शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिष्ठाको लडाइँ भयो स्थानीय तहको केन्द्र र नाम निर्धारण

बिहीबार, ०५ असोज २०७४, १६ : ३१
बिहीबार, ०५ असोज २०७४

प्रशन्न पोखरेल 

गोरखा । सुलिकोट गाउँपालिकाको दुई दिनसम्म चलेको गाउँसभाको बैठकले गाउँपालिकाको केन्द्र पुरानै ठाउँ ताकुकोटमा राख्ने र गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय बहुमतले ग¥यो । अल्पमतमा सौरपानीबाट निर्वाचित पाँचजना प्रतिनिधि मात्रै भए । उनीहरुले गाउँसभाको बैठक बहिष्कार गरे । 

सौरपानीवासीले आफ्नो वडा गाउँपालिकाका अरू वडाभन्दा भूगोल, जनसंख्याका हिसाबले ठूलो र गाउँपालिकाको बीच भागमा पर्ने भएकाले केन्द्र माग्दै आएका थिए । स्थानीय तह निर्वाचनका बेला दलले हँुडी खोलामा केन्द्र राख्ने भन्दै भोट मागेका पनि हुन् । निर्वाचनपूर्व सौरपानीवासीले दलका नेतालाई कालो झण्डा देखाउने लगायतका गतिविधि पनि गरेका थिए । 

धार्चे गाउँपालिकाको केन्द्र कहाँ निर्धारण गर्दा सबै वडावासीलाई पायक पर्छ रु अध्ययन गर्न इन्द्रप्रसाद गुरुङको संयोजकत्वमा सुझाव समिति बन्यो । समितिले आवश्यक अध्ययन गरी गुम्दाको माछाखोलामा केन्द्र राख्दा सबैलाई पायक पर्ने प्रतिवेदन दियो । हालै माछाखोलामा पुगेका धार्चेका प्रमुख सन्तोष गुरुङलाई स्थानीय बासिन्दाले माछाखोलामा केन्द्र निर्धारण गर्न सहयोग गरेको भन्दै फूलमाला, खादा लगाएर सम्मान गर्दा साबिक गुम्दा, लाप्राक लगायतका वडावासीले विरोध गर्दै केन्द्र गुम्दा गाउँमै हुनुपर्ने आवाज उठाउँदै आएका छन् । 

एघार स्थानीय तह रहेको गोरखामा यी दुईवटा गाउँपालिकामा मात्रै केन्द्र र नाम परिवर्तन गर्नेबारे चर्चा भएको होइन, अन्यत्र पनि छ । तर स्थानीय तहले औपचारिक रुपमा छलफल शुरु गरेका छैनन् । गोरखा नगरपालिकाको नाम शान्ति प्रक्रियाअघिसम्म पृथ्वीनारायण नगरपालिका थियो । नेपाल एकीकरण गरेका गोरखाका तत्कालीन राजाकै नामबाट पुनः नगरपालिकाको नाम राख्नुपर्ने आवाज उठेको छ । तर नगरपालिकाले औपचारिक रुपमा यसबारे बहस शुरु गरेको छैन । 
पालुङटार नगरपालिकाको नाम लिगलिग वा लिगलिगकोट नगरपालिका राख्नुपर्ने आवास सो क्षेत्रका बासिन्दाले पहिलेदेखि नै उठाउँदै आएका हुन् । पालुङटार नगरपालिका नाम राख्दा ऐतिहासिक लिगलिगकोटप्रति अन्याय हुने उनीहरु बताउँछन् । तर नगरपालिकाले पनि नाम परिवर्तन गर्ने वा यसैलाई निरन्तरता दिने भन्नेबारे औपचारिक बहस शुरु गरेको छैन । 

चुमनुब्री गाउँपालिकाको नाम मनास्लु राख्ने वा यसैलाई निरन्तरता दिने भन्नेबारे बहस छ । आरुघाट गाउँपालिकाको केन्द्र आरुघाट बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा बन्ने जलाशयबाट डुबानभित्र पर्ने भन्दै केन्द्र अन्यत्र सार्नुपर्ने आवाज उठ्दै आएको छ । भीमसेन गाउँपालिकाको नाममा खासै विवाद नभए पनि केन्द्र बगुवाबाट घ्याम्पेसाल सार्नुपर्ने आवाज उठेको छ भने केहीले बगुवा र घ्याम्पेसालबीचको दूरी तीन किलोमिटर मात्रै रहेकाले जहाँ केन्द्र रहे पनि खासै फरक नपर्ने धारणा राख्दै आएका छन् । 

शहीद लखन गाउँपालिकाको नाम र केन्द्रमा खासै विवाद छैन । गण्डकी गाउँपालिकाको केन्द्र भुम्लिचोकमा अपायक र पूर्वाधार नपुगेका क्षेत्रमा रहेको भन्दै अन्यत्र पायक ठाउँमा सार्नुपर्ने आवाज उठे पनि गाउँपालिकाले औपचारिक बहस शुरु गरेको छैन । पुरानो भच्चेक बजारमा विभिन्न कार्यालय, राष्ट्रिय वाणिज्य बैंकको शाखालगायत पूर्वाधार बनिसकेकाले अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक तोकिएको थियो । निर्वाचित जनप्रतिनिधिले भच्चेकबाट केन्द्र अन्यत्र सार्ने वा नसार्नेबारे खासै छलफल भएको छैन । 

सिरानचोक गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने चर्चा चलेको छ । नामबारे खासै विवाद छैन । अहिले छोप्राकमा रहेको केन्द्र छोप्राककै चित्रेपोखरी आसपासका क्षेत्रमा सार्नेबारे बहस शुरु भए पनि गाउँपालिकाले औपचारिक रुपमा छलफल चलाएको छैन । मंसिर १० मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन रहेकाले अहिले नै केन्द्र वा नाम परिवर्तन गरी भोट बिगार्ने पक्षमा गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायत निर्वाचित जनप्रतिनिधि नरहेको बताइएको छ । निर्वाचन सकिएपछि भने गाउँपालिकाको केन्द्र र नाम के राख्ने, कहाँ राख्ने भन्नेबारे बहस शुरु हुने बताइएको छ । 

यद्यपि, केन्द्र र नाम आफ्नो गाउँ र भावनासँग जोडिएको राख्न रैथाने बासिन्दा प्रतिष्ठाको लडाइँ लड्दैछन् । केन्द्र पुरानै ठाउँमा राखिएको र नाम परिवर्तन गरी सुलिकोट गाउँपालिकाको नाम बारपाक सुलिकोट राख्ने निर्णय गरी निर्णय मन्त्रिपरिषद्मा पठाइसकिएको गाउँपालिका प्रमुख विष्णु भट्टले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हुँडीखोलामा १५ श्ययाको अस्पताल, कृषि, पशुलगायत भवन बनाउने, केन्द्र ताकुकोटमै राख्ने र नाम बारपाक सुलिकोट राख्ने बहुमतद्वारा निर्णय भएको हो । सौरपानीका साथीहरुले विरोध गर्नुभएको छ । फरक मत राख्न पाइन्छ ।” 

धार्चे गाउँपालिका–६ का वडाध्यक्ष धनकुमार घले भन्नुहुन्छ, “केरौँजा, काशीगाउँलगायत सबै गाउँलाई गुम्दाको गुम्दा गाउँभन्दा माछाखोलामा पायक पर्छ । सबैलाई पायक पर्ने ठाउँमा केन्द्र राख्नुपर्छ भन्ने हो ।” गाउँपालिकाका उपप्रमुख फूलमाया गुरुङले नाममा खासै विवाद नरहे पनि केन्द्र कहाँ राख्ने भन्नेबारे केही विवाद देखिएको बताउनुभयो । गाउँसभाको बैठक बसेर सबैलाई पायक पर्ने, धेरै कार्यालय राख्न मिल्ने र पूर्वाधारहरु खडा गर्न मिल्ने ठाउँ खोजी गरी केन्द्र निर्धारण गरिने उहाँले बताउनुभयो । निर्वाचन सकिएको छ महिनाभित्र एक पटकका लागि नाम र केन्द्र बहुमतले तोक्न सक्ने नियम रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप