शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'हामीलाई मधेसविरोधी भन्नेहरु साइकल चढेर पछिपछि आए'

मङ्गलबार, १० असोज २०७४, १० : ३६
मङ्गलबार, १० असोज २०७४

–उपेन्द्र यादव,
अध्यक्ष, सङ्घीय समाजवादी फोरम नेपाल

दुई नम्बर प्रदेशमा असोज २ गते भएको स्थानीय तहको चुनाव सम्पन्न भएको छ । ३ गतेदेखि जारी मतगणना कार्य अझै जारी छ । मतगणना अन्तिम चरणमा पुगेको अवस्थामा सङ्घीय समाजवादी फोरम नेपाल २५ तहमा जितेर दोस्रो स्थान कायम गरेका छ । यसले फोरम नेपाल पुरानै रूपमा फर्केको पनि विश्लेषण भइरहेका छन् । काङ्ग्रेसभन्दा थोरै मतले पछाडि, माओवादी, एमाले, राजपा नेपाल जस्ता दललाई पछाडि पारेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग रातोपाटीका लागि गरिएको कुराकानीको मुख्य अंशः 

प्रदेश नं. दुईमा फोरम नेपालले जेजस्तो मत ल्याएको छ,  त्यसको वास्तविकता हो, कि अझै अपेक्ष थियो ?
–सङ्ख्या तोकेर नै यति सिट ल्याउँछौँ भनी हामीले कहिल्यै घोषणा गरेका थिएनौँ तर मधेसमा एक नम्बरको पार्टी बन्ने हाम्रो तयारी थियो ।

अनि किन बन्न सकेन एक नम्बर ?
–विभिन्न कारणहरू छन् । पहिलो कुरा त हामीसँग साधन स्रोतको धेरै अभाव भयो । दोस्रो कुरा सत्ताका आडमा काङ्ग्रेस र माओवादी केन्द्रले निकै धाँधली गरेका छन् । ठूला दल भनाउँदाहरूले रकमको चलखेल निकै गरेको पाइयो । मतदाता यहाँसम्म कि उम्मेदवारलाई समेत प्रभावमा पर्ने काम ती दलहरूबाट भएको पाइयो । कुनै कुनै दलले त जातिवादीको नारा पनि लगाए अर्थात फोरम नेपाललाई कमजोर पार्नका लागि दलहरूले गठबन्धन नै बनाएको प्रस्टैछ, त्यही भएर केही कमजोर भएको हामीले बुझेका छौँ ।

जसले फोरम नेपालले मधेसको मुद्दा छाड्यो, पहाडमा विलिन भयो भनी आरोप लगाएको थियो, अब त्यसले नै यसको जवाफ दिनुपर्छ । फोरम नेपाललाई मत दिएर ती दल र शक्तिलाई जनताले प्रश्न गरेको छ ।

कति सिट ल्याउने सोच थियो ?
–मैले अघि भने नि कि हामीले तोकेका थिएनौँ तर हाम्रो टार्गेट ५० भन्दा माथि नै थियो ।

फोरम नेपालले मधेसको मुद्दा छाड्यो, पहाडमा विलिन गरायो जस्ता आरोप लागेको थियो । त्यस अवस्थामा पनि यति गर्नु सानो कुरा होइन, यो कसरी सम्भव भयो ?
–जसले फोरम नेपालले मधेसको मुद्दा छाड्यो, पहाडमा विलिन भयो भनी आरोप लगाएको थियो, अब त्यसले नै यसको जवाफ दिनुपर्छ । फोरम नेपाललाई मत दिएर ती दल र शक्तिलाई जनताले प्रश्न गरेको छ । अब जवाफ उनीहरूले दिनुपर्छ । फोरम नेपाल मधेसको मुद्दा कहिल्यै छाडेको थिएन, मधेसी जनतालाई कहिल्यै धोका दिएको थिएन भन्ने कुरा प्रष्ट छ अब त झन् छर्लङ्ग भयो ।

संविधान संशोधन नभएसम्म कुनै पनि चुनावमा भाग नलिने, सविधान संशोधन होइन, पुनर्लेखन गर्नुपर्छ भनी आवाज उठाउने तपार्इं एकाएक चुनावमा भाग लिएपछि तपाईंमाथि ती आरोपहरू लागेको थियो । त्यो अवस्था किन आएको थियो त्यो बेला ?
–फोरम नेपाल लोकतन्त्र र संसदीय प्रणालीमा विश्वास गर्ने पार्टी हो । लोकतन्त्र खतरामा परिरहेको बेला चुप लगाएर बस्न सक्दैन । हामीले आन्दोलनका लागि चुनावलाई सदुपयोग गरेका हौँ । शक्ति सञ्चय गरेका हौँ । आज चुनावमा भाग नलिएको भए मधेसमा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र बलियो हुन्थ्यो र हाम्रो कुरा झन् सुन्ने थिएनन् । सङ्घ तथा प्रदेशको चुनावमा बलियो हुने एउटा आधार तयार भएको छ । मतदातामा एउटा जागरुकता आएको छ । जनता पार्टीसँग वैधानिक रूपमा जोडिएको छ । यी कारणले गर्दा हामी चुनावमा भाग लिएका थियौँ । हामीले मधेसको मुद्दा छाडेको कहीँकतै कसैले देखाइदेयोस् । बरु म प्रमाणित गर्दिन्छु कि जसले हामीमाथि मधेसको मुद्दा छाडेर चुनावमा गयो भनी आरोप लगाएको थियो । पछि उसले पनि साइकल चढेर फोरम नेपालको पछिपछि आयो ।

कसरी प्रमाणित गर्नुहुन्छ ?
–पहिलो कुरा त सविधान संशोधनको जुन सम्भावना थियो, त्यसलाई उनीहरूले नै समाप्त गरेको हो । बालुवाटारमा गएर काङ्ग्रेस र माओवादी केन्द्रसँग सहमति गरेर नै सविधान संशोधन विधेयकलाई फेल गराएको हो । अब संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भइसकेको छ भने त्यसलाई पुनः कसरी र कुनै नैतिकताले संसदमा लैजान्छन् । यो राजपा नेपालकै कारणले भएको होइन र ? त्यसलाई त्यतिकै छाडेर चुनावपछि सम्पूर्ण शक्ति लगाएर पास गराउँदा पनि हुन्थ्यो तर त्यसो नगरेर त्यसलाई समाप्त पार्ने खेल उनीहरूले गरेको हो । अर्को कुरा, जानी जानी उनीहरूले दुई नम्बर प्रदेशमा मात्र मधेसलाई स्थापित गर्ने काम गरेका छन् । एक मधेस एक प्रदेशको कुरा उठाउने, पूर्वदेखि पश्चिमसम्मका सबै भूभाग मधेस हो भनी भन्ने तर दुई नम्बर प्रदेशमा मात्र चुनावमा भाग लिने यो कुराले शासकहरूलाई र अरूलाई पनि मधेस भनेको दुई नम्बर प्रदेश मात्र हो भनी भ्रम परेकोे छ ।

राजपा नेपालले दुई नम्बर प्रदेशमा मात्र किन भाग लियो ?
–एउटा कारण त मैले अघि भने कि उनीहरूले दुई नम्बर प्रदेशलाई मात्र मधेस ठानेका छन् र त्यसलाई प्रमाणित गर्न त्यसमा भाग लिएको हो । अर्को कुरा, दुई नम्बर प्रदेशबाहेक अरू कुनै ठाउँमा सङ्गठन नै छैन । अनि कसरी चुनावमा भाग लियोस् । तपाईंले हेर्नुस्, पार्टीका अध्यक्ष मण्डलमा छ जना सदस्य हुनुहुन्छ, ती सबै दुई नम्बर प्रदेशका मात्र हुनुहुन्छ, तीनजना सदस्य त एउटै जिल्लाका मात्र हुनुहुन्छ । अरू पदाधिकारी तथा सदस्यहरूको हिसाब गर्ने हो भने अधिकांश दुई नम्बर प्रदेशकै हुनुहुन्छ । त्यसैले राजपा नेपाल दुई नम्बर प्रदेशमा मात्र सीमित भएको छ ।

सविधान संशोधनमा एमालेले सघाएको भए अलिअलि सिट आउँथ्यो तर उसले त्यो पनि गुमायो । एमालेले मधेसको मुद्दा र एजेन्डाको बारेमा एकपटक सोचोस् ।

यो स्थानीय चुनावमा खास तपाईंको प्रतिस्पर्धा कुन दलसँग थियो ?
–हाम्रो कुनै दलसँग प्रतिस्पर्धा थिएन । बरु अरू दलहरूले फोरम नेपाललाई चुनौतीका रूपमा लिएर प्रतिस्पर्धाका रूपमा लिएको थियो । तर हामीले कसैलाई प्रतिस्पर्धी मानेका थिएनौँ । काङ्ग्रेस पार्टीले त सत्ताको दुरूपयोग गरेको छ । उसले पावर, पैसा, शासन, प्रशासन सबै प्रयोग गरेको थियो त्यही भएर त्यो पनि अलिकति आयो । यत्रो चलखेल गरेर यति सिट ल्याएका छन्, यसबाट प्रष्ट हुन्छ कि मधेसमा काङ्ग्रेसको जनाधार समाप्त भयो । काङ्ग्रेसले मधेसी जनतालाई पटक पटक धोका दिएका कारणले मधेसी जनता त्यसको परिणाम देखाएकै हो । काङ्ग्रेसले जसरी मधेस, लोकतन्त्र र काङ्ग्रेस भनेर सूत्र सुनाउने गर्थे अब त्यो दिन समाप्त भयो । मधेसीलाई एमाले पार्टी चाहिँदैन भन्ने सङ्केत प्रष्ट रूपमा आएको छ । मधेसी जनताले नारा नै लगाएको थियो, एमाले मुक्त मधेस । त्यो देखाइदियो । सविधान संशोधनमा एमालेले सघाएको भए अलिअलि सिट आउँथ्यो तर उसले त्यो पनि गुमायो । एमालेले मधेसको मुद्दा र एजेन्डाको बारेमा एकपटक सोचोस् । माओवादी केन्द्रले पनि सत्ताको दुरूपयोग गरेको हो । उनकै पार्टीका अहिले गृहमन्त्री हुनुहुन्छ, त्यसको व्यापक दुरूपयोग गरेका छन् ठाउँठाउँमा । पैसा दिएर उम्मेदवार खरिद गरी चुनावमा उठाएका छन् । अरूको उम्मेदवारलाई भड्काउने काम सो पार्टीबाट भएकै हो । माओवादीका अहिले जति आएको छ त्यो पनि बढी नै हो ।

विजयकुमार गच्छदार जस्ता व्यक्तिलाई पार्टीमा लिँदा त्यतिबेला पनि मलाई केही साथीहरूले भन्नुभएको थियो तर मैले त्यतिबेला त्यति ख्याल गरेको रहेनछु । उनीहरू आफै भागे । फोरम नेपालबाट भागेर गए पनि उनीहरूको हालत त्यस्तै छ ।

२०६४ सालकै रूपमा फोरम नेपाल पुनः फर्केको विश्लेषणहरू भइरहेका छन् नि, सही हो ?
–के विश्लेषण भइरहेका छन् त्यो त मलाई थाह छैन तर मधेसको मुक्ति फोरम नेपालबाट मात्र सम्भव हुन्छ भने कुरा मधेसी जनताले प्रमाणित गरिसकेका छन् । पहिलो मधेस आन्दोलन फोरम नेपालले गरेपछि मधेसी जनताको विश्वास प्रकट भएको थियो । तर, पार्टीमा केही गलत व्यक्तिको आगमनले ती जनतामाथि विश्वासघात भएको थियो । जनताको जनमतलाई दुरूपयोग गर्नेहरू नै फोरम नेपालमा हावी भएका थिए । त्यसले गर्दा बीचमा फोरम नेपाल केही कमजोर भएको सही हो । विस्तारै ती व्यक्तिहरू साइड लागेपछि फोरम नेपाल फेरि त्यही रूपमा आएको छ । जनताले फेरि विश्वास गरेका छन् । विजयकुमार गच्छदार जस्ता व्यक्तिलाई पार्टीमा लिँदा त्यतिबेला पनि मलाई केही साथीहरूले भन्नुभएको थियो तर मैले त्यतिबेला त्यति ख्याल गरेको रहेनछु । उनीहरू आफै भागे । फोरम नेपालबाट भागेर गए पनि उनीहरूको हालत त्यस्तै छ ।

मधेसी जनताले यतिका पत्याइसकेपछि अबका अगामी रणनीति के होला त ?
–पहिलो कुरा त देशमा आएको परिवर्तनलाई संस्थागत गर्ने नै हो । अहिले पनि सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्रमाथि कुदृष्टि लगाउनेहरू छन् । त्यसबाट सावधान रहनुपर्छ । संविधानमा रहेका त्रुटिलाई सच्याउँदै त्यसलाई कार्यान्वयन गराउनुपर्छ । अधिकार सम्मन्न प्रदेश निर्माण गरी आर्थिक विकास, सम्पन्नता र समृद्धिका लागि काम गर्नुपर्छ । अब पनि देशलाई आर्थिक समुन्नतितिर लगिएन भने धेरै ढिलो हुन्छ ।

मङ्सिरमा हुने प्रदेश र सङ्घका चुनावमा फोरम नेपाललाई यो स्थानीय चुनावको परिणामले सघाउने देखिएको  त होइन ?
–हो, यो परिणामले हामीलाई प्र्रदेश र सङ्घको चुनावमा अझै जिम्मेवार बनाएको छ । यसैको आधारमा हामीले चुनावी रणनीति बनाउँनेछाँै ।

अगामी चुनावका बारेमा कसैसँग तालमेल गर्ने सम्भावना हुन्छ कि हुँदैन ?
–अहिले नै त्यो कुरा भन्नु हतार हुन्छ तर विचार र सिद्धान्त मिल्नेहरूसँग तालमेल गर्ने ढोका सधैँ खुला रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप