शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुरु भयो जागिर दिने मेला, ३ हजारलाई जागिर दिने योजना

बिहीबार, ०१ माघ २०७७, १५ : ५८
बिहीबार, ०१ माघ २०७७

रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा सुरु भएको छ । 
जब फेयर २०२१ को पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई संवोधन गर्दै पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले जब फेयर २०२१ जागिर चाहने र रोजगारी दिन तयार रोजनगारदाताहरुका लागि उपयुक्त थलो बन्ने विश्वास व्यक्त गरे । 

भित्रैबाट मुलुकको विकासको चाहना राख्ने हो भने विकास असंभव नरहेको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले बाहिर बसेर चाहना राख्दैमा केही नहुने उल्लेख गरे । 
उनले सरकारप्रति लक्षित गर्दै भने ‘ताप्केको बिड तातेर केही हुँदैन–माछा पाक्न ताप्के नै तात्नुपर्छ तर नेपालमा ताप्के तात्दै तात्दैन, कसरी तताउने भन्ने नै अहिलेको मुख्य समस्या हो ।’ 

प्रधानमन्त्री के.पी शर्मा ओलीप्रति इंगित गर्दै पूर्व प्रधानमन्त्री नेपालले भने, ‘जसको ह्रदयमा विशालता हुँदैन, आत्मकेन्द्रित चिन्तन हावी हुन्छ, समस्याबारे अवगत भएर पनि विष्लेषण गरी समाधानतर्फ अग्रसरता देखाइदैन समस्या यसैबाट गहिरिदै जान्छ, अहिले भएको पनि यही हो ।’  

आफुले मुलुकमा सामाजिक न्याय सहितको समृद्धिको परिकल्पना गरेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले मिठो कुराले मात्रै युवामा आशा नजाग्ने उल्लेख गरे । 
उद्घाटन समारोहमा रोजगार विज्ञ प्रा.डा. रमेशप्रसाद कोइरालाले स्वदेशमा रोजगार सिर्जना गर्नका  वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गरे  । त्यसका लागि द्धिपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (विप्पा) तथा दोहोरो कर मुक्ति सम्झौता ( डिटिएए) जस्ता कानुनी प्रावधानमा सरकार स्पष्ट हुन जरुरी रहेको उनको भनाइ छ । 

त्यस्तै, समारोहलाई संवोधन गर्दै अर्थ–राजनीतिक विष्लेषक हरि रोकाले अहिलेकै अवस्था रहिरहे मुलुक भयानक मन्दितर्फ जान सक्ने चेतावनी दिए । कमजोर सरकारी खर्च, त्यसबाट उत्पादनमा ह्रास, बस्तुको मागमा कमी र पुनः रोजगारीमा कटौतिपछि मुलुक मन्दिको दुष्चक्रमा फस्ने उनको चेतावनी छ । 

त्यस्तै, पूर्वाधार विकासका जानकार तारा पौडेलले कृषि, पर्यटन, उर्जा, उद्योग, बैदेशिक रोजगारी नेपालको विकासका लागि संभावना भएका क्षेत्र रहेको उल्लेख गर्नुभयो । यिनै क्षेत्रको विकासबाट नेपालमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न सकिने पनि उनले बताए । 

पूर्व डिआइजी केशब अधिकारीले मुलुकभित्र देखिएका अपराधका मुख्य कारण बेरोजगारी रहेकोले यसतर्फ बलैमा सोच्नुपर्ने औंल्याए।  
एस्पायर नेपालको आयोजनामा मुलुकमै पहिलोपटक सुरु भएको नेपाल जब फेयर आगामी शनीबारसम्म चल्नेछ । 

जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यास को सूत्रपात गर्ने लक्ष्य लिएको छ । जब फेयर मार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने विश्वास लिइएको छ । 

जब फेयरमा एक सयभन्दा बढी रोजगारदाताको सहभागीता रहेको छ । जब फेयर अवधिभर १५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन हुनेछन् । जसबाट ३००० भन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप