बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमका सञ्चालक शेर्पाको स्पष्टीकरण, शेर्पा हुनुको नाताबाहेक ‘यती समूह’मा मेरो कुनै सहभागिता र लगानी छैन

शुक्रबार, ०३ पुस २०७७, १२ : ३०
शुक्रबार, ०३ पुस २०७७

काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समितिका बोर्ड सदस्य फुरगेल्जे शेर्पाले ‘जनरल सेल्स एजेन्ट’ (जिएसए) नियुक्तिको मापदण्ड संशोधनका बिषयमा ‘फरक मत’ राखेको बताएका छन् । शेर्पाले नेपाल वायुसेवा निगमको मंसिर ९ मा बसेको सञ्चालक समितिको बैठकमा प्रस्तुत जिएसए छनोट सम्बन्धी विनियमावली–२०७७ को विनियम ३ खण्ड (ङ) मा फरक मत राखेका थिए ।

उक्त खण्डमा ‘कम्तीमा एउटा वायुसेवा प्रदायकको जिएसएको रूपमा सम्बन्धित देशमा काम गरेको अनुभव भएको’ भन्ने नयाँ प्रावधानको व्यवस्था छ । तर, थपिएको यस नयाँ व्यवस्थाले निगमका हाल कार्यरत जिएसएहरुलाई नै निरन्तरता दिने आधार बलियो पार्ने र प्रतिस्पर्धी बजारमा नयाँ क्षमतावान र व्यावसायिक कम्पनी छनोटलाई पूर्णतः निषेध गर्ने भन्दै सो व्यवस्थाविरुद्ध उनी उत्रिएका हुन् ।

नयाँ प्रावधानले निगमको व्यावसायिक क्षमतालाई यथास्थितिमा राख्ने र नयाँ क्षमतावान कम्पनीलाई निषेध गर्ने भएकोले फरक मत राखेको शेर्पाको भनाइ छ । शुक्रबार विज्ञप्ति जारी गर्दै शेर्पाले भनेका छन्, ‘थपिएको यस नयाँ व्यवस्थाले निगमका हाल कार्यरत जिएसएहरुलाई नै निरन्तरता दिने आधार बलियो पार्दछ भने प्रतिस्पर्धी बजारमा नयाँ क्षमतावान र व्यावसायिक कम्पनीहरु छनोटलाई पूर्णतः निषेध गर्दछ । सम्बन्धित कम्पनीको केवल अनुभवमात्रै होइन, वर्तमान क्षमता, पुँजी, व्यावसायिकता, बजार प्रभावको आधारमा जिएसए नियुक्ति हुनुपर्दछ भन्ने मेरो मत हो ।’

निगमको हितविपरित शेर्पा उभिएको भन्दै प्रचार भएपछि शेर्पाले विज्ञप्ति जारी गरेर प्रष्टिकरण दिएका हुन् । उनी भन्छन्, ‘व्यावसायिक रुपमा क्षमतावान नयाँ कम्पनी रोकेर पुरानोलाई नै निरन्तरता दिनु निगमको व्यावसायिक क्षमतालाई यथास्थितिमा राखिनु हो । यो व्यवस्थाले अधिकतम् योग्य जिएसए छनोटको बाटो बन्द गरिदिएको छ । यो गलत हो भन्ने कुरामा म दृढ छु । मेरो फरक मत र अडान निगमको दीर्घकालीन हितको निम्ति हो भन्नेमा दृढ छु । मलाई विश्वास छ, भोलि त्यो समयले पुष्टि गर्ने नै छ ।’

‘यती समूहसँग मेरो संग्लनता छैन’

शेर्पाले यती समूहमा आफ्नो कुनै पनि खालको सहभागिता र संग्लनता नरहेको स्पष्ट पारेका छन् । आफ्नो बेग्लै व्यवसाय भएको उल्लेख गर्दै शेर्पाले यतीको ‘एजेन्ट’का रुपमा आफूलाई प्रचार नगर्न आग्रह गरेका छन् । शेर्पा भन्छन्, ‘मैले यसअघि पनि प्रस्ट पारेको छु, म नेपालको पर्यटन क्षेत्रमा विगत ४० वर्षदेखि क्रियाशील छु । उड्डयन क्षेत्रमा विगत एक दशकदेखि आबद्ध छु । आफ्नै संघर्ष र पौरखले बाँचिरहेकालाई कसैको एजेन्टको रुपमा किन बारम्बार प्रस्तुत गरिन्छ ? म आश्चर्यचकित भएको छु ।’

‘शेर्पा हुनुको नाता’ बाहेक ‘यती समूह’ मा आफ्नो कुनै सहभागिता र लगानी नरहेको उनको भनाइ छ । उनले भनेका छन्– तर म यहाँ भन्न चहान्छु, यती समूह नेपाली माटोको सुगन्ध रहेको देशभक्त राष्ट्रिय पूँजीपतिको समूह हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप