शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता रमेश लेखकको जीवन : राजनीतिमा नआएको भए वकिल हुन्थेँ

राजनीतिमा आत्मविश्वास, लगनशीलता र इमानदारिता चाहिन्छ
शनिबार, ११ पुस २०७७, १४ : ३७
शनिबार, ११ पुस २०७७

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक नेपाली काँग्रेसका केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर लेखक २०३७ मा नेपाल विद्यार्थी सङ्घ हुँदै काँग्रेसमा छिरेका उनी २०४७ सालबाट नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । २०५६ को निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट निर्वाचित भएका लेखक पुनस्र्थापित व्यवस्थापिका संसदमा समेत सक्रिय भएका थिए । लोकतन्त्र बहालीपछिको सरकारमा उनी श्रम तथा यातायात मन्त्री पनि बने । यस्तै  ०६४ सालमा समानुपातिकतर्फबाट सभासद् भएका लेखकको शान्ति प्रक्रियामा उल्लेखनीय भूमिका रह्यो । ०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा निर्वाचनमा कञ्चनपुरको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका उनी काँग्रेस सभापति शरेबहादुर देउवाका विश्वास पात्र पनि हुन् । पार्टीभित्र पनि सबै पक्षको स्वीकार्य नेतामध्येभित्र पर्ने उनी कानुनी मामिलाका ज्ञातासमेत रहेका छन् । अध्ययनशील नेताको छवी बनाएका लेखक कानुनका विषयवस्तुसँगै राजनीतिक घटनाक्रमलाई सूक्ष्मरूपमा बुझ्ने र विश्लेषण गर्ने क्षमता राख्छन् । पूर्वमन्त्री तथा नेपाली काँग्रेस नेता रमेश लेखकको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मेरो खाना
भातभन्दा रोटी, तरकारी, माछामासु मेरो मनपर्ने खाना हो । मन नपर्ने त्यस्तो केही छैन । कहिलेकाहीँ साथीभाइ, परिवारलगायतसँग रेस्टुरेन्ट जाने गरेको छु । रेस्टुरेन्टमा बढी खाने भनेको मम, पिजालगायत नै हो ।
अहिले चियासम्म पकाउने गरेको छु । अहिले आफँैले पकाउनु पर्दैन । पकाउनुपर्यो भने सबैथोक पकाउन सक्छु ।

मेरो फिट्नेस 
फिट्नेसको मावलमा सजक छु । त्यसैले नियमित एक्सरसाइज गर्छु । केही अगाडि एक्सरसाइजका लागि बिहान नियमित ब्याडमिन्टन खेल्थे । कोरोनाका कारणले अहिले त्यो बन्द भएको छ ।
अचेल बिहानै उठेर करिब डेढ घण्टा योगा, शारीरिक एक्सरसाइज गर्छु । एक्सरसाइजका लागि पहिले ट्रेडमिल राखेको थिएँ । अहिले त्यसमा एक्सरसाइज गर्न छाडे । 

मेरो पोसाक
सर्टपाइट, कोट, ज्याकेटलगायतका पहिरन नै धेरै प्रयोग गर्छु । फर्मल कार्यक्रम तथा विशेष अवसरमा दौरासुरुवाल, कोटपान्इट प्रयोग गर्छु । तर धेरै प्रयोग गर्ने सटपाइन्ट नै हो ।
गाढा, चम्किलो रङको पहिरन मनपर्दैन । फिक्का खालको पहिरन मनपर्छ । जिन्समाइट, टिसर्ट, सर्ट, ज्याकेटहरु म रेडिमेट नै किन्छु । कपडाको पाइन्ट, कोट, दौरा सुरुवाल लगायत सिलाउँछु । पहिरनमा ब्रान्ड खोज्ने बानी छैन । मनपरेको किन्छु ।

मेरो अध्ययन
अध्ययनमा रुचि छ । फुर्सद भयो कि पढ्न र लेख्न बस्छु । इतिहास, राजनीति र दर्शनका किताब अध्ययनमा रुचि छ । 
मेरो अध्ययनको समय धेरैजसो साँझ नै हो । फुर्सद मिल्यो भने दिउँसो पनि पढ्छु । अहिले सुवर्ण समशेरका लेखहरुको कलेक्सनको एक किताब पढ्दैछु । अर्काे थारुहरुको ‘ह्वाई आई एम अ हिन्दु’ भन्ने किताब पढ्दैछु ।

मेरो फुर्सद
फुर्सद कम हुन्छ । जिल्ला, क्षेत्र र देशभरबाट विभिन्न व्यक्तिले फोन गर्नुहुन्छ, भेट्नुहुन्छ । कहिलेकाहीँ आफन्तलाई पनि समय दिनुपर्ने हुन्छ । त्यसैले परिवारका लागि मेरो साथमा समय कमै हुन्छ ।

मेरो खेलकुद
स्कुले जीवनदेखि नै ब्याडमिन्टन खेल्थेँ । कहिलेकाहीँ भलिबल पनि खेलियो । ब्याडमिन्टन खेलमा अहिले पनि रुचि धेरै रहेको छ । कोरोना अगाडिसम्म खेल्थेँ ।
अहिले टिभीमा कहिलेकाहीँ फुटबल, क्रिकेट पनि हेर्छु । फुटबलका विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल हेर्न मनपर्छ ।

मेरो मोबाइल
अहिले मसँग एउटा हुवेई ब्रान्डको एउटा मोबाइल छ । मैले प्रायः बोक्ने मोबाइल आइफोन हो । अहिले सेनेटाइज गर्दागर्दा त्यो मोबाइल बिग्रियो । त्यसैले अहिले हुवेई बोक्न थालेको हुँ ।
फोन गर्ने, उठाउने, फेसबुक, ट्विटर, भाइबरलगायत प्रयोग गर्छु । मोबाइलमा अनलाइनसमेत पढ्ने गर्दछु । मोबाइल छिटोछिटो फेर्ने बानी छैन । नहराए, नबिग्रिएसम्म फेर्दिनँ ।

मेरो टिभी 
टिभी प्रायः बेलुकाको समय हेर्छु । टिभीमा बढी हेर्ने भनेको समाचार, अन्तरवार्तालागयत हेर्छु । समय अभावका कारण मनोरन्जनका कार्यक्रमहरु हेर्दिनँ । 

मेरो चलचित्र
चलचित्र नहेरेको करिब ६ वर्ष भयो होला । विद्यार्थी जीवनमा हलमा गएर धेरै फिल्म हेर्थें । पछिल्लो समय टिभीमा पनि हेरिन्थ्यो । अहिले त्यो क्रम घटेको छ । पहिले धेरै हिन्दी र अलिअलि नेपाली हेर्थें ।

मेरो भाषण शैली 
भाषण, पहिलो त मेरो विचारमा तथ्यमा आधारित हुनुपर्यो । अनावश्यक, तथ्य, विषयवस्तु भन्दा बाहिर गएर गरेको भाषण मनपर्दैन । विषयवस्तुमा केन्द्रित र तथ्यमा आधारित भएर बोलेको राम्रो लाग्छ ।
तपाईं जुनकुरा, जसलाई सुनाउँदै हुनुहुन्छ तिनीहरुको ध्यान आफ्नो विषयवस्तुमा तानिरहने गरेर समेत दिनुपर्छ । विषयवस्तु, परिवेशअनुसार भाषण एग्रेसिप र सिम्पल भन्ने आउँछ । म पनि कहिलेकाहीँ एग्रेसिप र कहिले सिम्पल भाषण गर्छु ।

मेरो प्रेम
विसं २०४५ मा मैले विवाह गरेको हो । पारिवारिक सहमतीमा मैले मागी विवाह गरेको थिए । विवाहपछि प्रेम बस्यो । त्यो प्रेम अहिले पनि चलिरहेको छ ।

मेरो राजनीति 
अहिले मेरो कर्मधर्म सबै राजनीति हो । २०३७ सालदेखि म नेपाल विद्यार्थीसङ्घमा आबद्ध भएको थिए । सो समय महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा स्ववियु सभापतिका लागि चुनावसमेत लडेको थिए । त्यसयता लगातार राजनीतिमा छु ।

२०४७ सालमा जिल्ला कार्यसमितिको सचिव भए । दुई कार्यकाल सचिव भए । ०५६ मा पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित भए ।
नेकपा माओवादी शान्तिसम्झौतामा आउनु अगाडि उनीहरुसँग वार्ताटोली गठन भएको थियो । त्यसको सदस्य भएँ । सोही समय गिरिजाप्रसाद कोइरालको नेतृत्वको सरकारमा पहिला श्रमराज्य मन्त्री र पछि फुलमन्त्री भएँ ।
त्यसपछि पहिलो संविधान सभाको सदस्य भएँ । पहिलो र दोस्रो संविधान सभामा संविधान बनाउने विभिन्न समितिमा रहेर काम गरेँ ।

संविधान मस्यौदा समिति, कार्यदल समितिलगायत विभिन्न समितिमा काम गरे । संविधान सभाअन्तर्गत न्यायपालिका हेर्ने समितिमा समेत संयोजक भएर काम गरे ।
पछिल्लो पटक म भौतिक पूर्वाधार तथा यातायात मन्त्री भए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि अहिले नेपाली काँग्रेसमै सक्रिय छु । 

अहिले म जेजस्तो रूपमा चिनिएको छु त्यो राजनीतिको कारणले सम्भव भएको हो । यदि राजनीतिमा नभएको भए म वकिल हुन्थेँ । म कानुनको विद्यार्थी थिए । केही समय वकालतसमेत गरेको थिए । सर्वाेच्च अदालतले मलाई वरिष्ठ अधिवक्ताको उपाधिसमेत दिएको थियो ।
संसदमा रहँदा पनि मैले कानुन निर्माण गर्ने क्रममा सकेको भूमिका खेलेकै हो ।

मेरो सपना
मेरो सपना व्यक्तिगतभन्दा पनि मुलुकको विषयमा छ । सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सुदृढीकरण होस् । देशको उन्नति, समुन्नति होस् । त्यसमा आफूले केही नकेही योगदान दिन सकियोस् भन्ने नै हो ।
राजनीतिमा कतिपय आफूले सोचेको कुरा हुन्छ, कतिपय हुँदैन । विश्वासका साथ हिँड्यो भने धेरै कुरा पूरा हुन्छ । राजनीतिमा आत्मविश्वास, निरन्तरता, लगनशीलता र इमानदारिता चाहिन्छ ।

मेरो गीतसङ्गीत
गीतसङ्गीत मनपर्छ, सुन्छु । नियमित सुन्ने होइन । नेपालीमा लोकदोहोरी गीत बढी मनपर्छ । हिन्दीमा गजलहरु सुन्छु ।

मेरो भूल
जीवनमा जानीनजानी भूल धेरै भयो होला । कतिपय भूलका विषय स्मरणमा रहेका छन्, कतिपय छैन । 
भूलबाटै कमिकमजोरी थाहा हुने हो । त्यसबाट हामीले सिक्ने पनि हो । अहिलेसम्म पछुताउनुपर्ने भूल भएजस्तो लाग्दैन ।

मेरो मापसे
कहिलेकाहीँ मापसे गर्छु । आफूले खाने ब्रान्ड यही हो भन्नेछैन । साथीभाइ बसेको समय उनीहरु जे खान्छन् । त्यही खान्छु । नियमित सेवन भने गर्दिनँ ।
घरमा मापसे सजाएर राख्ने चलन पनि चलेको छ अहिले । मैले त्यस्तो गरेको छैन तर घरमा ल्याएर खाने भने गर्दछु ।

मेरो रोग
भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । विगत १०, १२ वर्षदेखि ब्लड प्रेसरको समस्या देखिएको छ । त्यसका लागि औषधि नियमित खाँदैछु ।

मेरो राशि  
मेरो राशि तुला हो । ग्रहदशा हेराउँदिनँ । श्रीमतीले हेराउने गरेकी छन् । पहिले पहिले ग्रहदशामा विश्वास लाग्दैन थियो । अहिले विश्वास लाग्छ । पूजापाठसमेत गर्छु ।

मेरो मृत्यु
मृत्यु सबैका लागि सत्य हो । डरलाग्दो हो । जन्मिएपछि एक दिन मर्नैपर्छ । कसैका लागि बोझ भएर, दुःख पाएर बाच्नु नपरोस् । हिँडडुल गर्दागर्दै सजिलै जान पाइयोस् भन्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप