शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय व्यवस्था कार्यान्वयन अझै चुनौतीपूर्णः सचिव थपलिया

बिहीबार, ०५ असोज २०७४, १८ : ५३
बिहीबार, ०५ असोज २०७४

काठमाडौं – संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले मुलुक संघियतामा भर्खरै बामे सर्ने क्रममा रहेकोले कार्यान्वयन अझै चुनौतीपूर्ण भएको बताएका छन् । 

उनले  संघिय संरचना सैद्धान्तिक/प्राविधिक केही नीति नियमहरु अझै निर्माण कै क्रममा रहेको खुलासा गरे ।
रुपाकोट मझुवागढी नगरपालिका खोटाङ्गले आज काठमाडौंमा आयोजना गरेको आवधिक नगर विकास योजना तयारी तथा परामर्श सम्बन्धी गोष्ठी कार्यक्रममा बोल्दै सचिव थपलियाले संघिय व्यवस्था अझ जटिल र चुनौतिपूर्ण भएकाले सबैको राय सुझावलाई समेटेर अगाडी बढ्नुपर्ने बताए । 

उनले सबै भन्दा पहिला के कार्य गर्न योजना बनाउन आवश्यक रहेको र त्यसको निर्धारित समय समेत तोक्नु पर्ने कुरा औंल्याए । उनले भने, ‘केन्द्रमा रहेको अधिकार गाउँसम्म पुगेकोछ, यसलाई कसरी सदुपयोग गर्ने र जनमुखी कार्य गर्ने नगर्ने त्यो सबै जिम्मेवारी स्थानिय पदाधिकारीको हो ।’ उनले स्थानिय पदाधिकारीहरुलाई नै जिम्मेवार भएर काम गर्न आग्रह गरे ।

सचिव थपलियाले स्थानिय निकायको विकासको निमित्त त्यहाँकै स्रोत र साधनहरुलाई अधिकतम उपयोग गरी आर्थिक विकासमा लाग्नु पर्ने बताए । मुलुकलाई आर्थिक सम्वृद्धी तर्फ लम्कन कृषि, पर्यटन, सुरक्षित आवास, पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकता पुरा गर्न स्थानिय निकायको विकासको निमित्त पदाधिकारीहरु नै जवाफदेहीता हुनपर्ने कुरामा जोड दिए । उनले भु–उपयोग नीति अत्यावश्यक रहेको बताउँदै सो नीति चाँडो भन्दा चाँडो ल्याउने गृहकार्य भइरहेको खुलासा गरे ।

कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले रुपाकोट मझुवागढी नगरपालिकालाई देशकै पहिलो नमुना नगरपालिका बनाउने योजनाका साथ आफूहरु अगाडी बढेको बताए । उनले नगरपालिकामा प्रविधियुक्त सेवा, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मेयर रिजालले सामाजिक सुरक्षा भत्ता वितरणमा हुने गरेको अनियमिततालाई रोकी यसको एकिन तथ्यांक संकलन गरेर वित्तीय संस्था मार्फत घरदैलोमा पुर्याउने अभियानमा आफू लागेको बताए ।

कार्यक्रममा सांसद बिशाल भट्टराई, पूर्व सभासदहरु उषाकला राई, टंक रार्ई र अर्जुन राई, रुपाकोट मझुवागढी नगरपालिका उप–मेयर विनादेवी राई लगायत जिल्लाका प्रतिष्ठित व्यक्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा विनादेवी राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । नगरको किकासलाई ५ समुह बनाई छलफल समेत गरेका थिए । कार्यक्रम ५ नं। वडाका वडा अध्यक्ष निर्मल राईले संचालन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप