बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘छ महिनाभित्र काम गरेर देखाउन सकेनौँ भने मतदाताले फिर्ता बोलाउन सक्नुहुन्छ’

उपाध्यक्ष पदका उम्मेदवार दिनेश श्रेष्ठसँग अन्तरवार्ता
बुधबार, १० मङ्सिर २०७७, १७ : ५१
बुधबार, १० मङ्सिर २०७७

नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव आउन केही दिन मात्र बाँकी छ । चुनावी माहोल तातिरहेको छ । विभिन्न उम्मेदवारले आफ्नो जित सुनिश्चितको भाषण पनि गरिरहेको छन् । यही मङ्सिर १३ मा हुने चुनावमा जिल्ला नगरबाट उपाध्यक्ष पदका उम्मेदवार दिनेश श्रेष्ठ  किशोर प्रधान प्यानलमा छन् । श्रेष्ठसँग  रातोपाटीका लागि  एलिजा उप्रेतीले  गरेको चुनावी वार्ताः
 
तपाईंको पक्षमा चुनावी नतिजा आउने सम्भावना कतिको छ ? 
 अहिले जसरी जिल्ला नगरबाट सद्भाव र विचार आएका  छन् । त्यसबाट उनीहरुको चाहना किशोर प्रधानको सम्पूर्ण प्यानलप्रति छ भन्ने बुझिन्छ । किनभने २, ३ कार्यकालमा काम गर्न नदिएको उदाहरण तथा अनुभवलाई चिर्नुपर्छ भन्नेमा देशभरिका उद्योगी व्यवसायी एक मत छन् । 

जिल्ला नगरमा तपाईंप्रतिको धारणा कस्तो पाउनुभएको छ ?
जिल्ला नगरका अध्यक्ष साथीहरु नयाँ छन् । उहाँहरु एकदम युवा जोश जाँगरका साथ आआफ्नो जिल्ला सङ्घमा लामो समय काम गरिसकेका छन्  । उहाँहरुले सही कुराको सही निर्णय गर्न सक्ने क्षमता राख्नुहुन्छ । कसैको डर धम्की र लोभमा पर्ने अहिलेको अवस्था छैन । त्यसकारण पनि अहिलेको अवस्थामा ती साथीहरुले मलाई चाहनुहुन्छ । जिला÷नगर उपाध्यक्षका लागि मलाई रोज्नुहुन्छ ।  

तपाईं प्रधान प्यानलमै किन आबद्ध हुनुभयो ? 
 यो विचार अथवा आस्थाको आधारमा प्यानल होइन । यसलाई धेरैले राजनीतिको हवला दिएका छन् । किशोर प्रधान २८ वर्षसम्म अथवा महासङ्घको धेरै समय चेम्बर अभियानमा समर्पित हुनुभएको व्यक्ति हो । यस टिममा सबै समर्पित साथी हुनुहुन्छ । कोही कसैको बहकाउमा आएका छैनन् ।  निजी क्षेत्रको हकहितका लागि, साना तथा मmझौला व्यवसायलाई राम्रो गर्ने भनेर शब्दको जालमा फसाउँन चाहँदैनौँ ।  किशोर प्रधान र मसमेत भएर विगतमा बजेटमा  भएको निर्णय पुनरवलोकन गराउनका लागि राज्यलाई कन्भिन्स गरेका छाँै । साना तथा मझौला उद्योगी व्यवसायलाई आयकरको छुट, प्यानमा दर्ता नभई खर्च गर्न नपाइने जस्ता विषयको पुनर्विचार गर्न अर्थलाई बाध्यात्मक अवस्था सिर्जना गरेका छौँ । जिल्ला नगरले यसलाई बुझेर सहयोग गरिदिनुहुन्छ भनेर किशोर दाइको प्यानलमा आबद्ध भएको हो । 

जिल्ला नगरको प्रतिनिधित्व गर्दै तपाईं महासङ्घमा आउनुभयो भने महासङ्घले अर्थात् व्यवसायीले के पाउँछन् ? 
महासङ्घ सुदृढीकरणका लागि हामी लागेका छौँ । १९ वर्षदेखि व्यावसायिक यात्रामै छु । म एक्लैले सुरु गरेको व्यवसाय हो । एक्लैले व्यवसाय सुरु गर्न कति कठिन छ भनेर मैले बुझेको छु ।  महासङ्घमा प्रवेश गर्दा मैले जानेको कुरा केही गरिखान्छु भन्ने साथीहरुलाई सिकाउन चाहन्छु ।  । व्यवसायको अप्ठ्यारोे फुकाउने प्रयास गर्छु । साथीहरुले त्यति धेरै सहयोग पाएका थिएनन् । अहिले तीन तहले आफ्ना हिसाबले कर लगाइरहेका छन् । उनीहरुले व्यवसायलाई नियन्त्रण गर्ने कानुन बनाइरहेका छन् । हामी नियन्त्रणमुखी कानुन बनाउनु पर्यो भनेर लागिपरेका छौँ । अहिले उपभोक्ता हित संरक्षण ऐन बनेको छ । त्यसले जरिवाना लगाउने काम मात्र गरेको छ । एउटै निकायलाई सहजीकरण र कारबाहीको जिम्मेवारी दिइनु हुँदैन । एउटालाई सहजीकरणको अधिकार दिएको छ भने अर्कोलाई कारबाहीको अधिकार दिइनुपर्छ । व्यवसायलाई यथास्थानमा राखेर उनीहरुलाई शिक्षित बनाएर सचेतना दिनुपर्ने जरुरी छ । बनेको कानुन सबैले मान्नुपर्ने तर नेपाल सरकारले एउटा अङ्गले बनाएको कानुन अर्काे अङ्गले मान्नु नपर्ने अवस्थाको विरोध गरिरहेका छौँ । अहिले उद्योग मन्त्रालय उद्योगलाई प्रोत्साहन गर्ने भनेर कानुन बनाउँछ भने अर्थ मन्त्रालयले त्यो कानुन देख्दिनँ भन्छ । कोभिडको समयमा साना व्यवसायलाई समस्या परेको थियो । बैङ्कको ब्याजदर कम गर्ने, सेवा शुल्क कम गर्ने काम गरिरहेका छौँ । 

तपाईंहरु सबै उम्मेदवारले महासङ्घ सुदृढीकरणको नारा लगाइरहनु भएको छ, आफ्नो उम्मेदवारी पनि त्यसैका लागि भनिरहनु भएको छ । तपाईंहरु जस्ता मिलेर नै महासङ्घ बनेको हो, के त्यस्तो विकृति भित्र्याउनु भयो र सुदृढीकरण भनिरहनुभएको छ ?
महासङ्घको शुद्धीकरण भनेको महासङ्घले आजभन्दा ५० वर्ष अगाडि दुईवटा विषयलाई हेरेर भिजन बनाएको हो । त्यसलाई कार्यान्वयन गर्न सशक्त सचिवालयको जरुरत छ । नेपाल सरकारलाई नेपालको आर्थिक विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने भन्ने छ भने दोस्रोमा नेपालका उद्योगी व्यवसायीलाई विश्वमा प्रतिस्पर्धी र क्षमतावान बनाउने । यी दुई कुरा लिएर महासङ्घ स्थापना भएको हो । ९० को  दशकमा उद्योग वाणिज्य महासङ्घको पहलमा नीतिगत रूपमा पुनरवलोकन भएको थियो । जलविद्युतमा सरकारले गर्न नसकेको सय वर्षको काम निजी क्षेत्रले १० वर्षमा गरेको छ । सिमेन्ट उद्योग अहिले आत्मनिर्भर छ । अब निजी क्षेत्रलाई पोलिसी बनाउन सरकारसँग पहल गरेर काम गर्नुपर्यो ।

भनेपछि यसअघिको नेतृत्व असफल भयो ? 
असफल भनेको होइन, गरेको काम मैले भनिरहेको छु । जति सक्नुपर्ने हो त्यसो हुन सकेको छैन । अहिले सचिवालयमा जिल्लाका साथी आउँदा सेवा दिन सकिरहेको छैन । हाम्रो तीनथरिको जिल्ला उद्योग वाणिज्य सङ्घ छन् । नेपाल सरकारसँग कति कम्पनी बन्द भए  र कति खुले भन्ने तथ्याङ्कको अभाव छ । राज्य भनेको २५ प्रतिशत नाफाको सहभागी  हो । हामी बिना लगानी राज्यलाई २५ प्रतिशत आयकर बुझाइरहेका छौँ । राज्यले उद्योगी र व्यवसायीको हकहितका लागि पनि काम गर्नुपर्छ । तर उद्योग वाणिज्य महासङ्घको सुदृढीकणको लागि सम्बोधनको काम तत्काल गर्ने व्यवस्था हामी मिलाउँछौँ । 

भावी अध्यक्षले त तपाईंहरुलाई बोकेरै हिँड्नु भएको छ रे नि ?
भवानी राणाको टिम भनेर हामीले सबैलाई सहयोग गर्यौँ । आज शेखर गोल्छजीले पनि मलाई यो टिम चाहिन्छ भन्नुभयो भने के गलत भयो त । त्यसकारण हामीले चाहेको र  उहाँहरुले चाहेको भनेको व्यवसायी अथवा व्यवसाय हो । हामी पनि व्यवसायी हौँ । अहिले  हामी धर्मयुद्धमा छौँ, चुनावी सङ्ग्राम होइन । 

तपाईंसँग जिल्ला नगरलाई सबल बनाउने केके योजना छन् ?
कुनै पनि व्यवसाय जिल्लामा दर्ता गर्नका लागि ( अहिले नगरपालिकामा दर्ता हुन्छ सबै व्यवसाय) जति रकम असुलेका छन् त्यसबापत हामीले के सुविधा पायौँ ?  कुनै पनि जिल्लामा कतिवटा सङ्घ संस्थाले केके काम गर्छन् ? त्यसको तथ्याङ्क हामी बनाइदिन्छौँ । दर्ता गर्यो त्यसपछि काम गर्छ । उसलाई कानुनको ज्ञान हुँदैन । उपभोक्ता ऐन बनेको छ । तीन लाखसम्म जरिवाना छ । जबकि व्यवसायीले १ लाख लगानी गरेर व्यवसाय गरेको हुन्छ । उसले तीन लाख कसरी तिर्न सक्छ ?  उनीहरुले उठाएको रकम राज्यले कम्तीमा पनि २० प्रतिशत उद्योग वाणिज्य सङ्घलाई सहयोग गर्नुपर्छ । नयाँ व्यवसायलाई सचेतनामूलक कार्यक्रम गर्ने नयाँलाई कानुनको परामर्श दिने र हामी उद्योग वाणिज्य सङ्घहरुले तथ्याङ्क राखिदिने त्यसको आधारमा हाम्रो योजना सफल हुन्छ ।  हामी असफल हुनुमा हाम्रो तथ्याङ्क नै गलत छ । प्रत्येक पहाडलाई पर्यटकीय स्थल बनाउन सक्छौँ । हामी प्रष्ट छौँ । यो टिमलाई जिताउनु भयो भने काम गरेर देखाउँछाैं । ६ महिनभित्र उहाँहरुले अनुभूति हुने गरी काम गर्ने सकेनौँ भने भोट गर्नेहरुले हामीलाई फिर्ता बोलाउँन सक्नेछन् । 

महासङ्घकै गत चुनावमा हारेको तपाईं फेरि महासङ्घकै चुनावी मैदानमा हुनुहुन्छ, अबको जित वा हार अझ भनौँ हारलाई कसरी लिनुहुन्छ ?
जिल्लाका साथीहरुले जे निर्णय गर्नुहुन्छ त्यसलाई शिरोधार्य गर्नेछु । गएको साल २, ३ मतले जित्न सकिनँ । मतदाताको आदेश मैले मानेको छु । अब अहिले तीन वर्ष जिल्ला बुझेर आएको छु । काठमाडौँ उद्योग वाणिज्य सङ्घको संस्थापक अध्यक्ष हुने मौका पाएको थिएँ । यसकारण पनि मैले जिल्ला बुझेको छु । मेरा प्रतिस्पर्धी जिल्लामा अध्यक्षसमेत हुनु भएको छैन ।  महासङ्घ देशभर फैलिएको सञ्जाल हो । यो संरचनामा कसैले आफूलाई पाउनु भनेको गर्वको कुरा हो । त्यसकारण पनि महासङ्घमा चार्म छ । अहिले हारेँ भने फेरि अर्कोपटक उम्मेदवारी दिन्नँ । तर पनि नेतृत्वमै पुग्ने सोच चाहिँ लिएको छु । कोही मानिस महासङ्घमा प्रवेश गरेको छ भने छोड्नै चाहँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप