ad
केन्द्रीय संस्करण

लघुकथा : तोरीको फूल

person explore access_timeमाघ ३, २०७७ chat_bubble_outline0

 

 

-भरत सिग्देल 

रुपक आफ्नी आमाको गोडाको उपचार गराउन नाम चलेको एउटा सरकारी अस्पतालमा पुग्यो। डाक्टरले अप्रेसन चार्ज कम भएपनि कतिपय अप्रेसन सामग्री र औषधि महँगो हुनेभएकोले मोटै रकमको जोहो गर्न सल्लाह दिए। अप्रेसनको मिति तोकियो। रुपकले आमाको स्वास्थ्यभन्दा ठूलो केही नहुने ठानी डाक्टरले भनेबमोजिम रकम व्यवस्थापन गर्यो ।

अप्रेसनको एक हप्ता पहिलाबाट अप्रेसनपूर्व गरिनुपर्ने विभिन्न किसिमका परीक्षणको क्रम शुरु भयो। सबै परीक्षणका रिपोर्टहरू नर्मल आए। अब अप्रेसन नरोकिने भयो। अप्रेसनको अघिल्लो दिन हस्पिटल भर्ना गरियो। उसले करिब एक थुन्से उपकरण र औषधी हस्पिटलकै फार्मेसीमा किनेर बुझायो । आमाको बेड छेउमा बसेर अनिदै रात बितायो रुपकले। बिहान करिब नौ बजे आमालाई अप्रेसन थिएटरमा पठाएर ऊ बाहिरै बस्यो । एकैछिनमा एकजना डाक्टर जस्तै देखिने पोशाकमा सजिएका सज्जनले ओटीको गेटमा आएर बोलाए, ``मनमायाको मान्छे आउनुस् त ।´´ गार्डको इसाराबमोजिम रुपक जुत्ता खोलेर भित्र छिर्‍यो । ती सज्जनले मनमायाको अप्रेसनपश्चात् तन्तु , मांसपेशी र हड्डी जोड्नकोनिम्ति अमेरिकामा बनेका दुईवटा पेच आवश्यक पर्ने तर त्यो बाहिर बजारमा नपाइने, आफूसँगमात्रै भएकोले तुरुन्तै त्यसको रकम भुक्तानी गर्न भने। रुपक हतार हतार रकम भुक्तानी गर्न क्यास काउण्टरतिर सोझियो। तुरुन्तै ओटी भित्रबाट आवाज आयो, `` हेल्लो भाइ ! यता हेर्नुस् त। ´´ रुपक फरक्क फर्कियो। ती सज्जनले उसलाई नजिकै बोलाएर भने, `` क्यास उता तिर्ने हैन, यहीँ मलाई दिने हो, पेच मसँगै छ।´´ डाक्टरको एप्रनधारी ती महानुभावको कुरा सुनेर छक्क पर्दै रुपकले एक बण्डल हात्ती फ्याटफ्याट गनेर दियो अनि हान्नियो हस्पिटलका डाइरेक्टर सापको कार्यकक्षतिर। 

गेटमा नाम टिपाएर झण्डै आधा घण्टाको प्रतीक्षापछि उसले डाइरेक्टरको कार्यकक्षमा प्रवेश पायो। मुस्कुराउँदै डाइरेक्टर सापले रुपकलाई स्वागत गरे, `` भन्नुस् रुपक जी ! के समस्या पर्यो?´´ रुपकले बेलिबिस्तार सुनायो । डाइरेक्टरले उसका कुरा धैर्यतापूर्वक सुनेपछि गम्भीर मुद्रामा भने, `` रुपक जी, यो दलाल पुँजीवादी संसदीय व्यवस्थामा राम्रो काम गर्छु भनेर पनि नसकिने रहेछ ।´´ उनले थपे,`` सरकारले अमेरिकाको एउटै मात्र कम्पनीको एजेन्टलाई त्यस्तो पेचको सप्लाई गर्ने अनुमति दिएको छ। हस्पिटललाई त्यो सामग्रीको मुल्य कति हो भन्ने नि थाहा हुन्न। बाहिर किन्न नि पाइन्न। एजेन्टलाई अप्रेसन थिएटरबाट बाहिर निकाल्ने हैसियत नि हस्पिटलसँग हुन्न।यो विषयमा मैले प्रश्न उठाउनु भनेको म आफैँ यो कुर्सीबाट हट्न तयार हुनु हो ।फेरि म हटेर पनि समस्याको समाधान हुने हैन क्यारे। अनि यो मुलुक कसरी सुध्रिन्छ भन्नुस् त ?´´ 

डाइरेक्टरका कुरा सुन्दासुन्दै रुपकले तोरीको फूल देख्यो। उसले टेबलमा ड्याम्म मुड्की बजार्‍यो अनि जोडले चिच्यायो, `` दलाल पुँजीवादीहरूको नक्कली समाजवाद - मुर्दावाद !´´ टेबलमा राखिएको सिसा झर्‍याम्म फुट्यो। भुइँमा रगतको भल बग्यो। रुपक भने एकोहोरो चिच्याइरह्यो - मुर्दावाद !मुर्दावाद ! ..........

होसमा आउँदा उसले आफूलाई हतकडीसहित एउटा बन्द कोठाको चिसो भुइँमा पल्टिरहेको पायो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.