बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महामारी बीच जुर्मुराउँदै जिपलाइन

दैनिक करिब ३ दर्जन जनाले सहासिक खेल खेल्दै
सोमबार, २० पुस २०७७, ०९ : १४
सोमबार, २० पुस २०७७

काठमाडौँ । पर्यटकीय नगरी धुलिखेलमा सञ्चालित नेपालकै पहिलो साहसिक खेल सुपरम्यान जिपलाइको लोकप्रियता बढ्दो छ । कोभिड–१९ का कारण करिब ९ महिना बन्द रहेको उक्त जिपलाइनले पछिल्लो समय निकै आक्रामक रुपमा गति लिन थालेको हो ।

कोभिडपछि दैनिक करिब ३ दर्जन पर्यटकहरु साहसिक खेल जिपलाइन खेल्न धुलिखेल आउने गरेको सञ्चालक वर्ल्ड वाइड एड्भेन्चर प्रालिले जनाएको छ । सुलभ शुल्कमा स्वदेशी (आन्तरिक) पर्यटकहरुलाई नै प्राथमिकतामा राख्दै जिपलाइन सेवा सञ्चालन गरिएकोमा पछिल्लो समय सहासिक खेल पारखीहरुको जिपलाइन प्रति आकर्षण बढ्न गएको वर्ल्ड कम्पनीका सिइओ भुपेश श्रेष्ठले बताए ।

‘हाम्रो पहिलो प्राथमिकता भनेको नै स्वदेशी पर्यटकहरु हुन् । आन्तरिक पर्यटकले पनि व्यवसाय सञ्चालन गर्न सकिन्छ भनेर नै हामीले करिब २ वर्ष अघि जिपलाइन सेवा शुरु गरेका थियौँ । यद्यपि विदेशी पर्यटक चाहिँ हाम्रो प्राथमिकतामा नरहेको भन्ने पनि होइन । तर, जिपलाइन चढ्नेमा स्वदेशीको तुलनामा विदेशीको संख्या अत्यन्त न्यून छ । हाम्रो तथ्याङक अनुसार गएको दुई वर्षमा कूल व्यवसाय मध्ये करिब ९५ प्रतिशत स्वदेशी पर्यटकहरुबाटै भएको छ । बाँकी ५ प्रतिशत जतिमात्र विदेशीहरु हुन्,’ सिइओ श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार हालसम्म धुलिखेल जिपलाइनमा ७ हजार जनाले साहसिक खेल खेलिसकेका छन् । जसबाट कम्पनीले करिब सवा करोड रुपैयाँ ट्रान्जेक्सन गरिसकेको छ । तर उक्त रकम वितरण नगरेर कम्पनीको व्यवसाय विस्तारमै खर्च गरिएको श्रेष्ठले जनाकारी दिए ।

युरोपियन सुरक्षा मापदण्ड, भारतीय प्रविधि

कुल ५ करोड लगानीमा निर्माण गरी सञ्चालनमा ल्याइएको धुलिखेल जिपलाइन सेवा उच्चस्तरिय युरोपियन सुरक्षा मापदण्डमा रहेर भारतीय प्रविधिमा निर्माण गरिएको कम्पनीले जनाएको छ ।

राजधानीको कोटेश्वदेखि करिव ३३ किलोमिटरको दूरीमा रहेको धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिका जोड्ने गरी बनाइएको उक्त जिपलाइनको सुपरम्यान सेवा नेपालकै पहिलो जिपलाइन सेवा रहेको कम्पनीको दाबी छ ।

धुलिखेल नगरपालिकाको थाक्लेडाँडा टेक अफ प्वाइन्ट रहेको जिपलाइनको ल्यान्डिङ स्टेसन १.१ किलोमिटर अर्थात् ११ सय मिटरको दुरीमा पाँचखाल नगरपालिकाको खावामा राखिएको छ ।

कुल ११ सय मिटर दुरी रहेको उक्त जिपलाइनमा ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा व्यक्तिको तौल, हावाको गति र बहाव अनुसार औसत १ मिनेट २० सेकण्डसम्म जीपलाईन पुरा गर्न सकिने कम्पनीले जनाएको छ । कुल ११ सय मिटर दुरी रहेको उक्त जिपलाइनको भर्टिकल ड्रप उचाई भने दुई सय २० फिट रहेको कम्पनीले जानकारी दिएको छ ।

जिपलाइन शुल्क

एड्भेन्चर खेलका लागि तीन छुट्टाछुट्टै खेलको व्यवस्था गरेको कम्पनीले स्वदेशी र विदेशी नागरिकहरुका लागि खेलमा लाग्ने शुल्कको पनि छुट्टाछुट्टै व्यवस्था गरेको छ ।

क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी तीन खेल रहेकोमा कम्पनीले तीन खेलकै लागि नेपाल, सार्क मुलुक र अन्य मुलुकका  गरी तीन क्लासमा नै जिपलाइन शुल्क निर्धारण गरेको छ । जसमा क्लासिक खेलका लागि नेपालीलाई  २ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै, सुपरम्यान खेलका लागि नेपालीलाई तीन हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ४० डलर र अन्य देशका नागरिक ४५ डलर शुल्क तोकिएको कम्पनीले जनाएको छ ।

टेन्डम (जोडी) जिपलाइनमा भने कम्पनीले नेपालीलाई ४ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिकलाई ६० डलर शुल्क तोकेको छ । यसको अतिरिक्त फोटो र भिडियोका लागि भने सबै देशका नागरिकहरुलाई समान थप ५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीले २० रोपनी निजी जग्गा भाडामा लिएर जिपलाइन सञ्चालन गरिरहेको छ । जिपलाइनको अतिरिक्त कम्पनीले अन्य ८ फरक एड्भेन्चर कोर्ससहित एड्भेन्चर पार्क समेत सञ्चालनमा ल्याएको छ । जसमा बेबि जिपलाइन, भी सेप ब्रीज, टायर ब्रीज, प्लेइङ ब्रीज, ब्रहा ब्रीज, हाइ रोप लगायतका एड्भेन्चर खेलहरु रहेका छन् ।

साथै कम्पनीले सुविधा सम्पन्न ८ कोठासहितको धुलिखेल जिपलाइन रिसोर्ट समेत सञ्चालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप