शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक्लो फोरम राजपा नेपालमाथि भारी

बिहीबार, ०५ असोज २०७४, १७ : ११
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ । असोज २ गते स्थानीय तहको चुनावको मतगणना जारी रहेको छ । तराई मधेशका आठ जिल्लामा भएको यो चुनावलाई सबैले नियाली रहेका छन् ।
नेपाली काँग्रेसले पहिलो पार्टी हुने दावी गरेअनुसार अहिलेसम्म सातवटा स्थान जितेर पहिलो स्थानमै अगाडि बढिरहेको छ । जितको संख्याको हिसाबले समाचार तयार पार्दासम्म माओवादी दोस्रो स्थानमा छ भने एमाले तेस्रो स्थानमा छ । त्यस्तै, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिस्पर्धा देखिएको छ ।

छवटा पार्टी मिलेर बनेको राजपा नेपाललाई फोरम नेपालले एक्लै टक्कर दिइरहेको छ । फोरम नेपाल अग्रतामा दोस्रो स्थानमा छ भने तह जितको आधारमा चौथो स्थानमा रहेको छ । अग्रताको आधारमा फोरम नेपाल राजपा नेपालभन्दा धेरै अगाडि छ । 

यी दुवै दलले पनि दुई नम्बर प्रदेशमा एक नम्बर हुने दावी गरेका थिए । विश्लेषकहरुले पनि फोरम नेपाल नभए पनि राजपा नेपाल पहिलो पार्टी हुने पर्ने विश्लेषण गरेका थिए । 

किनभने, स्थानीय तहको चुनावमा छवटा दल एकीकरण गरेर चुनाव लडेका थिए । छवटै दलले विगतमा ल्याएको मत परिणामलाई हिसाब गरेर त्यसको शक्ति मापन गर्दा काँग्रेस, एमाले र माओवादी केन्द्रभन्दा बढी मत ल्याएको थियो । त्यस हिसाबले अहिले राजपा नेपाल सबभन्दा अग्रस्थानमा रहनुपर्ने थियो तर, ठूलालाई त के फोरम नेपाललाई पनि उछिन्न धौधौ परिरहेको छ ।

पहिलो र दोस्रो चरणको चुनावमा समेत भाग लिएको फोरम नेपाल दुई नम्बर प्रदेशमा निकै आलोचित भएको थियो । जुन प्रकारले फोरम नेपालको आलोचना भएको थियो, त्यो हेर्दा पार्टीले मत ल्याउँदैन कि भन्ने सबैलाई लागेको थियो । 

राजपा नेपालले पनि आफ्नो पूर्व सहयात्री फोरम नेपाललाई कमजोर गर्नका लागि खुलेरै आलोचना गर्थे । मधेशको मुद्दा छाडेर फोरम नेपाल चुनावमा भाग लिएको भन्दै राजपा नेपालले एउटा चुनावी नारा नै बनाएको थियो तर परिणाम हेर्दा बिल्कुल फरक देखिएको छ । 

राजपा नेपालभन्दा फोरम नेपाल अगाडि बढीरहेको छ भने राजपा नेपाल पछि पछि आइरहेको छ । 

राजपा नेपालले संविधान संशोधनको माग राख्दै सिंहदरवार र बालुवाटारको चक्कर लगाई रहेको बेला फोरम नेपाल मधेशमा चुनावी अभियान चलाइसकेका थिए । संगठन निर्माणमा लागिसकेका थिए । राजपा नेपालले फोरम नेपालमाथि लगाउँदै गरेको आरोपलाई खण्डन गर्दै सो पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयं मधेश दौडाहामा निस्केका थिए । 

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश दौडाहामा रहेको बेला राजपा नेपालका नेता तथा कार्यकर्ताले उनको कार्यक्रमलाई अवरोध गर्दै आक्रमण समेत गरेको थियो । त्यति मात्र होइन फोरम नेपालको पुतला दहनदेखि लिएर झण्डा जलाउने काम राजपा नेपालबाट भएको थियो । त्यो बेला राजपा नेपालले एमालेकै हराहारीमा फोरम नेपाललाई आफ्नो शत्रु मानेको थियो । 

हुनतः मधेशका राम्रो अवस्था छैन भने आँकलन राजपा नेपालकै नेताहरुको थियो । खासगरि, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झाले चुनावमा जानु हुँदैन भनि विशेष जोड दिएका थिए । उनीहरुले संविधान संशोधन नभएसम्म चुनावमा जानु हुँदैन भन्दै अडान लिएर बसेका थिए । तर, सोही पार्टीका शरतसिह भण्डारी र महेन्द्रराय यादवले चुनावमा जानुपर्ने अडान लिएका थिए । 

आन्दोलनको रुपमा भएपनि चुनावमा जानुपर्ने धारण उनीहरुको थियो । चुनावमा नगएसम्म राजपा नेपालको शक्ति कति हो भनि कसरी माप्न गर्ने भन्ने पनि उनीहरुको तर्क हुन्थ्यो । अन्ततः चुनावमा जाने निर्णय भयो । तर, अनिल झाले चुनावमा जाने निर्णयमा असहमति जनाएर नोटआफ डिसेन्ट नै लेखे ।

चुनावमा जाने निर्णयसँगै टिकट वितरण प्रकृयामा राजपा नेपाल लाग्यो । केन्द्रीय पर्यवेक्षक पठाएर उम्मेदवार छनौट गर्ने काम गर्यो तर केन्द्रमा पर्यवेक्षणले दिएको प्रतिवेदनमा हेरफेर गरि उम्मेदवार चयन गरेपछि असन्तुष्ट नेताहरु धमाधम पार्टी छाडेर हिँडे । पार्टीका महासचिवदेखि लिएर केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरु पनि पार्टी छाडेर गए भने कोही बागी उम्मेदवार बने ।  

त्यसले गर्दा राजपा नेपाललाई धेरै क्षति भयो । जुन अहिलेको चुनावी नतिजाहरुमा देखाइएको छ । यद्यपि अहिले थुप्रै स्थानको अन्तिम परिणाम आउन बाँकी नै छ । 
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी भन्छन्, ‘हामीले चुनावको व्यापक तयारी नै गर्न पाएनौ । त्यसमाथि टिकट वितरणमा असन्तुष्टि बढेको कारण पार्टी केही कमजोर भएको छ । तर, सोचे जति मत नआएपनि सन्तोषजनक मत नै आउँछ ।’

यता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा मधेशको एजेण्डा कसले लिएर हिँडेका छन् त्यसको हिसाब मधेशी जनताले गर्ने बताए । उनले भने, ‘यतिबेला म कसैको आलोचना गर्न चाहँदिन । तर, यति भन्छु कसैले पनि जनतालाई धेरै दिन भ्रममा राख्नुहुँदैन भन्ने पाठ यो स्थानीय तहको चुनावले गराएको छ ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप