बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा ऐन संशोधनविरुद्ध विद्यार्थी सडकमाः वैद्य–विप्लव–भट्टराईका विद्यार्थीले विधेयक जलाउने

शुक्रबार, ०६ असोज २०७४, २० : ३५
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं– सरकारले संसदबाट पारित गरेको शिक्षा ऐनको नवौं संशोधनविरुद्ध विद्यार्थी संगठनहरु आनदोलन उत्रिएका छन् । सत्तारुढसहित प्रमुख दलका विद्यार्थी संगठनहरुले सरकार र राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएर निर्णय सच्चाउन दबाब दिएका छन् भने वैद्य, विप्लवसहितका विद्यार्थी संगठनहरुले विधेयक जलाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

संशोधित ऐन विरुद्ध उनीहरुले शनिवार काठमाडौंका रत्नपार्क शान्तिबाकिामा संशोधित विधेयक जलाउने भएका छन् । साथै उच्चस्तरीय शिक्षा आयोगबाट राजीनामा दिने शिक्षाविद् र संशोधित विधेयकको विपक्षमा उभिने सांसदहरुलाई धन्यवादसहित उनीहरुले शिक्षा आयोगका अन्य सदस्यहरुलाई राजीनामाको लागि अपील गर्ने भएका छन् । 

संशोधित विधेयक तत्काल फिर्ता नलिएमा दोस्रो चरणमा कडा भन्दा कडा संघर्षका कार्यक्रम गर्ने उनीहरुले चेतावनी दिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत विद्यार्थीहरुले संयुक्त गठबन्धन गरी ज्ञापनपत्र बुझाउने कार्यक्रम अघि सारिरहँदा वैद्य, विप्लवसहित पाँच विद्यार्थी संगठनले संयुक्त गठबन्धन गरी आन्दोलन घोषणा गरेका हुन् । 

अखिल क्रान्तिकारी (वैद्य)का अध्यक्ष सेवन्तराज भण्डारी, अखिल क्रान्तिकारी (विप्लव)का अध्यक्ष पूर्णबहादुर सिंह, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र र समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले संयुक्त विज्ञप्ति जारी गरि आन्दोलन घोषणा गरेका हुन् ।  
यसअघि शुक्रबार नै नेवि संघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)का अध्यक्ष रञ्जीत तामाङ, अनेरास्ववियु (छैटौँ)का अध्यक्ष विमल पोखरेल, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादव, अनेरास्ववियु (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्रलगायतको टोलीले शुक्रबार कार्यबाहक प्रधानमन्त्री विजय गच्छदारलाई संशोधन विधेयक फिर्ताको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।  शनिबार सबै दलका शीर्ष नेतालाई नवौँ संशोधन फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाउने उनीहरुको तयारी छ । 

सरकारले असोज ३ गते स्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्ने गरी ऐन संशोधन गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप