शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा यस्तो हुन सक्छ बाबुराम र नारायणकाजीबीचको चुनावी टक्कर

शुक्रबार, ०६ असोज २०७४, १४ : १६
शुक्रबार, ०६ असोज २०७४

 काठमाडौँ– एउटै पार्टीमा हुँदा पनि डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कहिल्यै समुधर सम्बन्ध भएन । प्राविधिक हिसाबले यी दुई नेता नजिकै देखिए पनि मनमा चाहिँ दुई नदीको किनारजस्ता थिए, जो कहिल्यै नमिल्ने ।

तर, अबको प्रतिनिधिसभाको चुनावमा यी दुई नेताबीच भिडन्त हुने सम्भावना छ । यसकारण कि बाबुराम र नारायणकाजी दुवैले गृहजिल्ला गोरखाको २ नम्बर क्षेत्रबाट चुनाव उठ्ने तयारी गरेका छन् ।
 
गत भदौ १९ गते बाबुरामले केही सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका थिए । जहाँ पत्रकारहरूले कहाँबाट चुनाव लड्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा बाबुरामको जवाफ थियो– ‘पार्टीको आधिकारिक निर्णय हुन बाँकी छ । म गोरखा २ बाट लड्ने मन बनाएको छु ।’ यहीँबाट बाबुरामले आफ्नो चुनावी मैदानबारे खुलासा गरे । उनी पहिलो संविधानभसामा गोरखा–२ बाट र दोस्रोमा १ बाट चुनाव जितेका थिए ।
 
बाबुरामले चुनाव लड्ने क्षेत्रबारे आफ्नो धारणा बाहिर ल्याएको १५ दिनपछि माओवादी केन्द्रले पनि उम्मेदवारको सिफारिस गरेको छ । मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्र गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको हो । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई–दुईवटा गरी चारवटा प्रदेश निर्वाचन क्षेत्र छ । त्यसमध्ये समानुपातिक प्रणाली पनि कायमै छ ।
 
गोरखा क्षेत्र नं. १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेताहरू हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बन्जराको नाम प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाकै क्षेत्र नं. २ को प्रत्यक्षतर्फ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरेको र समानुपातिकतर्फ खोपबहादुर कँडेलको मात्रै नाम प्रस्तावित छ । नारायणकाजी श्रेष्ठको नाम यसरी प्रस्ताव भएपछि गोरखा २ मा बाबुराम र नारायणकाजीबीच चुनावी टक्करको सम्भावना बढेको हो । यद्यपि अन्तिम समयसम्म दुवै नेता मैदानमा उत्रिन्छन् कि उत्रिँदैनन्, यो चाहिँ केही दिन हेनुपर्ने छ ।
 
गोरखामा यी दुई नेताबीचको टक्करको मतको अङ्कगणितभन्दा पहिला दुई नम्बर क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिका हेरौँ ।
 
गोरखामा प्रतिनिधिसभा सदस्यका लागि गोरखामा दुई निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । यसअघि गोरखामा तीन निर्वाचन क्षेत्र थियो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा गण्डकी, सहिद लखन, भीमसेन, आरुघाट, धार्चे, चुमनुव्री गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ रहेका छन् ।
 
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र सुलीकोट गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ रहेका छन् ।
 
प्रदेशसभा सदस्यका लागि गोरखामा चार निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । गण्डकी गाउँपालिका, सहिद लखन गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ लाई समेटेर एउटा प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
 
त्यस्तै अर्काे क्षेत्रमा भीमसेन, आरुघाट, धार्चे र चुमनुव्री गाउँपालिकालाई राखिएको छ । प्रदेश सभाका लागि छुट्याइएको यी दुई क्षेत्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पर्छन् ।
 
गोरखा नगरपालिकाको वडा नम्बर ८, ९, १०, ११, १२, १३, १४ र पालुङटार नगरपालिकालाई प्रदेश सभाको अर्काे निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
 
सिरानचोक, सुलिकोट र अजिरकोट गाउँपालिकालाई समावेश गरी चौथो प्रदेश सभा निर्वाचन क्षेत्र तय गरिएको छ ।
 
यो भयो, निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिका ।
अब स्थानीय तहको चुनावमा गोरखामा पाएको मतको हिसाब हेरौँ, जसले आगामी चुनावको अनुमान र कसरतको सम्भावना देखाउँछ ।
 
गोरखा क्षेत्र नं. २ का स्थानीय तहमा राजनीतिक दलहरूले पाएको मत परिणाम हेर्दा ः
पालुङ्टार नपामा नेपाली काङ्ग्रेसलाई ४६९८ मत प्राप्त भयो । माओवादी केन्द्रले ४४९१, एमाले २४१० र नयाँ शक्तिलाई ३९७६ मत प्राप्त भएको थियो ।
 
सिरानचोक गाउँपालिकामा नेपाली काङ्ग्रेसलाई  ३४०२, एमालेलाई १७४०, माओवादी केन्द्रलाई ३२३५ र नयाँ शक्तिलाई १४३१ मत खसेको थियो ।
 
अजिरकोट गाउँपालिकामा काङ्ग्रेसलाई ३०३३ एमालेलाई ३४७, माओवादी केन्द्रलाई २७०२ र नयाँ शक्तिलाई १५० मत खसेको थियो ।

सुलीकोट गाउँपालिकामा नेपाली काङ्ग्रेसलाई ३०२२, नेकपा एमालेलाई ८८५, माओवादी केन्द्रलाई  ४६५९ र नयाँ शक्तिलाई १०१६ मत खसेको थियो ।
 
गोरखा नगरपालिकामा वडा नं. ८ मा नेपाली काङ्ग्रेसलाई ४९८, नेकपा एमालेलाई ४०५, माओवादी केन्द्रलाई ४३९ र नयाँ शक्तिलाई ४५५ मत खसेको थियो ।
 
वडा नं. ९ मा नेपाली काङ्ग्रेसलाई ४६७, नेकपा एमालेलाई १७५, माओवादी केन्द्रलाई ३६६ र नयाँ शक्तिलाई १७७ मत खसेको थियो ।
 
वडा नं. १० मा नेपाली काङ्ग्रेसलाई ३६७, नेकपा एमालेलाई ३७३,  माओवादी केन्द्र ३०९ र नयाँ शक्तिलाई १८२ मत खसेको थियो ।

त्यसैगरी वडा नं. ११ मा नेपाली काङ्ग्रेसलाई  ३४७, नेकपा एमालेलाई ३२७, माओवादी केन्द्रलाई  ४२८ विजयी  र नयाँ शक्तिलाई  ६८ मत खसेको थियो ।
 
यसबाहेक वडा नं. १२ मा नेपाली काङ्ग्रेसलाई ५३६ विजयी, नेकपा एमालेलाई १२२, माओवादी केन्द्रलाई ४८७ र नयाँ शक्तिलाई २१ मत आएको थियो ।
 
वडा नं. १३ मा नेपाली काङ्ग्रेसलाई ४०४, नेकपा एमाललाई  ९७, माओवादी केन्द्रलाई ५६४ र नयाँ शक्तिलाई ३२८ मत खसेको थियो ।
 
वडा नं. १४ मा नेपाली काङ्ग्रेसलाई २९६, नेकपा एमालेलाई ३२७, माओवादी केन्द्रलाई २१४ र नयाँ शक्तिलाई ९६ मत खसेको थियो ।
 
यसरी हेर्दा निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको गोरखा क्षेत्रल नं. २ मा दलहरूले पाएको कुल मत हेर्दा नेपाली काङ्ग्रेसलाई १७,०७० मत प्राप्त भएको छ । माओवादी केन्द्रलाई १७,८९४, नेकपा एमालेलाई ७,२०८ र नयाँ शक्ति नेपाललाई ७,९०० मत आएको छ ।
 
स्थानीय तहको चुनावको कुरा गर्ने हो भने गोरखा दुईमा नयाँ शक्तिभन्दा माओवादी केन्द्रसँग १० हजार बढी मत छन् । यहीँ ठाउँमा बाबुराम र नारायणकाजीबीच टक्कर हुनेछ । व्यक्तिगत रूपमा गोरखामा नारायणकाजीको तुलनामा बाबुरामको निकटता बढी देखिन्छ, यो नारायणकाजीका लागि चुनौती बन्न सक्छ । माओवादी केन्द्रको सङ्गठन बाबुरामका लागि चुनौती बन्न सक्छ । स्थानीय तहमा चुनावमा जस्तै माओवादी र नयाँ शक्तिबीचको भिडन्तमा काङ्ग्रेसलाई लाभ हुन पनि सक्छ ।
 
बाबुराम फ्याक्टरबारे प्रचण्डको मत छ
भदौ ४ गते गोरखा दशकिलोमा माओवादीको जिल्लास्तरीय प्रशिक्षण थियो, जहाँ बाबुराममाथि प्रचण्डको टिप्पणी थियो ।
–पहिला हामीले बाबुराम गए पनि गोरखाम खासै फरक पर्दैन भनेर सोच्यौँ । हामी बाबुराम गएपछि पर्न सक्ने नकरात्मक प्रभावलाई चिर्ने तयारीमा मनोगत भयौँ । जिल्लाका नेता कार्यकर्ताले मात्र होइन, हेडक्वाटरवालाले पनि प्रयाप्त ध्यान दिन सकेनौँ ।
 
बाबुराम जे भए पनि हामीले जनयुद्धमा दोस्रो तहको नेता भनेर प्रचार गरेको हो । उनी हामीबाट गएपछि पर्न सक्ने असरलाई कम गर्न जति ध्यान दिनुपर्ने थियो दिएनौँ । उनलाई बढी नै हेपिएको हो । हुन त उनले आफ्नो खुट्टामा आफै बन्चरो हानेका छन् । तर, सङ्गठनमा पर्न सक्ने असरबारे गभीर विचार गर्नुपर्ने थियो संवाद गर्नुपर्ने थियो, त्यहाँ गएनौँ । अब यस्तो गल्ती गर्नुहुँदैन ।
 
बाबुरामसँग तालमेल भनेको उहाँले माओवादीलाई समर्थन गर्ने हो । उहाँ आत्मआलोचना गरेर फर्कनुपर्छ । उहाँ आउनुभयो भने स्वागत गर्न तयार छौँ । माक्र्सवादबाट विचलित भएको बाबुरामसँग माक्र्सवादी नेता भिडाउँछौँ ।
 
बाबुराम पार्टी छाडेर गएँ । अव गोरखामा नारायणकाजी हुनुहुन्छ, उहाँको ठाँउमा । नारायणकाजी, हितराज पाण्डेलगायतका नेताहरु यहाँबाट चुनाव लड्दा हुन्छ । मिलेसम्म गृहजिल्लामा चुनाव लडने नीति बनाउने सोचेका छौँ । असोज ६ गते साँझसम्म प्रमुख नेताको निर्वाचन क्षेत्र तोक्ने सोचेका छौँ । चुनव पनि लडाईं हो, हामीले जित्नुपर्छ । क्रान्ति र परिवर्तनमा भूमिका खेलेको जिल्ला भएकाले यहाँ जित्नुपर्छ । अभियानका रुपमा जानुपर्छ ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप