ad
केन्द्रीय संस्करण
मेरो जीवन

‘जेलमै बित्यो मेरो जवानी’

person explore access_timeपुस १८, २०७७ chat_bubble_outline0

बेदुराम भुसाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य हुन् । नेकपा विभाजित भएसँगै प्रचण्ड–नेपाल समूहतिर रहेका भुसाल सानै उमेरदेखि राजनीतिक आन्दोलनमा सहभागी भएका थिए । विसं २०२७ सालमा अर्घाखाँचीको तत्कालीन घनचौर गाउँ पञ्चायत भन्ने स्थानबाट कम्युनिस्ट पार्टीमा होमिएका उनले वामपन्थी आन्दोलनमा ५० वर्ष बिताइसकेका छन् ।  २०३० सालमा गाउँमा सामन्तवादको विरोध गरेका कारण जेल परेका उनी २०४३ मा छुटेका थिए । उसो त जेलबाट छुटेपछि पनि घर नगएर फेरि भूमिगत भएका उनी २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि सार्वजनिक भएका थिए । विगतमा तत्कालीन एमाले पार्टीको विभिन्न तह र तप्कामा रहेर काम गरेका उनी सोही पार्टीको पोलिटब्युरो सदस्य हुँदै अहिले नेकपाको स्थायी कमिटी सदस्य छन् । प्रेम र रोमान्स गर्ने आफ्नो जवानी जेलमा बितेको भुसाल सुनाउँछन् । उनै  भुसालका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा केलाउने प्रयास गरिएको छ ।

मेरो खाना
आँटो, मकैको च्याँख्लाको भात र हरियो सागपात मेरो मनपर्ने खाना हो । मन नपर्ने त्यस्तो केही छैन । किनभने खानेकुरामा अवहेलना गर्ने बानी मेरो छैन ।
व्यक्तिगत रूपमा रेस्टुरेन्ट जान्नँ । कहिलेकाहीँ  साथीभाइले आज रेस्टुरेन्ट जाऔँ । चिया, खाना खाऔँ भनेको समय र कार्यक्रमको दौरानबाहेक रेस्टुरेन्ट जाने बानी छैन । पकाउन रुचि छ । घरमा खानेकुरो सबै पकाउँछु । जेलमा बस्दा सबै काम गथ्र्यांै । त्यही बेलादेखि पकाउने बानी पर्यो ।

मेरो फिट्नेस 
स्वास्थ्यको मामलामा सजग छु । समय भएसम्म बिहान एकघण्टा मर्निङवाक गर्छु । मैले नियमित गर्ने योगाका केही आसन छन् । कम्तीमा आधा घण्टा योगका ती आसन गर्छु ।
मेरो घरमा फिट्नेसका लागि ट्रेडमिल पनि छ । मर्निङवाक जान नपाएको समय त्यसमा हिँड्छु ।

मेरो पोसाक
पोसाकमा बढी सर्टपाइन्ट नै मनपर्छ । सर्टमा स्काइब्लु मनपर्छ । पाइन्ट कालो, खैरोलगायत लगाउँछु । 
औपचारिक राष्ट्रिय सभा समारोहमा दौरासुरुवाल, कोट लगाउँछु । नत्र सामान्य सर्ट, पाइन्ट र कोट प्रयोग गर्छु । कसैले उपहार दिएको शरीरमा फिट भयो भने हो, नत्र म रेडिमेड पहिरन लगाउँदिनँ । जहिले पनि सिलाएर लगाउने हो । सिलाउँदा पनि ब्रान्डेड हेर्दिनँ । मनपरेको किन्छु ।

मेरो अध्ययन
अध्ययनमा धेरै रुचि छ । अहिले पनि बिहान एक्सरसाइज सकेर कुनै कार्यक्रममा जानुछैन भने कम्तीमा पनि ३ देखि ४ घण्टा अध्ययन गर्छु । बेलुका पनि यस्तै हो । बाहिरबाट घर फर्किएपछि ११ बजे सत्नु अगाडि फोन उठाउने र खानाखाने बाहेकको समय अध्ययन नै गर्ने हो ।
मेरो अध्ययन केन्द्रित विषय दर्शन हो । त्यसको अलवा राजनीति र इतिहास पनि पढ्छु ।

मेरो फुर्सद
फुर्सद हुँदैहुँदैन । फुर्सद भयो भने लेख्ने, पढ्ने गर्छु । म खाली बस्नै सक्दिनँ ।

मेरो घुमघाम
घुमघाम धेरै मनपर्छ । कामबाहेक घुम्ने भने गर्दिनँ । देशको तीन जिल्लाबाहेक सबै जिल्ला पुगेको छु । घुम्न हैन पार्टीको कार्यक्रम लिएर । त्यो समय पुगेको ठाउँ घुमेँ । आफू पुगेको स्थानमा ऐतिहासिक महत्त्वका स्थल, प्राकृतिक सौन्दर्यले भरिएका स्थलहरु घुम्छु ।

विदेशका अमेरिका, बेलायत, कतार, चीन, हङ्कङ, भारत, रसिया पुगेको छु ।

मेरो खेलकुद
८ कक्षा पढ्दा जेल परेको थिएँ । साढे १२ वर्ष जेलमा बिताएँ । पहिले जेलमा हुँदा चेस खेल्थेँ । टेबुलटेनिस खेल्थेँ । बाहिर आएपछि खेलकुदका लागि समय भएन ।

मेरो मोबाइल
अहिले मसँग एउटा सामसुम ग्यालेक्सी ब्रान्डको मोबाइल छ । फोन गर्ने, उठाउने, फेसबुक, ट्विटर, भाइबर, इमेल, म्यासेन्जरलगायत प्रयोग गर्छु । 
मोबाइलमा अनलाइनका समाचारसमेत पढ्छु । मोबाइल छिटोछिटो फेर्ने बानी छैन । नहराए, नबिग्रिएसम्म फेर्दिनँ ।

मेरो टिभी 
टिभी प्रायः हेर्दिनँ । समाचारका लागि कहिलेकाहीँ हेर्छु । राम्रो विषय र राम्रो व्यक्तिका इन्टरभ्यु आउँदा हेर्छु । टिभी हेरेर समय बिताउन मनपर्दैन ।

मेरो चलचित्र
अहिलेसम्म मैले ५० वटा पनि फिल्म हेरेको छैन होला । पछिल्लो समय हेरेको फिल्म ‘शत्रु गते’ हो ।
राम्रो विषय भएका र चर्चामा आएका छन् भने हिन्दी, नेपाली दुवै खालका फिल्म कहिलेकाहीँ हेर्छु । अमिताभ बच्चनको ‘बागवान’ फिल्मसमेत हेरेको थिएँ । 
कहिलेकाहीँ फिल्म निर्माता निर्देशकले समेत हलमा बोलाएर फिल्म देखाउँछन् । बोलाएपछि जानैपर्यो ।

मेरो भाषण शैली 
शिष्ट, सभ्य खालको भाषणशैली मनपर्छ । सैद्धान्तिक खालको राम्रो हुन्छ । एग्रेसिप भाषण ठीक होइन । त्यो सिपालु नेताले गर्ने भाषण हुन् ।
एउटा पहिचान बनाएका नेताले तत्कालाई मात्र प्राथमिकता राखेर, झुट बोलेर भाषण गर्नुहुन्न । त्यस्तो भाषण ठीक लाग्दैन ।

मेरो प्रेम
विसं २०४५ मा मैले विवाह गरेको हो । मेरो विवाह पार्टीले गराइदिएको हो । पार्टीको व्यवस्थापनमा विवाह भएको थियो । त्यतिबेला म भूमिगत थिएँ । भूमिगत कार्यकर्ताको पार्टीले त्यस्तै कार्यकर्तासँग मिलाएर विवाह गरिदिन्थ्यो । त्यतिबेला पार्टीले एक कार्यकर्ता (अहिलेकी मेरी श्रीमती) केटी ल्याएर तिमीहरु विवाह गर भन्यो । हामीले हुन्छ भनेर विवाह गर्यौँ । विवाहपछि नै प्रेम बस्यो । त्यो प्रेम अहिले पनि जारी छ ।
१९ वर्षको हुँदा म जेल परेको थिएँ । ३२, ३३ वर्ष हुँदा निस्किएँ । मेरो जवानी जेलमै बित्यो । त्यसैले बाहिर प्रेम गर्ने अवसर मिलेन ।

मेरो राजनीति 
अर्घाखाँचीको तत्कालीन घनचौर गाउँ पञ्चायत भन्ने स्थानबाट २०२७ सालदेखि कम्युनिस्ट पार्टीबाट मैले राजनीतिक यात्रा सुरु गरेको हो । अहिले ५० वर्ष भयो । अझै जारी रहेको छ ।
२०३० सालमा हामीले गाउँमा सामन्तवादको विरुद्ध एउटा कारबाही चलाएका थियौँ । सोही क्रममा म पक्राउ परेको थिएँ । २०४३ सालमा मात्र छुटेँ । जेलबाट छुटेपछि घर नगएर फेरि भूमिगत भएँ । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि सार्वजनिक भएको हो ।

जेल पर्दा पार्टीको गाउँ तहको सचिव थिएँ । त्यतबेला सचिव पार्टी प्रमुख हुन्थ्यो । जेलबाट छुटेपछि अर्घाखाँचीकै जिल्ला कमिटीमा सङ्गठित भएँ । पाल्पा, रुपन्देहीमा पनि बसेर काम गरँे । कपिलवस्तुमा दस वर्ष पार्टी प्रमुख भएँ । त्यसपछि लुम्बिनी अञ्चलको सचिव भएँ ।

२०५७ तत्कालीन नेकपा एमालेको केन्द्रीय सङ्गठन विभागको सचिव भएँ । २०६३ सालमा अनुशासन निरीक्षण कमिटीको सभापति भएँ । २०६५ देखि २०७० सालसम्म नेकपा एमालेको पोलिटब्युरो सदस्य र पार्टीको स्कुल विभागको प्रमुख भएर रहेँ । नेकपा माओवादीसँग पार्टी एकता भएपछि म स्थायी कमिटीको सदस्यमा छु ।

म प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा सहभागी भएको छैन । यसअगाडि २०५७ सालमा पनि एक कार्यकाल राष्ट्रिय सभामा सदस्य भएको थिएँ । अहिले पनि राष्ट्रिय सभा सदस्यमा छु । राजनीतिमा नआएको भए शिक्षक हुन्थेँ होला ।

मेरो सपना
सपना समाज बदलौँ भन्ने हो । त्योबाहेक अर्काे केही छैन । नेपाली समाजमा जुनखालको शोषण, दमन, उत्पीडन रहेको छ । त्यो हट्नु पर्छ भन्ने हो ।
राजनीतिक हिसाबले हामीले जुन सफलता प्राप्त गरेका छौँ त्यो हिसाबले केही पनि काम हुन सकेको छैन । त्यो सपना अहिलेसम्म अधुरो छ । पूरा गर्ने अहिलेका लक्ष्य हो ।

मेरो गीतसङ्गीत
गीतसङ्गीतमा लोकगीत असाध्यै मनपर्छ । अश्लीलता नभएको लोकगीत सुन्ने गरेको छु । समय मिल्नासाथ, यात्राको समय सुन्छु । जुन समय लेख्न पढ्न उपयुक्त हँुदैन त्यस्तो समय म गीतसङ्गीत सुन्छु ।

मेरो भूल
जीवनमा जानीनजानी कयौँ भूल भए होला । अहिलेसम्म पछुताउनुपर्ने भूल भएजस्तो लाग्दैन । 

मेरो मापसे
कहिलेकाहीँ मापसे गर्छु । नेवार साथीहरुको भोजमा गइयो भने सगुनको रूपमा लिनुपर्छ । साथीहरुसँग बसेको, पार्टीमा गएको समय थोरै लिन्छु ।
घरमा अचेल मापसे सजाएर राख्ने चलन पनि चलेको छ । मलाई त्यस्तो गर्न मनपर्दैन ।

मेरो रोग
भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । विगत १० वर्षदेखि ब्लड प्रेसरको नियमित औषधि खाँदै आएको छु । त्योबाहेक अन्य रोग अहिलेसम्म केही देखिएको छैन ।

मेरो राशि
मेरो नक्षत्र ‘मृगसिरा’ हो । ग्रह दशामा विश्वास लाग्दैन । हेराउने, जुराउने र पूजापाठ कहिल्यै गर्दिनँ । म बैद्धिक दर्शन लेख्ने भएकाले पूजापाठ आदिमा विश्वास लाग्दैन । पूजापाठ सबै प्राचीन कुरा होइनन् । 

मेरो मृत्यु
मृत्यु सबैका लागि सत्य हो । यो जीवनको अपरिहार्य घटना हो । कुनबेला कसरी घट्ट भन्ने कसैलाई पनि थाहा हँुदैन । मृत्यु हुन्छ भन्ने सुनिश्चित छ । समाजले सधैँ सम्झने केही कर्म गर्न सक्यो भने मृत्युपछि पनि बाँच्न सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.