बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँं–तिहारका लागि मोरङमा नौसय प्रहरी परिचालन

बुधबार, ११ असोज २०७४, १३ : १२
बुधबार, ११ असोज २०७४

उर्लाबारी । दशैँं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर मोरङमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । 

चाडपर्व विशेष सुरक्षाका लागि जिल्लामा नौसय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विष्णुहरि कोइरालाले जानकारी दिए । 

चाडपर्वमा कुनै पनि अप्रिय घटना र अवाञ्छित गतिविधि नहोस् भनेर ठूलो संख्यामा २४ सै घण्टा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । कोइरालाका अनुसार जिल्ला प्रशासन कार्यालय, अन्य सुरक्षा निकाय तथा सरोकारवाला संघसंस्था तथा निकायसँग समन्वय एवं सहकार्य गरेर चाडपर्व लक्षित सुरक्षा व्यवस्था मिलाइएको हो । 

यसका लागि सामुदायिक सेवा केन्द्र, टोल सुरक्षा समितिलगायतबाट जनचेतनामूलक कार्यक्रमसमेत गरिएको छ । विशेष गरेर भारतसँग सीमा जोडिएका स्थानलाई प्राथमिकतामा राखेर उच्च सुरक्षा सतर्कता अपनाइएको मोरङ प्रहरीले जनाएको छ । 

चाडपर्वलाई लक्षित गर्दै मानवीय चहलपहल र भीडभाड बढी हुने स्थानमा मोबाइल गस्ती पनि बढाइएको छ । सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक कोइरालाले विराटनगर महानगरपालिकाभित्र पाँचवटा र मोरङभरी १४ वटा मोबाइल गस्ती परिचालन गरिएको बताए । 

त्यस्तै, मोटरसाइकल, साइकल र पैदलगस्तीको व्यवस्था पनि गरिएको छ । बैंक तथा वित्तीय संस्था, धार्मिकस्थल एवं महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाका लागि १४ वटा अलगअलग टोली परिचालन गरिएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप