बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी बन्यो भीमदत्त

शुक्रबार, ०६ असोज २०७४, १२ : २८
शुक्रबार, ०६ असोज २०७४

सर्वसाधारणले नुन खान नपाएको आफ्नै आँखाले देखेपछि भीमदत्त पन्तले नुन आन्दोलन गरेका थिए । किसान नेताका रूपमा पहिचान बनाएका पन्तको ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने भनाइ आज पनि त्यत्तिकै सान्दर्भिक ठानिन्छ । उनले भारतको सिंघाइबाट म्याट्रिक गरी डडेल्धुराको विरखन, तल्लो सोरठ र रुपालमा संस्कृत पाठशाला खोलेका थिए । 

अंग्रेज हटाऊ आन्दोलनमा लाग्दा भारतमा पक्राउ परेका उनी वर्ष दिनपछि छुटे । 

आदिवासी जनजाति र दलित किसानलाई संगठित गरी राणाविरोधी आन्दोलनमा होमिएका भीमदत्त पन्तले मगर, थारू र दलित संगठित गरी मुक्तिसेनासमेत गठन गरेका थिए । संवत् १९८३ मंसिर १० मा अमरगढी नगरपालिका–१ डडेल्धुरामा जन्मेका उनको मृत्यु ०१० साउन १७ गते डडेल्धुराको जोगबुढामा भएको थियो । मित लालबहादुर थापाले पन्तको हत्या गरेको भनिए पनि अहिलेसम्म पुष्टि भएको छैन । 

चलचित्र भीमदत्त निर्देशनका लागि आग्रह गरिँदा हिमग्याप लामा (टासी) लाई भीमदत्तबारे यतिधेरै थाहा थिएन । चलचित्र भीमदत्त निर्माणका लागि निर्माण समूह बन्यो । समूह अध्ययनमा लाग्यो । दुई वर्ष अध्ययनमै बित्यो । ‘त्यसक्रममा ?’ उनले सुनाए, ‘म आफैं दुई÷तीनपटक डडेल्धुरा पुगें ।’

अध्ययन सकिएपछि चलचित्रका लागि पात्र चयन गर्नुपर्ने भयो । काम त्यति सजिलो थिएन । चलचित्रका लागि विष्ट काजी, भीमदत्तकी श्रीमतीको भूमिका, पहिले र अहिलेको कालखण्ड प्रतिनिधित्व गर्ने पात्र चाहिन्थ्यो । बुद्धिमत्तापूर्वक पात्र चयन गरियो । ‘पात्र चयन गर्दा जगेडा पात्रसमेत तयार पारेका थियौं,’ उनले सम्झे, ‘त्यो नभए यो, यो नभए त्यो भनेर । तसर्थ, पात्र चयन गर्न महाभारत नै चाहिँ भएन ।’

छायांकन सुरु भयो । छायांकन गर्न आठ महिना लाग्यो । त्यतिबेलाको कालखण्डलाई चलचित्रमा जस्ताको तस्तै उतार्न कठिन थियो । ‘चलचित्र निर्माणपक्षमा रहेका कोही पनि त्यो कालखण्डका थिएनौं,’ उनले प्रस्ट्याए, ‘तर पनि सुनेको र उपलब्ध भिडियोहरूमा देखेको भरमा त्यतिबेलाको कालखण्ड झल्काउने प्रयास गर्यौं । त्यति गाह्रो लागेन ।’ तर, भाषिक रूपमा कठिनाइ भएको उनले स्वीकारे । भीमदत्तको भूमिका निर्वाह गर्ने पात्र भारतमा पढेकाले धेरैवटा भाषा बोल्न सक्ने रहेछन् । जसले गर्दा धेरै सजिलो भयो । बाँकी स्थानीय कलाकारलाई स्थानीय भाषामा बोल्न लगाइएको छ ।

चलचित्र प्रदर्शनपछि भीमदत्त निर्माणपक्षले स्याबासी पाएकै हो । तीन वर्षअघि बनेको भीमदत्तका निर्देशक हिमग्याप लामा (टासी) फरक धर्मावलम्बी भएकाले काम गर्न अप्ठ्यारो नहुने कुरै भएन । किनकि आफूले आत्मसात् गरेकोबाहेककाको धर्म उनले पढेकोमात्रै हुन सक्छ । त्यसमाथि उनी तिब्बतियन बुद्धिजम । तर, चलचित्र निर्माण समूहमा क्षेत्री, ब्राह्मण बढी भएकाले काम उनलाई असहज भएन । 

‘भीमदत्त आममानिस होइनन्,’ चलचित्र भीमदत्त निर्माणअघि अध्ययन समयमै उनले थाहा पाए, ‘नेपालको सन्दर्भमा त्यो कालखण्डमा भीमदत्त जन्मनु मुलुकका लागि गौरव हो । उनी समग्र नेपालीका लागि एक विश्वविद्यालय नै रहेछन् ।’ असाधारण मानिसको जीवनीमा आधारित चलचित्र भीमदत्त निर्देशन गर्न पाउँदा उनी कम्ती खुसी छैनन् । 

चलचित्र भीमदत्तले त्यतिबेलाको इतिहास दर्शाएको छ । भीमदत्तको योगदान चलचित्रमार्फत पुनः एकपटक उजागर गरिएको छ । डडेल्धराका स्थानीयले भीमदत्त राजासरह मान्दारहेछन् ।  चलचित्रमा समेत भीमदत्त राजा जिन्दावाद भनेर उनीहरूले खुसी व्यक्त गरेका छन् । त्यतिमात्रै होइन, भीमदत्तका कतिपय समकालीन जीवितै रहेछन् । उनीहरूको भनाइ समेट्दा चलचित्र जीवन्त बनेको छ । 

अमेरिकामा चलचित्र निर्माणसम्बन्धी पढेका उनलाई हिजोआजचाहिँ चलचित्र भीमदत्तको प्रस्तुतीकरण कमजोर लाग्दोरहेछ । अहिले बनाउन पाएको भए झन् सशक्त बनाउन सकिन्थ्यो भन्ने लाग्नु अस्वाभाविक नभएको उनको जिकिर छ ।

चलचित्र भीमदत्त निर्देशनअघि हिमग्याप लामा (टासी) म्युजिक भिडियो, वृत्तचित्र निर्माणमा रमाएका थिए । होटल व्यवसायीसमेत रहेका उनले १०÷१२ वृत्तचित्र र ३०/४० म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । भीमदत्त निर्देशनपछि थुप्रै ‘अफर’ आए पनि उनले चित्तबुझ्दो स्क्रीप्ट नपाएकाले काम नगरेको बताए । 

ललितपुरको पुल्चोकमा रहेको रातोपाटी स्टुडियोमा कुराकानी टुंग्याउनुअघि उनले दाबी गरे, ‘चलचित्र भीमदत्त धेरै पहिल्यै बन्नुपथ्र्यो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप