ad
केन्द्रीय संस्करण
सन्तोष पन्तको जीवन

म अब मर्दै मर्दिनँ

person explore access_timeपुस २५, २०७७ chat_bubble_outline0

काठमाडौँ । एक समय टेलिभिजनका प्रख्यात अभिनेता हुन्– सन्तोष पन्त । धेरैले अहिले पनि उनलाई टेलिशृङ्खला ‘हिजोआजका कुरा’बाट चिन्ने गर्छन् । नेपाल टेलिभिजनको पर्दामा ६ सय ९९ भाग प्रसारणको कीर्तिमान बनाउन सफल शृङ्खलाले उठाउने समसामयिक विषयवस्तुले सबैको मन जित्ने गथ्र्यो ।

यसको अलवा अन्य थुप्रै शृङ्खला, नाटक, गाईजात्रा कार्यक्रममार्फत दर्शकको मानसपटलमा आफ्नो छुट्टै छवि बनाउन सफल पन्तले ६० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।

पछिल्लो समय रियालटी सो ‘कमेडी च्याम्पियनका’ निर्णायकसमेत रहेका पन्तले हालसालै ‘हिजोआजका कुरा’ नामक एक फिल्म निर्माण गरेका छन् । जुन प्रदर्शनको पर्खाइमा छ । ३ वर्षको उमेरदेखि कलाकारितामा रहेका पन्तले २५ वर्षको उमेरदेखि व्यावसायिक कलाकारिता थालेका थिए । जीवनको अन्तिम क्षणसँग पनि कलाकारितामै रमाउने बताउने पन्तले नेपालीका अलवा हलिउड र पाकिस्तानी फिल्ममा समेत काम गरेका छन् ।

कलाकारितामा दुःखभन्दा पनि सुखैसुख रहेको बताउने सन्तोष पन्तको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मेरो खाना

नेपाली खाना दाल, भात, तरकारी नै मनपर्छ । जाडो महिनामा चम्सुर पालुङ्गो र मासको दाल ठीक लाग्छ । मासुमा लोकल कुखुराको झोल र गोलभेँडाको अचार धेरै मनपर्छ । कोदाको ढिँडो पटक्कै मन पर्दैन ।

रेस्टुरेन्ट खासै जान्न । पकाउन रुचि छ । दलाभात तरकारी, मासु सबै प्रकारका परिकार पकाउन सक्छु । छोयला भने स्पेसल बनाउँछु ।

मेरो फिट्नेस

फिट्नेसका लागि सधैँ सजग छु । प्रत्येक दिन बिहान १० किलोमिटर मर्निङवाक गर्छु । कहिलेकाहीँ ब्याडमिन्टन पनि खेल्छु ।

मेरो पोसाक

पोसाकमा दौरासुरुवाल बढी मनपर्छ । विशेष कार्यक्रममा यही पहिरन लगाउँछु । अन्य समय कमिज, सुरुवाल लगाउँछु । ट्राभल, टुर जाँदा जिन्स पाइन्ट, टिसर्ट लगायत क्याजुअल ड्रेस पनि प्रयोग गर्छु । ढाकाको टोपी मेरो शिरमा सधैँ टल्कन्छ ।

मेरो मनपर्ने पहिरन रङ स्काई ब्लु हो । पहिरन सिलाएर नै लगाउने गर्छु । पहिरनमा ब्रान्ड हेर्दिनँ । मनपरेको किन्छु । पहिरनमा धेरै खर्च छैन । पहिरनका लागि वर्षको १० हजार मात्र छुट्याएको छु ।

मेरो अध्ययन

अध्ययन गर्न मनपर्छ । फुर्सद भयो कि राम्रा राम्रा उपन्यास पढ्छु । सामाजिक, हिस्टोरिकल किताबहरु बढी पढ्ने गर्छु । ‘प्रयोगशाला’ भन्ने पुस्तक हालै पढिसकेँ ।

२०/२५ वर्षअगाडि पढेको पुस्तक ‘शत्प्रयास’ फेरि पढ्दैछु केही दिनदेखि । घरमा किताब सङ्ग्रह त छैन । कतिपय किताब लेखकले दिनुहुन्छ । कतिपय लाइब्रेरीबाट ल्याएर पढ्छु ।

मेरो घुमफिर

घुमघाममा एकदमै रुचि छ । फुर्सद भयो कि घुम्न निस्कन्छु । म भर्खर पनि पोखरा, लमजुङको घलेगाउँ, चितवन लगायत केही स्थानमा घुमेर फर्किएको हुँ ।

देशको करिब ६५, ७० जिल्ला पुगेँ होला । विदेशमा हङ्कङ, युरोप, अमेरिका ७, ८ पटक, कोरिया र जापान २, ३ पटकलगायत १४, १५ देश पुग्न सफल भएको छु । अहिले साउथ अफ्रिका घुम्न मनलागेको छ । समयले साथ दियो भने जान्छु ।

मेरो फुर्सद

आफूले आफूलाई सकेसम्म फुर्सद राख्दिनँ । बिजी नै बनाउँछु । फुर्सद भयो भने घुम्न निस्किहाल्छु ।

 

मेरो खेलकुद

केही अगाडिसम्म ब्याडमिन्टन खेल्थेँ । पहिला म राम्रो पौडीबाज थिए । उमेरमा ड्राइभिङ कम्पिडिसन पनि धेरै गर्थें । त्यसमा फस्टका फस्ट आउँथे ।

खेलकुद पनि हेर्न मनपर्छ । फुटबल, ब्याडमिन्टन, टेबुल टेनिस हेर्छु । पहिले फुटबल पनि राम्रो खेल्थेँ ।

मेरो मोबाइल

अहिले मसँग आइफोन ११ ब्रान्डको एउटा मोबाइल छ । मोबाइलमा फोन गर्ने, युट्युव हेर्न, सामाजिक सञ्जाल, भाइबर, म्यासेन्जर, ह्वाट्सएप लगायत चलाउँछु ।

सकेसम्म मोबाइल फेर्न चाहान्नँ । घरका मानिसले धेरै पुरानो भयो भनेर आफैँ फेरिदिन्छन् । यस अगाडि आइफोन फोर थियो । त्यो करिब ८, ९ वर्ष चलाएँ । समय पुगेपछि मोबाइल आफँै बिग्रिँदो रहेछ । त्यसपछि फेरेको हो ।

मेरो टिभी

टिभी हेर्न मनलाग्छ । बिहान, बेलुका दुवै समय हेर्छु । देशविदेशका समाचार, सावधान इन्डिया, क्राइम पेट्रोल, टक सो हेर्छु । टक सो एभिन्युज टेलिभिजन र सगरमाथाको हेर्छु ।

नेपाल आइडल, कमेडी च्याम्पियन लगायत सो हेर्छु । टिभीमा फिल्म पनि हेर्छु । मेरो घरमा ४० इन्चको टिभी छ । ब्रान्ड थाहा भएन ।

मेरो चलचित्र

फिल्म हेर्छु, मनपर्छ । पछिल्लो समय हेरेको फिल्म ‘सेन्टिभाइरस’ हो । टिभी र हल दुवैमा फिल्म हेर्ने गरेको छु ।

मैले पनि एक फिल्म बनाएको छु । नाम हो ‘हिजोआजका कुरा’ । यो प्रदर्शनमा आउन बाँकी छ । अहिलेसम्म हेरेमध्ये धेरै मनपरेको फिल्म ‘वासुदेव’ हो ।

मेरो पेसा

जागिर आर्मीमा खाएको थिएँ तर मेरो मुख्य पेसा कलाकारिता हो । कलाकारिता व्यावसायिक रूपमा अगाडि बढाएको २५ वर्षको उमेरदेखि हो । कलाकारितामा सोखले सानै उमेरदेखि स्टेजबाट थालेको थिएँ ।

म स्टेज हुँदै सानो पर्दा र ठूलो पर्दाको अभिनयमा भित्रिएको हुँ । करिब ९ सयभन्दा बढी भागको सानो पर्दाको सिरियल गरेको छु । हिजोआजको कुरा नै ६९९, नरिसाउनु है २२ भाग गरेँ भने अन्य सिरियल पनि धेरै छन् ।

१० वर्षसम्म गाईजात्रा महोत्सव कार्यक्रममा म सधैँ उत्कृष्टमा पथेँ ।

अभिनय गरेका नाटक थुप्रै छन् । फिल्म नै ६० भन्दा बढी भए होला । मैले हलिउड र पाकिस्तानी फिल्ममा समेत अभिनय गरेको छु । हिन्दी फिल्म खेलेको छैन । पाए त्यो पनि खेल्छु ।

मेरा दुःख, सुख  

म कलाकार हुँ । त्यो हिसाबले भन्ने हो भने  कलाकारितामा मैले अहिलेसम्म दुःख पाएकै छैन । कलाकारितामा सुखैसुख छ ।

समाजमा हामीलाई भित्री आत्मादेखि जुन सम्मान, माया दिइन्छ त्यो सबैभन्दा ठूलो सुख हो । अन्यले खाने नमस्कार करको हो । त्यो स्वर्थका लागि गरेका हुन् । हामीलाई गरेको नमस्कार सम्मान हो । त्यसमा धेरै सुख छ ।

मेरो घर

अहिले धापासी हाइटमा मेरा २ वटा घर छन् । त्यो आफैँले बनाएको हुँ । पुख्र्याैली घर नयाँ बजारमा थियो । १५० वर्षभन्दा पहिले हामी गोर्खामा थियौँ रे । त्यहाँबाट काठमाडौँ आएका भन्छन् ।

अहिले बस्दै आएको घर आफैँले बनाएको हुँ । दुवै नेपाली डिजाइनअनुसार बनाएको छु । वास्तुशास्त्र सबै मिलाएको छ ।

मेरो सपना

सपना धेरै छन् । राम्रो राम्रो फिल्म बनाउन पाए हुन्थ्यो भन्ने पनि छ ।

समाज परिवर्तका लागि हामीले चलचित्रका माध्यमबाट धेरै गर्नुछ । उत्कृष्ट र फरक फरक अभिनय गर्ने हामी कलाकारको इच्छा सधैँ भइरहन्छ । कलाकारको यो सपना मृत्यु शय्यामा मात्र इन्ड हुन्छ । नत्र कहिल्यै सकिन्न । एकपछि अर्काे उत्कृष्ट भूमिकाको चाहना भइरहन्छ ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत सुन्छु । धेरै मनपर्छ । नरायण गोपाल, बच्चुकैलाश, रफी, किशोर कुमारलगायतका गीत धेरै मनपर्छ, सुन्छु ।

अहिलेसम्म आफैँले गाएर गीत रेकर्ड गराएको छैन । तर साथीभाइको माहोलमा, मापसे गरेको समय मज्जाले गाउँछु ।

मेरो भुल           

भुल नगर्ने मानिस जीवनमा सायदै होलान् । जीवनमा जानी नजानी भुल पनि धेरै भए होलान् । सधैँ सम्झने, पछुताउनुपर्ने भुल मबाट भएका छैनन् । अर्कालाई विश्वास गर्दा धेरै पटक मैले पछुतो मान्नुपरेको छ । त्यो नै होला मेरो पछुतो पर्ने भुल ।

मेरो रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । डाइबेटिज भन्ने छ । यो रोगले सताएको १५ वर्ष भयो । यसको नियमित औषधि खाँदैछु ।

यो रोग मुमामा थियो । उहाँपछि हाम्रो परिवार सबैमा आएको छ । नियमित एक्सरसाइज गर्ने भएकाले यसले खासै असर पारेको छैन । ६ महिनादेखि वर्ष दिनभित्र होलबडी चेकअप गर्ने गरेको छु ।

मेरो मापसे

म मापसे गर्छु । मिलेसम्म नियमित नै गर्छु । मेरो मापसेको ब्रान्ड ह्विस्की हो । पहिले घरमा धेरै प्रकारको मापसे सजाएर राख्नेगर्थें । अहिले भने छैन ।

मेरो राशि

मेरो राशि मेष हो । ग्रहदशामा विश्वास लाग्छ । देखाउने, हेराउने, जुराउने सबै गर्छु । अब्ठ्यारो परिस्थिति भयो कि देखाउँछु पनि ।

राशिको हिसावले हेराएर एउटा एउटा मुगा राखेर औँठीसमेत लगाएको छु ।

मेरो मृत्यु

मृत्यु एक अन्तिम सत्य हो । ध्रुव सत्य हो । कसैले टार्न नसक्ने कुरो हो । त्यसलाई सजिलै स्वीकार्छु म पनि । म अब मर्दैमर्दिनँ । किनभने मैले अमर हुने गरेर सन्तोष पन्तको नाम राखिसकेँ । त्यसले सधैँ बचाउँछ ।

यो भौतिक शरीरको के भर होला । मर्ने पनि भौतिक शरीर हो । समयमा आउँछ । समय पुगेपछि जान्छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.