बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

आइतबार, ०४ माघ २०७७, १३ : ५७
आइतबार, ०४ माघ २०७७

हुम्ला । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ ।  यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान  थियो  । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका लागि  अनिवार्य गरिएको  थियो  ।  
 
जिल्ला बाहिरबाट सदरमुकाम सिमकोट आउँदा रु दुई हजार तिरेर पिसिआर रिपोर्ट  ल्याउनु पर्दा जिल्लावासी समस्यामा पर्ने गरेका थिए । जिल्ला प्रशासन कार्यालयको कोभिड विपत् व्यवस्थापन समितिको  बैठकले अनिवार्य पिसिआर नचाहिने निर्णय गरेपछि सो समस्याबाट यहाँका स्थानीयवासीले छुटकारा पाएका छन् ।  सिमकोट आउदा पिसिआर रिपोर्ट नचाहिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।
   
 जिल्ला बाहिरबाट आएका व्यक्तिलाई विमानस्थलको हेल्थ डेक्सले नियमित कोरोना चेकजाँच गर्ने भएको छ । 

किसानलाई १५ हजार स्याउ  र ओखरका बोट वितरण

सिमकोट गाउँपालिकाले यस वर्ष पनि किसानलाई निःशुल्क स्याउ र ओखरका विरुवा वितरण गरेको छ । जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि विरुवा वितरण गरेको  गाउँपालिकाको कृषि विकास शाखा प्रमुख नेत्रबहादुर शाहीले जानकारी दिए ।
      
सिमकोट बागवानीअन्तर्गत वडा १ देखि ८ सम्मका किसानलाई आठ हजार ५०० स्याउका विरुवा र सात हजार ओखरका विरुवा वितरण गरेको उनले बताए ।

 शाखाले बेमौसमी तरकारीका बीउसमेत वितरण गरिरहेको छ  । निवेदनका आधारमा आफ्ना वडाभित्रका स्याउखेती गर्ने किसानलाई वितरण गरिएको हो । गत वर्ष दश हजार स्याउ र दुई हजार ओखरका विरुवा वितरण गरिएको थियो  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप