बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेचीकाली यात्री काठमाडौँमा : सडकबाट ६ सय जनाको उद्धार

बिहीबार, ०८ माघ २०७७, २१ : २०
बिहीबार, ०८ माघ २०७७

सडकमा रहेका असहाय, अशक्त, बेसहारा तथा मनोरोगीको उद्धार गरी पालनपोषण तथा उपचारपछि परिवारमा पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले सञ्चालन गरेको एक महिनाले ‘मेचीमहाकाली सडक यात्रा’का क्रममा ६०० जनाको उद्धार गरेको छ । 

पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्मका सडकबाट यसरी झण्डै ६०० असहायको उद्धार गरी संरक्षण दिइएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट घोषणा भई ८ गतेदेखि शुरु भएको उद्धार अभियानको ३०औँ दिनमा आज काठमाडौँ आइपुगेको मेचीमहाकाली सडक यात्री टोलीको स्वागत समारोहमा अध्यक्ष अधिकारीले नेपाललाई बेसहारा सडकमानवमुक्त बनाउने अभियानको आधार तयार भएको जानकारी दिए ।

टोलीलाई प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले स्वागत गर्दै एकमहिने अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको प्रतिक्रिया दिए । आश्रमका अनुसार अब केही दिन उपत्यकाको तीन जिल्लासहित धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लामा उद्धार अभियान थालिने बताए । 

उद्धार अभियानका क्रममा पूर्वको झापा जिल्लासहित विराटनगर र वीरगञ्ज महानगरपालिकालाई बेसहारा सडकमानवमुक्त घोषणा गरिएको जनाइएको छ । 

नेपाल सरकारले विसं २०७८ भित्र बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरिसकेको छ । सरकारले खान नपाएर कोही पनि सडकमा भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने यसअघि नै घोषणा गरिसकेको छ । 

टोलीले झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, बाग्लुङ, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सडक यात्रा सञ्चलन गरेको थियो । 

विसं २०६९ भदौ १३ गते हेटौँडाबाट उद्धार अभियान शुरु गरेको आश्रमले अहिले सात प्रदेशका १५ जिल्लाका २२ शाखामार्फत मानवीय सेवा गर्दै आएको छ । जहाँ अहिले एक हजार ८०० आश्रित छन् । यसअघि एक हजार ५०० भन्दाबढीलाई उद्धार गरी परिवारमा पुनःमिलन गराइसकिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप