शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा काँग्रेस किन फेल ? संजय टकलाको मत नै भयो निर्णायक

शनिबार, ०७ असोज २०७४, १८ : २६
शनिबार, ०७ असोज २०७४

काठमाडौं– दुई नम्बर प्रदेशका तीन उपमहानगरपालिकामध्ये जनकपुर उपमहानगरपालिकाको चर्चा बढी छ । 

जनकपुर उपमहानगरपालिका ऐतिहासिक ठाउँ हुनुको साथै त्यो साहु महाजनको पकड भएको ठाउँ हो । जहाँको मत तान्नका लागि काँग्रेस, माओवादी केन्द्र, एमाले, राजपा, फोरम नेपाल, लोकतान्त्रिक फोरमले समेत सोही समुदायलाई उम्मेदवार बनाएको थियो । 

जातीय मत हावी रहेको सो उपमहानगरपालिकामा मतदातालाई जातीय मत हाल्ने मौका नै दिएनन् ती दलहरुले । विगतमा साहु महाजनका उम्मेदवार नै जित्ने सो ठाउँमा सबै उम्मेदवार सोही समुदायबाट भएपछि मतदाताले आफ्नो मत सदुपयोग गरेको विश्लेषणहरु भइरहेको छ । 

अहिले राजपा नेपालका उम्मेदवार लालकिशोर साह  १६०२८ मतले अगाडि बढेको छ भने काँग्रेसका उम्मेदवार मनोज साह ७०९५ ले पछिपछि गइरहेका छन् । अर्थात राजपा नेपाल दोब्बर भन्दा बढी मतले अगाडि गइरहेको छ । 

काँग्रेसका उम्मेदवार मनोज साहलाई जिताउनका लागि काँग्रेसले सम्पूर्ण शक्ति लगाई सकेको थियो । जनकपुरमा जित्नका लागि काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफै पटक पटक जनकपुर गएर भाषण ठोकेका थिए । 

कांग्रेस नेता एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधि जनकपुरमा डेरा जमाएर नै बसेका थिए । काँग्रेसलाई जिताउनका लागि नेता निधिले सम्पूर्ण शक्ति लगाइसकेका थिए । राजपा नेपालका नेताहरुले मतदानको समयमा निधिमाथि आरोप लगाएका थिए, प्रशासनदेखि लिएर भोजभतेर तथा रकम बाँडफाँड पनि गरिरहेको छ । 

आचारसंहिता उलंघन भएको पनि थाहा नपाउने गरी निधि स्वयं प्रचारप्रसार तथा दौडधुपमा थिए । अचारसहिंता उल्लघन गरेको आरोपमा निधीलाई निर्वाचन आयोगले पत्र नै काटेको थियो । 
 

कांग्रेस कमजोर हुनुमा को दोषी ?

जनकपुर उपमहानगरपालिकामा काँग्रेस दोषी हुनुमा मुख्य दोषी विमलेन्द्र निधिलाई नै मानिन्छ । पहिलो कुरा त टिकट वितरण गर्दा कसैसँग सल्लाह गरिएको थिएन । ‘चुनावको मिति घोषणा हुनुभन्दा पहिलेदेखि नै मनोज साहलाई उम्मेदवारको रुपमा निधिले घोषणा गरेका थिए’ बीबीसीका पत्रकार वृजकुमार यादवले भने, ‘काँग्रेस अरुको कारणले होइन, आफ्नै कारणले हारेको हो ।’

अर्कोतिर, जनकपुरवासीका लागि विमलेन्द्र निधि विकास विरोधीको रुपमा चिनिएका छन् । जनकपुरमा विकास कार्य हुँदा निधिबाट नै पटक पटक अवरोध भएको कुरा जनकपुरवासीले विर्सेका छैनन् ।  

निर्वाचनअघि जनकपुरमा भएको एक चुनावीसभा निधिले आफ्नो मन्तव्य राख्ने क्रममा भनेका थिए– यदि काँग्रेस जित्यो भने दुई नम्बर प्रदेशको राजधानी जनकपुर बन्छ, यदि हार्यो भने वीरगञ्ज बन्छ । यस कुराले पनि जनकपुरवासीलाई निकै चित्त दुखेको थियो । 

कांग्रेस जिते मात्र जनकपुर राजधानी हुने, नजिते नहुने यस्तो अहंकार भएको पार्टीलाई किन जिताउने भनि त्यतिबेला नै टिकाटिप्पणी भएको थियो । 

अर्कोतिर, जीवनाथ चौधरी पनि एक कारण हो । संजय साह (टकला) र होटल व्यवसायी जीवनाथ चौधरीबीचको द्वन्द्वबाट जनकपुरवासी आजित थिए । संजय साह जेल गएपछि चौधरीले एक्लै जनकपुरमाथि हुकुम जमाउन चाहे । 

जनकपुरको हरेक काममा जीवनाथ चौधरीको हस्तक्षेप हुन्थ्यो र त्यसमा निधिले साथ दिने गरेका थिए । समान्य ठेक्का पट्टा गर्ने जीवनाथको जनकपुरमा दुइटा स्टार होटल छन् र अन्य थुप्रै कारोवारहरु रहेका छन् । 

धनुषामा सबभन्दा बढी सीट काँग्रेसले नै जितेको हो । जनकपुर उपमहानगरपालिकामा पनि काँग्रेस कमजोर छैन । त्यहाँ संगठनको आधारमा मात्रै मत काउन्ट गर्ने हो भने काँग्रेसको मात्र ७५ प्रतिशत मत रहेका छन् । २५ प्रतिशतमा मात्र अरु दल रहेको स्रोतको दावी छ । 

तर मुख्य कुरा टिकट वितरणमा सावधानी नअपनाएपछि यस्तो समस्या उत्पन्न भएको बताइन्छ । टिकट वितरणमा विमलेन्द्र निधिले यस्तो हस्तक्षेप गरेका थिए कि बाध्य भएर काँग्रेसका नेता लिला कोइरालाले जनकपुरको एक कार्यक्रममा भनेका थिए –काँग्रेसका सबै बागी र स्वतन्त्र उम्मेदवार अधिकारिक उम्मेदवार हुन् ।’

यसैबाट पुष्टि हुन्छ कि टिकट वितरणमा कस्तो असन्तुष्टि थियो । जनकपुर उपमहानगरपालिकामा रहेका २३ वडामध्ये अधिकांशमा काँग्रेसीहरु असन्तुष्ट थिए । असन्तुष्टहरुले उम्मेदवारी दिनुका साथै आफ्नो मत अरु दलमा पठाएका छन् । काँग्रेसको असन्तुष्ट अधिकाँश मत राजपा नेपाललाई नै गएको छ । 
 

संजय टकला निर्णायक

जनकपुर उपमहानगरपालिका क्षेत्रबाट सविधानसभा चुनावमा दुई पटक विजयी भएका संजय साह (टकला) को मत कहाँ जान्छ, त्यो मुख्य कुरा थियो । साहु महाजनको अधिकाँश मत संजय टकलाको साथमा रहेको छ । उनी जेलमा भएपनि त्यहाँको मत होल्ड गरेर बसेका थिए । उनले आफ्ना मतदातालाई जहाँ मत हाल्न भन्थे, त्यही खस्थ्यो । संजय टकलाको मत तान्न एमाले, माओवादी केन्द्र र काँग्रेसले पनि तान्न प्रयास गरेका थिए । 

माओवादी केन्द्रले त संजयको श्रीमतीलाई उम्मेदवार बनाउन पनि तयार भएका थिए । एमालेले पनि विभिन्न प्रलोभनहरु दिएको थियो । काँग्रेसले पनि संजयको मत काँग्रेसलाई आयोस् भनि चाहना राखेको थियो तर अन्ततः उनको मत राजपा नेपाललाई नै गएको छ । 

चुनावअघि नै जेलमा रहेका संजय टकला यसरी बन्न सक्छन् निर्णायक  भनि रातोपाटीमा समाचार प्रकाशित भएको थियो । सोही समाचारमा संजय टकलाको मत राजपा नेपाललाई नै जाने विश्लेषण पनि गरिएको थियो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप