शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनुर्मास पूजापछि पशुपतिनाथको ढोका बन्द

आइतबार, २६ पुस २०७७, १३ : ४८
आइतबार, २६ पुस २०७७

काठमाडौं । पशुपतिनाथलाई जाडोबाट जोगाउन २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरेसँगै  मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मासअनुसार पुस परेको दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । 

शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टा पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा गरिएको थियो । पूजा सकिएसँगै मन्दिरको मूलढोका बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिए । 

आज बेलुकी आरती गर्नमात्र मन्दिरको ढोका खोलिनेछ । भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरी आदिकालदेखि मनाउँदै आएको धनुर्मास पर्व सम्पन्न भएको छ ।  पुस १५ देखि पुस २९ गतेसम्म सौर र चान्द्र दुवै गणना पद्धतिअनुसार पुस महिना परेको छ ।

पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर, खिचडीलगायत प्रसादका रुपमा चढाउने परम्परा छ । पशुपतिनाथलाई चढाउने खिचडी बनाउँदा दालको आधा चामल र चामलको आधा घिउ हाल्नुपर्ने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुरप्रसाद पौडेलले जानकारी दिए । 

पूजामा पशुपतिनाथका मूलभट्ट, पशुपतिनाथ अमालकोट कचहरीका द्वारेलगायत सहभागी हुनुभएको जनाइएको छ । धनुर्मास पूजा सकिएपछि आज बिहान ६ः०० बजेदेखि शिवपार्वती पनि घाम ताप्न जाने विश्वासमा मन्दिर बन्द गर्ने गरिएको हो । धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोगसमेत लाग्दैन ।

मानव शरीरमा भएका विभिन्न चक्रलाई खुशी पार्न महिनाअनुसारका खाद्य परिकारको वर्णन शास्त्रमा गरिएको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भनिएको प्राध्यापक पौडेल बताउँछन् । विगत वर्षमा धनुर्मास पूजामा विशेष पूजा गर्ने भक्तजनबाट रसिद काटेर गराइने गरिएकामा यस वर्ष पूजाको विधि पूरा गरी अन्य भक्तजनको पूजा नगराइएको कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।

पूजापछि भगवान् शिव पार्वतीसहित कैलाशमा घाम ताप्न जाने भएकाले ढोका बन्द गर्ने गरिएको उनले सुनाए । तन्त्र शास्त्रमा धनुर्मास पूजा विधिका बारेमा उल्लेख गरिएको जनाइएको छ । पशुपतिनाथ मन्दिरमा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा आराधना हुँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप