शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरीक्ष अभियानमा चीनको अर्को सफलता : चाङ’इको मुख्य यानमा चन्द्र धरातलको नमूना ल्याइयो !

आइतबार, २१ मङ्सिर २०७७, १५ : ०८
आइतबार, २१ मङ्सिर २०७७

 

चन्द्र धरातलबाट माटो र ढुंगाको नमूना लिएर उडेको यान सफलतापूर्वक चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको चाङ’इको मुख्य यानमा जोडिएको छ । सो यानले आफूले ल्याएको नमूना मुख्य यानमा राखेर पुनः छुट्टिइसकेको पनि छ ।

चीनले आफ्नो अन्तरिक्ष इतिहासमै पहिलो पटक यो सफलता प्राप्त गरेका हो । यसअघि पृथ्वीको तल्लो कक्षमा चीनले यस किसिमका सफलता थुप्रै पटक प्राप्त गरिसकेको छ । तर पृथ्वीबाट ३ लाख ८० हजार किलोमिटर टाढा चन्द्रमाको कक्षमा नै यसरी सफलताप्राप्त गरेको भने पहिलो पटक हो ।

चन्द्र धरातलबाट उडेको चाङ’इको प्रोब चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको चाङ’इ– ५ को मुख्य यानमा सफलतापूर्वक फर्केर जोडिन पुगेको थियो । यो कार्य बेइजिङको समयानुसार आइतबार बिहान ५ः४२ बजे सम्पन्न भएको थियो ।

अन्तरिक्ष अन्वेषणमा ठूलो महत्वाकांक्षाका साथ अघि बढेको चीनको यो चाङ’इ अन्तरिक्ष अभियान चीनको इतिहासमै सबैभन्दा कठिन र चुनौतीपूर्ण थियो । खासगरी, अन्तरिक्ष इतिहासमै चीनले ४० वर्षभन्दा बढी समयपछि पहिलो पटक चन्द्रमाबाट माटो–ढुंगाको नमूना ल्याउने महात्वाकांक्षी अभिायन थालेको थियो । वास्तवमा भन्ने नै हो भने, हालसम्म चन्द्रमामाथि विजयप्राप्त गरेका महाशक्ति राष्ट्र अमेरिका र तत्कालीन सोभियत संघ, हालको रुसको एकाधिकारलाई तोड्न पनि यो अभियानको विशेष महत्व थियो । स्मरण रहोस्, पृथ्वीबाहेक अन्य कुनै पनि खगोलीय पिण्डबाट यानलाई सफलतापूर्वक उडाउने राष्ट्रको सूचीमा सोभियत रुस र अमेरिकापछि अब चीनको नाम पनि थपिएको छ ।

चीनको लागि सौभाग्यको कुरा, उसले त्यो दिशामा छलाङमार सफलता हासिल गरेको छ ।


एउटा चन्द्रमालाई परिक्रमा गरे बस्ने, एउटा तल ओर्लने र एउटा फर्केने समेत गरी चाङ’इ अन्तरिक्ष यान नोभेम्बर २४ मा प्रक्षेपण गरिएको थियो । सो यानको ओर्लने र फर्कने यानले सफलतापूर्वक डिसेम्बर १ मा चन्द्र धरातलमा अवतरण गरेको थियो । त्यसको दुई दिनपछि चन्द्र धरातलको २ मिटरभित्रबाट माटो र ढुंगाको नमूना संकलन गरेर डिसेम्बर ३ का दिन चाङ’इको फर्कने यान उडेको थियो ।

त्यस कार्यमा चीनको एरोस्पेस साइन्स एण्ड इण्डष्ट्री कर्पोरेशन लिमिटेड (सीएएसआइसी)ले विकसित गरेको उच्च सटीकतासहितको एक्सिलेरोमिटिरहरुको प्रयोग भएको थियो । त्यसले गतिमा आएका परिवर्तनहरुको सघन निगरानी र नाप गरिएको थियो र त्यस आधारमा चन्द्र धरातलबाट फर्केका यान र चन्द्रको कक्षमा घुमिरहेको यानबीचको सापेक्षित गतिलाई नियन्त्रण गरिएको थियो । त्यसैको प्रतिफलस्वरुप मूल यानमा चन्द्र धरातलबाट नमूना संकलन गरेर फर्केको यान सफलतापूर्वक जोडिन सकेको थियो ।

यस कार्यमा यानमा रहेको लामो दूरीको नाप गर्ने माइक्रोवेभ राडरले पनि यानलाई सफलतापूर्वक निर्देशिन गरेको थियो ।

चन्द्र धरातलबाट संकलित करिब २ किलोग्राम माटो–ढुंगाको नमूना बोकेर उक्त यान उपयुक्त समयमा (सम्भवतः १६–१७ डिसेम्बरसम्ममा) पृथ्वीमा फर्कनेछ ।

स्रोतः सिन्व्हा नेट/सिजिटिएन . Title Photo: https://news.cgtn.com

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप