मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्पलाई जर्जियाको सन्देश – विभाजनकारी राजनीति टिक्दैन

बुधबार, २९ पुस २०७७, १४ : ०७
बुधबार, २९ पुस २०७७

जोन ओसअफ ३३ वर्षका भए । सन् १९७३ मा जो बाइडेनपछि उनी सबैभन्दा कान्छो उमेरमा सिनेटर बन्ने व्यक्ति हुन्, तत्कालीन समय २९ वर्षमै बाइडेन निर्वाचित भएका थिए । ओस अफ रिपब्लिकनहरुको गढ मानिएको जर्जिया राज्यबाट विजयी भएका छन् र संयोगवस यसपटक जर्जियाका दुबै सिटमा डेमोक्रेटिक पार्टीका उम्मेदवारहरु विजयी भएका छन् । 

अर्को, क्षेत्रबाट राफेल वार्नोक विजयी भए । वार्नोकको नाममा पनि कीर्तिमान बनिसकेको छ । उनी जर्जियाबाट निर्वाचित हुने पहिलो अस्वेत र समग्रमा अमेरिकाको सिनेटर निर्वाचित हुने ११ औं अस्वेत हुन् । अमेरिकामा डोनाल्ड ट्रम्पले स्वेत सर्वोच्चतावादको आडमा राजनीति गरिरहेको समय परम्परागत रुपमा दासप्रथा पक्षधर राज्य मानिएको जर्जियाबाट यस्तो परिवर्तनको लहर आउनु उदाहरवादीहरुका लागि उत्साहप्रद छ । दास प्रथा उन्मुलन गर्ने तत्कालीन राष्ट्रपति अब्राहम लिंकनको निर्णयको विरोधमा सन् १८६१ देखि १८६५ सम्म अमेरिकामा गृहयुद्ध चलेको थियो । र, दास प्रथा कायम राख्न पाउनुपर्ने माग गर्दै केन्द्रविरुद्ध विद्रोह गर्ने ११ राज्यमध्ये एक जर्जिया थियो । यसपटक स्वेत सर्वोच्चतावादको छाया अमेरिकाभर मडारिरहेका बेला भने जर्जियाले विलकुल फरक मत दिएको छ, निर्णायक लडाँइमा उसले उदारवादीहरुका पक्षमा आफूलाई उभ्याएको छ । यसअघि गत नोभेम्बरमै चुनाव हारिसकेका राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टीलाई जर्जियाको मतपरिणामले ठूलो झट्का दिएको छ, राष्ट्रपति पद गुमाएपनि उनीहरु कम्तिमा सिनेटमा आफ्नो वर्चश्व कायम राख्न चाहन्थें । अमेरिकामा दुई सदन छन् । तल्लो सदन (हाउस) र माथिल्लो सदन सिनेट । 

हाउसमा डेमोक्रेट्रिक पार्टीको बहुमत छ । तर, सिनेटका १ सयमध्ये ९८ सिटको निर्वाचन भइसक्दा रिपब्लिकन पार्टीको ५० सिट थियो । तर, जर्जियाको निर्वाचनपछि डेमोक्रेटिक पार्टीको पनि समान ५० सिट पुगेको छ । अमेरिकामा महत्वपूर्ण विधेयक र नीति–नियमहरु संसद्को तल्लो र माथिल्लो सदन दुबैबाट पारित हुनुपर्छ । माथिल्लो सदनमा मत बराबरी रहेको अवस्थामा सिनेटका अध्यक्षले पनि मत खसाल्न पाउँछन् । अमेरिकी उपराष्ट्रपति सिनेटको अध्यक्ष रहन्छन्, डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित भइसकेकी छिन् र २० जनवरीमा उनले राष्ट्रपति जो बाइडेनसँग पदको सपथ लिनेछिन् । त्यसैले जर्जियाको दुई सिट जितेपछि सिनेटमा रिपब्लिकनसँग मत बराबरी गरेको डेमोक्रेट्रिक पार्टी उपराष्ट्रपति कमला ह्यारिसको मतमार्फत आफ्ना महत्वपूर्ण नीति निर्णय पारित गर्नसक्ने अवस्थामा पुगेको छ । यसले जो बाइडेनलाई अझै शक्तिशाली बनाएको छ । 

अब कुरा गरौँ, ओसअफकै यी ३३ वर्षका युवा पहिले पत्रकार र डकुमेन्ट्री फिल्ममेकर थिए । उनलाई राजनीतिमा  जोन लुुईसले ‘इन्डोर्स’ अर्थात् मरिमेटेर समर्थन गरेका हुन् । यी युवाको फराकिलो राजनीतिक चेत, उदार हृदय र उज्वल भविष्य देखेरै जोन लुुईसले उनलाई अघि सारेका हुन् ।  गत जुलाईमा निधन भएका लुुईस अमेरिकी जनअधिकारको पक्षमा १९६० को दशकमा मार्टिन लुथर किङको नेतृत्वबाट भएको प्रदर्शनमा महत्वपूर्ण भूमिकामा थिए । यी सामाजिक अभियन्ता तथा राजनीतिज्ञ १९८७ देखि आफ्नो मृत्यु हुँदासम्म जर्जियाबाट निरन्तर तल्लो सदन (हाउस) मा चुनिएका थिए । ओसअफ पनि जनाधिकारका पक्षधर हुन् । अस्वेत, आप्रवासी, हिस्प्यानिकहरुले पनि गोराहरुझैं अधिकार पाउनुपर्छ भन्ने उनको मान्यता छ । उनले निर्वाचन अभियानताका पनि जोन लुईसको फोटो र विचार अंकित ब्यानरहरु प्रदर्शन गरेका थिए । यहीकारण रिपब्लिकन पार्टीको स्वेत सर्वोच्चतावादी सोचलाई परास्त गर्न र उदारवादीहरुलाई मत खसाल्नका लागि यसपटक ठूलो संख्यामा अस्वेत र हिस्प्यानिकहरु एकढिक्का भए ।  जबकी, मताधिकार हुँदा हुँदै पनि यो जनसंख्याको ठूलो हिस्सा विगतमा भोट खसाल्न चाहँदैन थियो  । अर्कोतर्फ, एशियाली आप्रवासीहरुको भूमिका पनि डेमोक्रेटिकलाई जित दिलाउन महत्वपूर्ण रह्यो । 

जस्तो, सानै संख्यामा रहेपनि मतदान अधिकार भएका प्राय नेपालीहरुले डेमोक्रेटिकलाई नै मत खसाल्ने गर्छन् । भारतीय, पाकिस्तानी, बंगलादेशी, चिनियाँ, मध्यपूर्वलगायतका देशका आप्रवासीहरु भने यहाँ ठूलो संख्यामा छन् र यी सबै एक ढिक्का हुँदा नतिजा केही न केही हदसम्म फरक पर्छ । ट्रम्पले हिस्प्यानिक र अस्वेत जसरी नै आप्रवासी र एशियालीहरुलाई पनि चिढ्याउने काम गरेकाले यसपटक आप्रवासीहरु पनि अस्वेतझै एकढिक्का भएर उनीविरुद्ध लागेका थिए ।  

यसपटक अमेरिकाभर नै यही भयो र जर्जियामा पनि दोहोरियो । किनकी, अपवादबाहेक प्राय प्रतिबद्ध भोटर्स र कार्यकर्ताहरुले सधैं एउटै पार्टी ( रिपब्लिकन वा डेमोक्रेटिक) लाई नै भोट खसाल्छन् । र, धेरैजसो राज्यमा यस्ता प्रतिवद्ध भोटर्सहरुकै बाहुल्यता रहने भएकाले कसले जित्छ भनेर पहिल्यै अनुमान भइसकेको हुन्छ । केही राज्यमा भने  ’स्विङ्ग’ भोटर्स (जता पनि मत खसाल्न सक्ने ) निर्णायक हुन्छन् । उनीहरुलाई जसले आकर्षित गर्नसक्छ, उतै भोट खसाल्छन् । स्विङ्ग भोटर्सको संख्या ठूलो भएकैले यसपटक जर्जियालाई ब्याटलग्राउन्ड स्टेट मानिएको थियो । र, यहाँ डेमोक्रेटिक पार्टीको पक्षमा जनलहर देखियो । 

यसका पछाडि पहिलो कारण ट्रम्पको दमनकारी नीति हो भने अर्को कारण स्टिमुलस चेक हो । अमेरिकाको तल्लो सदनबाट कोरोना प्रभावित प्रतिपरिवारलाई २ हजार डलर दिने निर्णय पार भइसकेपनि यसले माथिल्लो सदन सिनेटबाट स्वीकृति पाउन बाँकी थियो र डेमोक्रेटिक पार्टीले सिनेमा आफ्नो बहुमत भएमा यो रकम पारित गर्ने योजना सुनाएको थियो । ओस अफ र वार्नोकको विजयको अर्को महत्वपूर्ण कारण यो पनि हो किनकी अमेरिकामा कोरोनाका कारण ठूलो जनसंख्या बेरोजगार छ । झन्डै ३ करोडले रोजगारी गुमाइसकेका छन् । यस्तो अवस्थामा सिधैं बैंक खातामा सरकारबाट आउने रकमले जनताका लागि ठूलो अर्थ राख्छ, मनी स्पिक्स भनेझैं । 
ओबामा केयर स्वास्थ बिमाको निरन्तरता, कागजविहीन आप्रवासीहरुलाई नागरिकताको बाटो खुकुलो गर्ने, अमेरिकामा कामदारको संघीय आय कम्तिमा १५ डलर तोक्नेलगायत योजना डेमोक्रेटिक पार्टीको पक्षमा लहर सिर्जना हुनुका अन्य कारण हुन् । 

सारमा, वार्नोक र ओसअफको जीतले अमेरिकामा उदारवादीहरुको पक्षमा लहर सिर्जना गरेको छ । एकातर्फ, राष्ट्रपति ट्रम्पकै निर्देशनपछि वासिङटस्थित क्यापिटोल विल्डिङ (संसद् भवन) घेर्न गएको भीडले देखाएको ताण्डव र मच्चाएको हिंसाका कारण अमेरिकाले ठूलो बेइज्जती सामना गरिरहेको छ, अर्कोतर्फ वार्नोक र ओसअफको विजयले उज्वल भविष्यको पनि संकेत गरेको छ । स्वेत सर्वोच्चतावादी ट्रम्पका कारण त्रासमा बाँचिरहेका अस्वेत, आप्रवासी, हिस्प्यानिकलगायत जनसंख्याले उदारवादीहरु राष्ट्रपतिसँगै उदारवादीहरुको बाहुल्यता रहेको संसद् पाउने पनि तय भएको छ । ट्रम्पको नश्लिय चिन्तन र विभाजनकारी राजनीति परास्त भएको छ र अमेरिका ‘विश्वभरका आप्रवासीहरुको घर हो’ भन्ने सन्देश फेरि प्रवाह भएको छ ।

गोरा र कालाको नाममा जनता भिडाएर राजनीति गर्न पल्केका ट्रम्प र उनका समर्थकहरुलाई सधैं त्यसरी राजनीतिक चल्दैन भन्ने सन्देश यस मतपरिणामले दिएको छ । अमेरिकाको हाउस र सिनेट दुबैमा डेमोक्रेट्रिक पार्टीको पकड रहेकाले जो बाइडेनले जनताका पक्षमा महत्वपूर्ण निर्णयहरु सहज रुपमा पारित गराउनसक्छन् । महामारीको प्रभाव न्युनिकरण गर्ने सवाल, देशको स्वास्थ क्षेत्रमा सुधार, उद्योगीहरुका समस्या, रोजगारी सिर्जना, समान अधिकारलगायतका मुद्दामा गम्भिर देखिएका बाइडेनले ट्रम्प कार्यकालमा धरासायी भएको अमेरिकालाई उकास्ने अपेक्षा गरिएको छ । यो यात्रामा आप्रवासी मुलकी उपराष्ट्रपति कमला ह्यारिससँगै अस्वेत राफेल वार्नोक र ओस अफजस्ता उदार मत राख्ने विधायकहरुको भूमिका अवश्य नै महत्वूर्ण हुनेछ ।

(अमेरिकाको एटलान्टा निवासी राजा घले दक्षिण–पूर्वी क्षेत्रका लागि नेपालका मानार्थ पर्यटन दूत तथा सामाजिक अभियन्ता हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजा घले
राजा घले
लेखकबाट थप