शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लिगलिग जाने होइन राजा बन्न ?

बिहीबार, ०५ असोज २०७४, १४ : ५५
बिहीबार, ०५ असोज २०७४

मोहन दाहाल

लिगलिगकोटको राज्य सञ्चालन गर्नका लागि प्रत्येक वर्ष विजया दशमीका दिन दौड प्रतियोगिता गरी प्रमुख व्यक्ति छान्ने कार्यक्रम हो लिगलिग दौड । यो घलेहरूको ऐतिहासिक प्रतियोगिता हो । विश्वमा राज्य सञ्चालनका लागि लोकतान्त्रिक अभ्यासको थालनी सबैभन्दा पहिले लिगलिगबाट नै भएको हो भनी दाबी गर्ने घलेहरूको यो दौड यही असोज ९ गते लिगलिगकोटमा हुन गइरहेको छ । गोरखा जिल्ला आँपपीपल गाविस वडा नं. ४ को आँपपीपल खोल्लीमा पर्ने यो स्थल समुद्रसतहबाट ४ हजार ७ सय ९० फिट उचाइमा रहेको छ । यो प्रतियोगिता चेपे र मस्र्याङ्दी नदीको दोभान चेपेघाटबाट सुरु भई लिगलिगकोट दरबारसम्म (१३.८ किमि) दौडने व्यवस्था गरिएको लिगलिगकोट विकास अभियानले जनाएको छ ।

लिगलिग दौड असोज ९ गते बिहान ७ बजे चेपेघाटबाट सुरु हुने कार्यक्रम छ । यो प्रतियोगितामा १६ वर्षभन्दा माथिका जुनसुकै देशका नागरिकले पनि भाग लिन पाउने व्यवस्था आयोजकले गरेको छ । सोभन्दा मुनिका प्रतियोगीका हकमा भने  अभिभावकको सिफरिस आवश्यक पर्ने छ । यस प्रतियोगितामा भाग लिन चाहनेले यही असोेज ५ गते भित्रमा आयोजकले उपलब्ध गराएको फाराम भर्नुपर्ने छ । फाराम दस्तुर स्थानीयवासी र महिलाका लागि रु. ५०० र पुरुषका लागि १००० तथा विदेशी नागरिकका लागि ५००० लाग्ने आयोजकको भनाइ छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार ५ सय ५ रुपियाँ, पगरी, श्रीपेंच, मेडल र प्रमाणपत्र दिई राजकीय सम्मान सरह सम्मान गर्ने,  दोस्रो हुनेलाई २५ हजार २ सय ५ र मेडल तथा प्रमाणपत्र, तृतीय हुनेलाई १५ हजार १ सय ५, र चौथोे, पाँचौं, छैठौं र सातौंलाई क्रमशः १०,००५, ५,००५, ३,००५, २,००५ र मेडल तथा प्रमाणपत्र दिइने व्यवस्था आयोजकले गरेको छ । 

लिगलिग दौडकोे सुरुवात कसरी भयो भनी खोजी गर्दा पाल्पाका राजा मुकुन्द सेनसम्म पुग्नु पर्ने हुन्छ । उनले तत्कालीन गोरखा राज्य पनि विजय गरी शासन सञ्चालन गरेका थिए । तर उनले विं.सं. १६०३ को अन्त्यतिर राजगद्दी त्याग गरी आफूले आर्जेको विशाल राज्य आफ्ना छोरा, नाति, भतिजाहरूलाई विभाजन गरी शासन अधिकार सुम्पिए र आफू धर्मकर्मतिर लागे । छेरा नातिहरूले आफूले पाएको राज्यलाई कुसलतापूर्वक शासन सञ्चालन गर्न नसकेपछि प्रत्येक किल्लाका प्रशासकहरू नै राजा हुन थालेका थिए । गोरखामा त्यतिबेला ३९ कोटहरू थिए र तीमध्येको एउटा हो लिगलिगकोट । अन्य कोटहरूमा माझकोट, अजिरकोट, बारपाक, सिरानचोक आदि पनि यस्तै राज्यहरू हुन् । यस लिगलिगकोटमा राजा छान्नका लागि घलेहरूले एउटा नियम बनाए । त्यसमा दौड प्रतियोगिता गराउने र त्यसमा पहिलो हुने व्यक्तिलाई राजा बनाउने नियम नै सबैले स्वीकार गरे । यसमा इच्छुक सबै व्यक्ति दौड प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरे । यसमा जुनसुकै जातजाति, भाषाभाषी, धर्म, वर्ग, लिङ्ग, क्षेत्र भए पनि राज्य सञ्चालन प्रक्रियामा सहभागी हुन पाउने हक अधिकार उनीहरूले स्थापना गरे । अनि करिब दुई कोसजतिको उक्त दौडमा सातसय लिगलिग राज्यअन्तर्गतको पहाडको फेदीदेखि लिगलिगकोटको माथिल्लो दरबारसम्म दौडने दुरी निर्धारण गरेका थिए । यो प्रतियोगिता प्रत्येक वर्ष विजयादशमीका दिन गर्ने निर्णय पनि सबै घलेहरूले गरे । यो प्रतियोगिता वि.सं १६०४ मा प्रथम पटक भएको थियो । त्यस प्रतियोगितामा दलसुर घलेले जितेका थिए । उनले पछिसम्मका लगातार जितेर १६१५ सम्म लिगलिगका राजा भई शासन गरेका थिए भन्ने प्रमाण पाइन्छ । 

लिगलिग दौडमा सहभागी हुने प्रतियोगीमा कुनै बन्देज थिएन । सोही कमजोरीका कारण वि.सं. १६१५ मा लमजुङका युवराज द्रव्य शाहले दलसुर घलेलाई दौडमा हराए । यही समयबाट उनले राजा छान्ने प्रक्रियालाई सदाका निम्ति बन्द गरे र एकीकरण अभियानमा लागे । 

४६७ वर्षपछि लिगलिगबासीहरूले ‘लिगलिग विकास अभियान’ नामक संस्था स्थापना गरी पुर्खाले छोडेको चिनोको सम्झेर २०६७ बाट यो दौडलाई पुनः सुरु गरेका छन् । अहिले उनीहरूले राज्य सुम्पन सक्ने अवस्था त छैन तर राजकीय सम्मान गर्ने परम्परा भने सुरु गरेका छन् । विजय हुनेलाई लागि विभिन्न पुरस्कारहरू नगद, पगरी, प्रमाणपत्र तथा मेडलको व्यवस्था उनीहरूले गरेका छन् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न, आन्तरिक पर्यटनमा वृद्धि गर्न, स्थानीय जनताको आर्थिक स्तर मजुबुत बनाउन र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सुरु गरिएकोे यो प्रतियोगिता प्रत्येक दशैंको घटस्थापनाको अघिल्लो दिन हुँदै आएको छ । 

दौड प्रतियोगिता गराएर शासन सुम्पने घले कस्तो समुदाय हो भनी खोजी गर्दा एउटा वंश अर्थात राजखलकको हैसियत भएको जातिका रूपमा देखिन्छ । यो जाति तत्कालीन समयको शासक वर्ग भएको स्पष्टसँग इतिहासले बताउँछ । यस समुदायको आफ्नै भाषा र संस्कृति छ, अझै पनि लमजुङका घले गाउँ र बारपाकतिर खोजी गर्दै जाने हो भने उनीहरूको भाषा संस्कृति सजिलै पाउन सकिन्छ । यिनीहरू पशुमा भेडाको र पक्षीमा परेवाको मासुबाहेक अरू जनावरको मासु खाँदैन थिए । यसैले आफूलाई ब्राह्मणभन्दा माथिल्लो र चोखो जात ठान्ने गर्दथे । तर यस समुदायमा पनि जातीय विभाजन भेटिन्छ । घलेहरूमा घले, गुरुङघले, तामाङघले, मगरघले र दलितघले (सार्की, कामी र दमाई) आदि जातिगत भिन्नताका उदाहरण हुन् । त्यसो भए तापनि यस जातिले आफ्नो समुदायमा शासन गर्न कुनै विभेद नगरी सबैभन्दा बलियो मानिस छान्न प्रत्येक वर्ष विजया दशमीको दिन दौड प्रतियोगिता गर्दथ्यो । विजयी हुनेलाई उपहार स्वरूप राज्य नै एक वर्षका लागि सुम्पने गथ्र्यो । अर्को शब्दमा भन्दा खेलकुद प्रतियोगिता गरेर सबैभन्दा ठुलो उपहार राज्य नै सुम्पने प्रचलन विश्वको एक मात्र उदाहरण थियो ।

लिगलिगको नामकरण कसरी भयोे भनेर खोजी गर्दा स्थानीय भाषाबाट नै आएको भेटिन्छ । यस दौडलाई तत्कालीन समयका मगरहरूले ‘लिङलिङ्ग्या’ भन्ने गर्दथे । यो शब्द मगर भाषाबाट आएको शब्द हो भनेर धेरै मगरभाषीहरूले दाबी गरेका छन् । मगर भाषामा यसको अर्थ सफा, प्रष्ट, छर्लङ्ग देखिनु भन्ने हुन्छ । पछि गएर खसभाषीहरूको प्रभाव बढ्दै जाँदा यो शब्दमा अपभ्रंश भई लिगलिग भएको भन्ने भनाइ प्रसस्त छन् । अनि लिगलिग शब्दले अर्को अर्थ कछार भन्ने पनि जनाउँछ । कछार भनेको चुरेभन्दा माथि र काँठभन्दा तलको घमाइलो र रमाइलो बस्तीलाई हो । यस्तो स्थानमा बसोबास गर्ने समुदाय घले हो र अहिलेसम्म पनि लिगलिगको वरिपरि घलेहरूको घना बस्तीले पनि त्यसलाई चित्रण गर्दछ । लिगलिग दौड लिगलिग दरबारबाट छर्लङ्ग देखिने ठाउँबाट गरिन्थ्यो भन्ने स्थानीयको भनाइ छ । 

आधुनिक नेपालको इतिहासका महत्वपूर्ण कार्यक्रमहरू लिगलिगकोटबाट सुरु भएको भन्ने कुरामा लिगलिगबासी गर्व गर्छन् । उनीहरूका अनुसार नेपालमा व्यवस्थित रूपमा सैनिक स्थापना, हिन्दुराज्यको स्थापना, एकीकरणको सुरुवात लिगलिगबाटै भएको दाबी गर्छन् । हालको नेपाली सेनाको सुरुवात द्रव्य शाहले लिगलिग कोटबाट गरेका हुन् । उनले छ घर छ थरबाट राज्य व्यवस्था सञ्चालनको थालनी गरेका थिए । द्रव्य शाहले लिगलिगको विजयपछि अहिलेका सन्दर्भमा भन्दा न्याय मन्त्री (प्रधान न्यायधीश) गङ्गाराम राना मगर, मूल काजी (प्रधान मन्त्री) गणेश पाण्डे, राजगुरु नारायणदाश अर्याल, रक्ष मन्त्री (प्रधान सेनापति) भागीरथ पन्त, राज पुरोहित सर्वेस्वर खनाल, भूमिसुधार मन्त्री केशव बोहोराले राज्य सञ्चालनका प्रमुख अङ्ग जिम्मा दिएका थिए । यिनै थरका पुस्ताले पछिसम्म शासन सञ्चालनमा अवसर पाएकाले ‘छ घर छ थर’ भन्ने प्रचलन थियो । यी थरका रानामगर, पाण्डे, अर्याल, पन्त, खनाल, बोहोरालाई द्रव्य शाहाले लिगलिगको राज्य सञ्चालनका लागि उपल्लो तहमा सोझै नियुक्त गर्ने प्रचलन बढ्यो । अरू थर भएका व्यक्तिले पनि राज्यलाई सहयोग गर्छु भनी राजासमक्ष निवेदन दिने प्रचलन बढ्दै गयोे । यस्ता निवेदनको सङ्ख्या छ पुगेपछि छ घर १२ थर हुँदै थर थपिँदै जाने गर्दथ्यो । यो प्रक्रिया पछि पृथ्वीनारायण शाहको पालासम्म आइपुग्दा छ घर ३६ थर भएको थियो । पृथ्वीनारायणले नेपाल एकीकरण अभियानमा सहयोग गर्ने सबैलाई राज्य सञ्चालनमा सहभागी गराउने उद्देश्यले ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो’ भनी घोषणा गरे । चार जात भन्नले ब्राह्मण, क्षत्री, वैश्य, शूद्र हुन् र ३६ वर्ण भन्नाले नेपाली वर्णमालामा रहेका ३६ वटा वर्णबाट उच्चारण हुने सबै थरहरूले नेपालको राज्य सञ्चालनमा सहभागी हुन पाऊन् भन्ने हो । 

अर्कोतर्फ हिन्दु राज्यको स्थापना गर्न गणेश पाण्डेले निकै ठूलो भूमिका खेलेका थिए । स्थानीयवासी पूर्ण रानामगरको भनाइ अनुसार गणेश पाण्डेले भारतकोे कुमाउ गडवाल भन्ने ठाउँमा हिन्दु धर्ममा स्नातक (शास्त्री) सकेर गुरुभेटी दिए अनि अबको लक्ष्य हिन्दु धर्मको रक्षा र प्रचार गर्छु भनी नेपाल प्रवेश गरेका थिए । नेपाल आएर द्रव्य शाहको सहयोगमा हिन्दु राज्य स्थापना गर्न उनी सफल भएका थिए । उनले नेपाल आउँदा बाबुले दिएको कुलदेवता झोलीमा लिएर आएका थिए रे । गोरखाको खोप्लाङ–९ मा बास बस्दा उक्त झोली क्यामुनाको रुखमा झुण्डाएका थिए । राति नै ती कुल देवता झोलाबाट अलप भएपछि सोही स्थानमा आफ्ना कुल देवता छन् भनी गणेश पण्डेका सन्तानहरूले प्रत्येक १२ वर्षमा त्यहाँ पूजा गर्न भेला हुने परम्परा अझै कायम छ ।

अतः लिगलिग आधुनिक नेपाल निर्माणको आधारभूमि हो भन्दा फरक पर्दैन । अहिले नेपालमा हुने विशेष कार्यक्रमहरु त्यहाँ थिए भन्ने विषय माथिका प्रसङ्गहरुबाट थाहा हुन्छ । प्रजातन्त्र अथवा गणतन्त्र जे भने पनि जनताद्वारा जनताको शासन सुव्यवस्था कायम गर्नका लागि कार्यकारी छान्ने मौलिक प्रक्रिया थियो लिगलिग दौड । यसको संरक्षण र संवद्र्धन गरी विश्व समुदाय समक्ष यसको प्रचार गरी पर्यटन प्रवद्र्धन गर्न अति आवश्यक छ । स्थानीय समुदायले थालेको यस अभियानमा सहभागी भई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका साथै मनोरञ्जन लिन तपाईं हामी सहभागी हऔं ।  


२०६७ देखि २०७३ सम्म बनेका लिगलिगकोटका राजाहरू 
२०६७ भूमिराज राई (इलाम)
२०६८ हरिप्रसाद रिमाल (धादिङ)
२०६९ समीर तामाङ (रामेछाप)
२०७० कृष्णबहादुर बस्नेत (रामेछाप)
२०७१ अनिष थापा मगर (पर्वत)
२०७२ हरिप्रसाद रिमाल (धादिङ)
२०७३ अनिष थापा मगर (पर्वत)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप