य
विगतका वर्षमा तिहारको पूर्वसन्ध्यामा कृत्रिम फूलका मालाहरु भैरहवा भन्सार हुँदै प्रदेशमा भित्रिने गर्दथ्यो । तर बर्सेनि त्यस्तो माला भित्रिने दर भने घट्दो थियो । अहिले कोरोनाका कारण पनि विदेशबाट कृत्रिम मालाहरु नआएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

अर्कोतिर, तिहारमा खासगरी सयपत्री, गोदावरी, मखमली फूल प्रयोग गर्ने प्रचलन छ । पाण्डेय भन्छन्, ‘जतिसूकै सम्पन्न किन नहोस्, तिहारमा प्राकृतिक फूलको माला नै प्रयोग गर्न चाहन्छन्, त्यसैले पनि यो व्यवसाय फस्टाउँदो क्रममा रहेको हो ।’

त्यसो त, प्राकृतिक फूल र माला पनि आयात नहुने होइन । तर स्वदेशी उत्पादन पर्याप्त हुने हो भने त्यस्ता फूल तथा माला आयात गरिरहन नपर्ने व्यवसायीहरुको भनाइ छ । प्रदेशमा फूलको उत्पादन बढ्दै गएमा बिस्तारै विदेश निर्यात गर्ने योजना रहेको पाण्डेयले बताए ।

लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय निकायसँग छलफल गरेर यहाँको फूल विदेश पठाउने योजना रहेको उनले जानकारी दिए । प्रदेश सरकारले पनि प्रदेशमा ४ ठाउँमा फूल संकलन केन्द्र र बिक्री केन्द्र स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएकाले आफूहरुले छिटै विदेशमा निर्यात गर्न सफलता पाउनेमा आशावादी रहेको पाण्डेय बताउँछन् ।

लुम्बिनी प्रदेशका कृषि मन्त्रालयका प्रवक्ता श्रीधर ज्ञवाली प्रदेशमा फूलको सम्भावना राम्रो भएकाले प्रदेश सरकारले पनि किसानलाई तालिम, बिउ, विभिन्न उपकरण आदि सहयोग गर्दै फूल उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्ने नीति ल्याएको बताउँछन् । 

दीर्घकालीन नीतिको खाँचो
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ मा तिलोत्तमा देउराली पुष्प समूह गठन गरेर गत वर्षदेखि व्यावसायिक फूल उत्पादन थालिएको छ । समूहकी सदस्य सीता पाठकले पहिलो सिजनमा निकै सफलता पाएपछि आफूहरु हौसिएको बताइन् । ‘त्यसलगतै कोरोनाले निम्त्याएको लकडाउनले भने नोक्सान पु¥यायो,’ उनले भनिन्, ‘त्यो बेला बेमौसमी फूल उत्पादन भएको थियो तर बजार नै नभएपछि समस्या भयो ।’

बेमौसमी फूल खेती गर्दा विवाह, पूजा, ठूलाठूला कार्यक्रम आदिमा स्थानीय फूल खपत हुन सक्ने उनले बताइन् । आफूहरु अझै निरास नभएको उल्लेख गर्दै उनले भनिन्, ‘सम्भावना राम्रो छ, आत्तिनुपर्ने अवस्था छैन ।’
गुणस्तर फूल उत्पादन भएमा बजारको समस्या नरहेको उनले बताइन् । सम्बन्धित निकायबाट माटो परीक्षण, अनुगमन लगायतमा ध्यान दिने हो भने प्रदेशलाई फूलमा आत्मनिर्भर गराउन सकिन्छ कि भनेर व्यावसायिक फूल खेतीमा लागेका समूह वा व्यक्तिलाई प्रोत्साहन हुने उनको भनाइ छ । राज्यका तर्फबाट दीर्घकालीन नीतिका साथ किसानलाई सहयोग गरेमा फूलमा आत्मनिर्भरमात्र नभई निर्यात गर्ने क्षमता राख्न सकिने उनले बताइन् ।

प्रदेश सरकार सहयोग गर्न तत्पर : मन्त्री पौडेल
लुम्बिनी प्रदेशका कृषि मन्त्री आरती पौडेल प्रदेशलाई फूल उत्पादन पकेट क्षेत्रका रुपमा चिनाउन पुष्प व्यवसायी र किसानलाई लक्षित कार्यक्रम प्रदेश सरकारले ल्याइरहेको बताउँछिन् । उनले प्रदेश सरकारले करारमा खेती गर्न चाहनेहरुका लागि भाडा तिरिदिने, फूल खेतीका लागि बाह्रै महिना तालिम संचालन गर्न सक्ने, कृषिकर्मी रोजगार कार्यक्रममार्फत पनि पुष्प व्यवसाय गरेर फाइदा लिन सकिने बताइन् ।

प्रदेश सरकारकै सहयोगमा हरेक गाउँपालिकामा शीत भन्डार निर्माण भइरहेकाले पूष्प व्यवसायीले त्यसबाट पनि लाभ लिन सक्ने उनको भनाइ छ । पुष्प व्यवसायलाई प्रोत्साहन गर्न अन्य आवश्यक सहयोगका लागिसमेत प्रदेश सरकार तयार रहेको उनले बताइन् ।

छरिएर रहेका पुष्य ब्यवसायी एकजुट हुँदै
फूलको चाडका रुपमा चिनिने तिहार नजिकिएसँगै यस क्षेत्रका पुष्प ब्यवसायीहरु संगठित भएका छन् । हरेक वर्ष स्वदेशी किसानले फूलको मूल्य नपाएको र उपभोक्ताले गुणस्तरीय फूल नपाएको र बढी मूल्य तिर्नुपरेको गुनासो समाधान गर्ने उद्देश्यले संस्था गठन गरिएको नवगठित संस्थाका अध्यक्ष किरणकुमार श्रेष्ठले बताए । 

अव्यवस्थित बजारलाई ब्यवस्थापन गर्ने, मूल्यमा एकरुपता ल्याउने, प्रदेश र स्वदेशी किसानहरुलाई प्रोत्साहन गर्ने, व्यवसायलाई व्यवस्थित गर्दै लैजाने उनले बताए । तिहारलाई लक्षित गरी तिहारमा प्रयोग हुने मिठाईसहित तीनदिने पुष्प मेला आयोजनाको तयारी भइरहेको उनले बताए ।

उनका अनुसार मेला कार्तिक २८, २९ र ३० गते बुटवलको कान्ति माविमा आयोजना गर्ने तयारी छ । फूल फुलाउने, बजारीकरण लगायत किसानलाई योजनाबद्घ तरिकाबाट लगिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप