शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झण्डै तीन दशक लामो विरासत बोकेको यती कार्पेट पुनः स्थापना

‘आशा छ फेरि पहिलेजस्तै बजार साख फर्काउनेछौँ’
आइतबार, २६ पुस २०७७, १२ : ५२
आइतबार, २६ पुस २०७७

काठमाडौँ । कुनैबेला नेपाली बजारमा यती कार्पेटको निकै जगजगी थियो । कार्पेट भनेकै यती भने जस्तै थियो । हरेक उपभोक्ताको रोजाइ यती नै हुने गथ्र्यो । स्वदेशी लगानी, उत्कृष्ट उत्पादन सबैको मनमा बस्न सफल थियो । कुल बजार हिस्साको करिब ७० प्रतिशत हिस्सा यतिकै थियो ।

त्यसो त केही वर्षअघिसम्म नेपालमा मात्र होइन भारतीय बजारमा समेत यतिको माग ठूलो थियो । नेपाली उत्पादन ठूलो परिमाणमा यती कार्पेट भारत निकासी हुनेगथ्र्यो ।

तर यस्तो सफलताको विरासत बोकेको कम्पनीमा अकस्मात बज्रपात आइलाग्यो । वि.संं. २०४८÷४९ सालबाट कार्पेट उत्पादन थालेको फ्याक्ट्रीमा ७३/७४ मा भिषण आगलागी भयो । भक्तपुर सल्लाघारीमा रहेको यती कार्पेट फ्याक्ट्री आगलागीका कारण पूर्णतः ध्वस्त हुनपुग्यो । त्यसपछि कम्पनी पुनः स्थापना हुन निकै समय लाग्यो ।

यती कार्पेटका मालिक अनिल केडिया भन्छन्–“जे नहुनु थियो भइ नै हाल्यो । अब फेरि उत्पादनमा फर्किन्न भन्ने थियो । फेरि बैङ्कको ऋण माग, संरचना तयार गर, व्यवस्थापन गर, मलाई त्यो जोश जाँगर पनि थिएन । तर पछि सबैले कम्पनी पुनः स्थापना गर्नुपर्छ, बुवाबाजेको विरासत जोगाउनुपर्छ भन्न थाले । त्यसपछि  लौन त भनेर पुनः फ्याक्ट्री सुरु गरेँ ।” केडिया अर्गनाइजेसन अन्तर्गतको यती कार्पेट आगलागीका कारण ध्वस्त भएपछि भने कम्पनी पुनः सञ्चालन हुन झण्डै ४ वर्ष नै लाग्यो । अहिले कम्पनीले पुनः फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । थप श्रम, पुँजी तथा नवीन टेक्नोलोजीका साथ कम्पनीले जितपुर, सिमरामा उद्योग स्थापना गरी पुनः उत्पादन सुरु गरेको छ । लामो अन्तरालपछिको पुनः उत्पादनमा गएको कम्पनी केकसरी अघि बढिरहेको छ त ? यती कार्पेटका मालिक तथा कम्पनीका अध्यक्ष अनिल केडियासँग रातोपाटीका लागि प्रयास श्रेष्ठले लिएको यो सङ्क्षिप्त वार्ताः

लामो इतिहास बोकेको यती कार्पेटले बीचमा जुन दुर्दशा भोग्नुप-यो, त्यसपछि त कम्पनी पुनः स्थापना हुन झण्डै ४ वर्ष नै कुर्नुप-यो । अहिले फेरि तपाईंहरु उत्पादनमा जाने प्रयत्न गर्दै हुनुहुन्छ । कसरी अघि बढ्दै हुनुहुन्छ ?

हामीले फ्याक्ट्री पुनः सुरु गरेको त्यति धेरै समय भएको छैन । यस्तै ३, ४ महिना जति मात्र भएको छ । भक्तपुरबाट सुरु भएको यती कार्पेटको उत्पादन फ्याक्ट्री अहिले जितपुर सिमराबाट सुरु गरेका छौँ । झन्डै ६५ रोपनी जग्गामा दुईवटा ठूला प्लान्टमार्फत उत्पादनमा जाने प्रयत्न गरेका छौँ । भर्खभर्खर कम्पनी उत्पादनमा जान थालेकाले अहिले नै बजारमा प्रोडक्ट पठाइसकेका छैनौँ । बजारको माग, आवश्यकता र वितरणको च्यानलको समेत व्यवस्थापन गर्नुपर्ने छ । फेरि पूर्णतः कम्पनी उत्पादनमा गइसकेकोे पनि छैन । अहिले हामी परीक्षणकालमै छौँ । अब के–कसरी अघि बढ्ने भन्ने कुरा बजारको माग र प्रतिक्रियाले निर्धारण गर्नेछ । हामी सोही बमोजिम अघि बढ्नेछौँ ।

लगानी कति गर्नुभएको छ ? पहिले कम्पनी सुरु गर्दा र अहिले के भिन्नता पाउनुहुन्छ ?

पहिले र अहिलेको त अकाश–जमिनकै फरक छ नि । हामीले ४८/४९ सालमा फ्याक्ट्री सुरुवात गर्दा जम्मा ४, ५ करोडमै उत्पादन सुरु गरेका थियौँ होला । तर अहिले त्यस्तो अवस्था छैन । पनि त्यो बेलामा हामीले ४, ५ रोपनी जग्गामा नै फ्याक्ट्री चलाएका थियौँ । तर अहिले कुल ६५ रोपनी जग्गामा उच्च स्तरीय प्रविधिसहित नयाँ फ्याक्ट्री सुरु गरेका छौँ । पहिलेको तुलनामा त अहिले १० वटा फ्याक्ट्रीभन्दा पनि हुन्छ । जहाँ हामी जर्मन प्रविधिमा आधारित उच्च टेक्नोलिजीका मेसिनहरुको प्रयोग गरेका छौँ । अहिले हामीले नन् ओभन प्रविधिमार्फत कार्पेटहरुको उत्पादन गरिरहेका छौँ । फ्याक्ट्रीमा ५० करोडको पुँजी लगानी छ ।

उत्पादन कति छ । वार्षिक वा मासिक टार्गेट कति राख्नुभएको छ ?

हामीले फ्याक्ट्रीको उत्पादन यतिउति भन्नुभन्दा पनि बजारको मागले निर्धारण गर्ने कुरा हो । कति उत्पादन गर्ने र कति बजारमा पठाउने भन्ने कुरा मागका आधारमा हुन्छ । अहिले हामीले उत्पादनको सुरुवाती चरणमा छौँ । बजारले जति रुचाउँछ, जति डिमान्ड आउँछ सोहीअनुसार उत्पादन दिने हो । त्यसका लागि हामी पूर्णतः सक्षम छौँ ।

एकताका यतिको बजार निकै राम्रो थियो । कार्पेट भनेकै यती भनेजस्तै थियो । यद्यपि अहिले पनि धेरैको चाहना यती नै रहेको पाइन्छ । तर बजार सेयरिङका हिसाबले अहिले धेरै ब्रान्ड तथा कम्पनीहरुको बजारमा प्रतिस्पर्धा छ । पहिलेको बजार लिन कत्तिको सहज मान्नु हुन्छ ?

प्रतिस्पर्धा, बजार सेयरिङ नहुने भन्ने कुरा त हुँदैहुँदैन नि । अहिलेको प्रतिस्पर्धी बजारमा एकसे एक उत्पादन छन् । त्यसमा कति स्वदेशी छन् त कति विदेशी । प्रतिस्पर्धाको हिसाबमा यी सबै चुनौतीका विषय हुन् । मेरो ब्रान्ड राम्रो छ, मेरो पहिलेको विरासत राम्रो छ भनेर हात बाँधेर बस्ने अवस्था छैन ।

उदाहरणका लागि पहिले पहिले गाडीमा टोयोटा, मित्सुबिसीकै बजार एकाधिकार जस्तो थियो । मोटरसाइकलमा हिरो होन्डा मात्र मोटरसाइकल हो भनेजस्तो थियो । तर अहिले परिस्थिति बदलिएको छ । पहिलेका टोयोटाहरु पछि परे । अहिले त्यस्ता थुप्रै गाडीका ब्रान्ड बजारमा छन् । त्यस्तै मोटरसाइकलमा पनि दर्जनौँ ब्रान्ड बजारमा छन् । बजार सेयरिङका हिसाबले ती सबै एकअर्काका लागि प्रतिस्पर्धी ब्रान्ड हुन् । त्यस्तै अहिले हामीले पनि हाम्रो ब्रान्ड राम्रो छ, उत्पादन राम्रो छ भनेर बस्ने अवस्था छैन । प्रतिस्पर्धी बजारमा आफूलाई अपग्रेड गरेर अगाडि लैजानुछ ।

त्यसो त पहिले यती ब्रान्ड नेपालमा मात्र नभएर भारतमा समेत उत्कृष्ट मानिएको ब्रान्ड हो । हामीले भारतमा भन्दाअघि नेपालीमा उद्योग स्थापना गरेर उत्पादन सुरु गरेका थियौँ । तर अहिले सबैतिर प्रतिस्पर्धा छ ।

पहिले बजार रिसर्च गरेर उत्पादन थालनी गर्नुभएको थियो कि त्यतिकै ?

केको रिसर्च हुनु ? यसो बजार हेर्यो, यसो गर्दा हुन्छ कि भन्ने भयो र उत्पादन सुरु गरियो । पछि त्यसैमा सफलता मिल्यो । भन्ने नै हो भने, जुन बेला हामीले उत्पादन सुरु ग¥यौँ त्यो बेला मेरो आफ्नै बुवासँग प्रतिस्पर्धा जस्तो प¥यो । मेरो बुवा शङ्करलाल केडियाले यहीँ कम्पनी स्थापना गरेर कार्पेट उत्पादन सुरु गर्नुभयो । तर मैले विदेशबाट आयात गरेर बेच्थेँ । बुवा र म बीचमा एकखालको प्रतिस्पर्धा जस्तै चल्यो । तर पछि बुवाको देहवासन भयो । त्यसपछि भने मैले फ्याक्ट्री सम्हालेँ ।

बजार राम्रै थियो । राम्रै भइरहेको थियो । उपभोक्ताहरुले यती कार्पेटलाई निकै रुचाइरहेका थिए । तर अकस्मात २०७४ तिर हाम्रो फ्याक्ट्रीमा आगलागी भयो । क्षणभरमै सबै ध्वस्त भए । त्यसपछि भने पुनः फ्याक्ट्री चलाउने आँट ममा आएन । त्यसै पनि जीवनको उत्तरार्धतिर आइपुगिहालेँ, अब दुःख नगर्ने मेरो मनासाय थियो ।

जे नहुनु थियो भइ नै हाल्यो । अब फेरि उत्पादनमा फर्किन्न भन्ने थियो । फेरि बैङ्कको लोन लिन, संरचना तयार गर्न, व्यवस्थापन गर्न, मलाई जोश जाँगर पनि थिएन । तर पछि सबैले कम्पनी पुनः स्थापना गर्नुपर्छ । बुवाबाजेको विरासत जोगाउनुपर्छ भन्न थाले । त्यसपछि हो लौन त भनेर पुनः फ्याक्ट्री सुरु गरेको । अहिले हामीले मसहित ४ जनाको संयुक्त लगानीमा फेरि यती कार्पेटको उत्पादन सुरु गरेका छौँ । आशा छ फेरि पहिलेजस्तै बजार साख फर्काउनेछौँ ।

बाँकी भिडियो मार्फतः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप