ad
केन्द्रीय संस्करण
टिप्पणी

भ्याक्सिनमाथि विश्वास जगाउने कामको पहल र शुरुवात उच्च पदस्थ तहबाट पनि होस्

भ्याक्सिनका बारेमा श‌ंका–उपशंका गरिबस्नु जरुरी छैन

person explore access_timeमाघ ९, २०७७ chat_bubble_outline0


 

कोरोनाको कहरबीच यसको रोकथाम र नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी हुन सक्ने र बहुप्रतीक्षित भ्याक्सिन नेपालमा भित्रिएको छ । भारत सरकारको सदिच्छा र सहयोगले २१ जनवरीका दिन नेपालमा १० लाख थान भ्याक्सिन आइपुगेको छ ।

सबै नेपालीले भ्याक्सिन आइपुगेको खबर उत्साह, उमङ्ग, खुसी र धैर्यका साथ ग्रहण गर्नुपर्ने परम आवश्यकता छ । धैर्य यस अर्थमा नेपालमा भित्रिएको भ्याक्सिनको मात्रा थोरै छ । पहिलो खेपमा भारतले अनुदानस्वरूप नेपाल सरकारलाई १० लाख ‘डोज’ (खुराक) भ्याक्सिन उपलब्ध गराएको हो ।

अहिलेसम्मको मान्य मापमदण्डअनुसार खोप लिने  व्यक्तिले कोरोनाविरुद्धका खोपको एक महिनाको फरकमा भ्याक्सिनका दुई डोज लिनु आवश्यक हुन्छ । यसको सोझो अर्थ अहिले नेपालले पाएको १० लाख डोज भ्याक्सिनले नेपालका ५ लाख जनालाई मात्रै पुग्नेछ । भ्याक्सिनको एउटा मात्र डोजले शरीरभित्र कोरोना सङ्क्रमणविरुद्ध बन्ने ‘एन्टिबडी’ पर्याप्त मात्रामा बन्दैन । सङ्क्रमणसँग सुरक्षित हुनका लागि पहिलो खुराक लिएको २१ दिनमा अर्को खुराक पनि लिनुपर्ने हुन्छ । यसरी दोस्रो खुराक लिएको ७ दिनपछि मात्रै अर्थात पहिलो खुराक लिएको २८ दिनमा शरीरभित्र सङ्क्रमणसँग जुध्ने र जुधेर भाइरसलाई निस्क्रिय–परास्त गर्ने एन्टीबडी निर्माण हुन्छ ।

अन्य देशझैँ नेपाल सरकारले पनि जोखिममा काम गर्ने वर्गलाई परिलक्षित गरेर भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गर्न गइरहेको छ । तसर्थ भ्याक्सिनमाथिको सर्वसाधारणको पहुँच अझै केही समय परकै कुरा हो भन्ने यथार्थ बुझ्नु जरुरी छ । खोपको सीमित उपलब्धता संक्रमण नियन्त्रणका लागि पहिले लक्षित वर्गलाई खोप दिनुपर्ने बाध्यताबीच आम वर्गले भ्याक्सिनका लागि हानथापको स्थिति सिर्जना नगरी दिए नै ठूलो सहयोग हुन्छ ।

केही व्यक्तिलाई भ्याक्सिन उपलब्ध गराउँदैमा यो महामारी पूर्णतः नियन्त्रणमा आउने होइन । एउटा निश्चित संख्याको जनसंख्यालाई भ्याक्सिन नलगाइकन यो रोगको संक्रमणको फैलावटमाथि नियन्त्रण पाउन सम्भव छै । यो स्थितिमा भ्याक्सिन सम्बन्धमा गरेको सबै आश्वासन पूरा गर्न सरकार बाध्य छ ।। पहिलो खेप आएको छ शीघ्र नै सरकारले थप भ्याक्सिनका लागि उत्पादक कम्पनी तथा उत्पादक देशसँग भ्याक्सिन किन्ने तथा माग्ने वा जसरी भए पनि थप भ्याक्सिन देशमा ल्याउने प्रबन्ध मिलाउने कुरामा शंका गर्नैपर्दैन ।

अहिले आएका भ्याक्सिन अग्रपङ्क्तिमा रहेर काम गर्ने वर्गका लागि सुनिश्चित गरिएका छन् । यसमा विभिन्न स्तरका प्रहरी, सेनाका जवान, डाक्टर, नर्स, सफाई कर्मचारी, अत्यावश्यक सेवाका कर्मचारी लगायत जोखिममा अग्रसर भई काम गर्नेहरु पर्ने छन् ।

भ्याक्सिन सबैलाई आवश्यक छ, निसन्देह यस कुरामा कुनै विमति छैन तर परिस्थितिमाथि विचार नगरी पनि सुख छैन । प्राप्त भएको भ्याक्सिन ५ लाख जनालाई पुग्छ । नेपालमा भ्याक्सिन चाहिने वर्गको सङ्ख्या २ करोड हुन सक्छ (१६ वर्षमुनिका लागि भ्याक्सिनको परीक्षण भएको छैन, अहिले भ्याक्सिनेसन भइरहेका देशमा पनि यस वर्गलाई भ्याक्सिनको डोज दिइएको छैन ) ।

भ्याक्सिनको यो अभाव नेपालमा मात्र होइन संसारका सबै देशमा छ । त्यहाँका सरकारले पनि भ्याक्सिन दिने प्राथमिक वर्गको पहिचान गरेर कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपाल सरकारसँग अनुरोध मात्रै गर्न सकिन्छ–नेपालमा भ्याक्सिन भुइँचालोको राहत जस्तो नबनोस ! पहुँचवालाको लामा हातबाट भ्याक्सिन र भ्याक्सिनेसन कार्यक्रम पृथक् र ‘सोसल डिस्टेन्सिङ’ जस्तै २ मिटर पर रहन सकेन भने अर्काे अनर्थकारी स्थितिको सिर्जना हुन बेर लाग्दैन ।

सरकारका सबै निकायले तदारुकतापूर्वक अति इमानदार, चनाखो र आपसी समन्वय गरेर मात्रै भ्याक्सिनेसन कार्यक्रम सफल हुन सक्छ । कुनै पनि हालतमा सरकारलाई प्राप्त भएको भ्याक्सिनको एक डोज पनि दुरुपयोग हुनु हुँदैन । यसलाई भुइँचालोको कर्कटपाता कसैले नसमझियोस् ।

रातोपाटी जस्तोसुकै सङ्कटमा राष्ट्रसेवा र जनसेवाका लागि समर्पित फ्रन्ट लाइनमा उभिएर कर्तव्य पालन गर्ने सबै श्रेणीका कर्मचारीसँग विनीत आग्रह गर्छ– हडबड नगरी, तँछाडमछाड नगरी, सरकार अथवा आफ्नो विभागले तोकेको तालिकाअनुसार पालो पर्खेर भ्याक्सिनेसन कार्यक्रममा सहभागी हुनुस् । कार्यालय प्रमुखहरूभन्दा फिल्डमा खटिने कर्मचारीको पालो पहिला आउने व्यवस्था सरकारले, सरकारका निकायले पूर्ण इमानदारीका साथ पालन गरोस् । अग्रपङ्क्तिमा ‘रिस्क जोन’मा रहेर काम गर्ने सबै नेपालीले स्वेच्छाले भ्याक्सिनेसन कार्यक्रममा सहभागिता जनाउनुस् । यससम्बन्धी हल्लाका पछाडि न लाग्नुस् । सम्झिनुस् कुनै पनि नयाँ कुरा हुँदा त्यस सम्बन्धमा अनेकौं हल्ला व्याप्त हुन्छन् तर ती हल्लामा ०.०००००१ प्रतिशत पनि सत्यता हुँदैन ।

भ्याक्सिनको सुरक्षाका बारेमा जनतामा आशंकाहरु छन्, यो कुरामा शंका छैन । तर जनस्वास्थयविद्हरुले भनिरहेका छन्, अहिले सरकारले अनुदानमा ल्याएको भ्याक्सिन कोभिशिल्ड सुरक्षित छन् । कम्तिमा तेस्रो चरणको परीक्षण भइसकेको, दाता मुलुक भारतमै पनि जनस्तरमा यो खोप दिनथालिइसकेको पृष्ठभूमिमा यसको सुरक्षाको बारेमा अनावश्यक शंका उपशंका गरिबस्नु उचित हुन्न । भ्याक्सिन सुरक्षाका मापदण्डका हिसाले यो भ्याक्सिन मूलतः  सुरक्षित छ भनेर तथ्यहरु बाहिर आइरहेका छन् । यो स्थितिमा  । कुनै किसिमको डर मान्नु पर्दैन । हो, भ्याक्सिनका साइड इफेक्ट बारेका केही समाचार सुन्नमा आएका छन् । त्यसमा प्रमुख समाचार नर्वेबाट आएको छ । तर नर्वेमा भएको घटना भ्याक्सिनकै कारणले हो भनेर प्रमाणित भएको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । घटनाका पछाडि थुप्रै कारक हुन सक्छन् । अनुसन्धानको रिपोर्ट नआएसम्म यसबारे केही भन्नु उचित होइन । विश्वभरिबाट आएका ४०, ५० नकारात्मक घटनालाई हौवा बनाउनु हुन्न । यो पनि त सोच्नुस्, विश्वका अनेको देशका ५–७ करोड मानिसलाई भ्याक्सिनको ‘डोज’ प्रदान गरिएको छ । तपाईं ५–७ करोडमा ४०–५० घटनालाई प्राथमिकता दिनु हुन्छ कि ५–७ करोडलाई आफ्नो प्रेरणा सम्झिनु हुन्छ !

हो, सँगसँगै यो पनि सत्य हो, मेडिकल साइन्सले बनाएका कुनै पनि औषधि (सिटामोल नै किन नहोस्) शत प्रतिशत प्रभावकारी र सुरक्षित हुन सक्दैनन् । भ्याक्सिन सम्बन्धमा पनि अन्य नकारात्मक घटना सुन्नमा आउन सक्छन् । अन्य घटना पनि घटित हुन सक्छन् तर यसरी घटित भएका छुटफुट घटनाले भ्याक्सिनको समग्र सुरक्षा माथि प्रश्नचिन्ह लगाउन मिल्दैन ।

नेपालमा आएको ऐस्ट्रेजेनेका अक्सफोर्डको भारत निर्मित भ्याक्सिन हो । भारतको सिरम कम्पनीले यसलाई अनुबन्धका तहत कोभिसिल्डका नामले उत्पादन गरेको हो । यो भ्याक्सिनले ट्रायलका तीन चरण पार गरिसकेको छ । विश्वमा भ्याक्सिनेसनको दोस्रो आपातकालीन अनुमति यसैले पाएको हो । बेलायत, भारत लगायत थुप्रै देशमा यसको प्रयोग भइरहेको छ । सबैले थाहा पाउनु आवश्यक छ, आजसम्म कुनै पनि भ्याक्सिनले चौथो चरणको परीक्षण सम्पन्न गरेका छैनन् । चाहे त्यो अमेरिका–जर्मनी कम्पनी मिलेर बनाएको फाइजर होस् अथवा अमेरिकाको मोर्डरना होस् अथवा चीन, दक्षिण कोरिया, आस्ट्रेलिया, रूसका भ्याक्सिन हुन् । सबैले तीन चरणको ट्रायल मात्रै पार गरेका छन् । यस्तोमा यो भ्याक्सिन राम्रो अथवा त्यो राम्रो भन्नुको कुनै औचित्य छैन । म यो भ्याक्सिन लिन्छु, यो लिन्न भन्नु नितान्त आग्रह, अज्ञानता एवं अवैज्ञानिक कुरा हो । यस सम्बन्धमा नेपालका प्रख्यात भाइरोलोजिस्ट डाक्टर शेरबहादुर पुन भन्नुहुन्छ– अब यो भइरहेको भ्याक्सिनेसन कार्यक्रम नै चौथो चरणको ट्रायल हो । संसारका ५–७ करोड व्यक्तिले भ्याक्सिनको डोज लिइसकेका छन् । आउने एक दुई महिनामै प्रयोग भइरहेका भ्याक्सिनको उपयोगिता एवं उपादेयताबारे थाहा हुन्छ । अहिले नै कुनै पनि भ्याक्सिनको पक्ष विपक्षमा बोल्ने बेला भएको छैन । प्रयोगमा आइरहेका सबै भ्याक्सिनको परिणामलाई सकारात्मक नै मान्नु पर्छ ।

नेपालमा भ्याक्सिन सम्बन्धमा फैलिएका नकारात्मक प्रचारबारे सोध्दा उहाँ भन्नुहुन्छ– “सरकारले पहिलो चरणको भ्याक्सिनेसन कार्यक्रमका लागि घोषणा गरेको अग्रपङ्क्तिका कर्मचारीमा म पनि पर्छु । जहाँसम्म मेरो अनुमान छ, भ्याक्सिनेसन कार्यक्रमको शुभारम्भ टेकु अस्पतालबाटै हुन्छ । म त्यहीँको कर्मचारी हो । भ्याक्सिनप्रति आम नेपालीमा विश्वास जगाउन यदि नेपालमा भ्याक्सिन लिने पहिलो व्यक्तिका रूपमा मलाई रोजिन्छ भने म सहर्ष तयार छु ।”

डाक्टर पुनको यो भनाइ मननीय छ । अझ  यसका लागि नेपाल सरकारका उच्च पदासीन व्यक्तिले तदारुकता देखाए सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाहित हुन्छ । अमेरिकामा हालका राष्ट्रपति वाइडेनले सार्वजनिक रुपमा नै खोप लगाएर जनतामा आशा र विश्वास छर्ने काम गरेको छ । यद्यपि ‘क्रोनिक’ स्वास्थ्य समस्याबाट ग्रस्त रहनु भएका मुलुकको सम्मानीय राष्ट्रपति र सम्मानीय प्रधानमन्त्रीसँग यस्तो अपेक्षा गर्नु उचित हुन्न । तर उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री र अन्य अति विशिष्ट महानुभावहरुसँग यस कार्यका लागि तत्पर भइदिएमा जनतामा भ्याक्सिनप्रतिको विश्वास बढेर जाने कुरामा कुनै शंका छैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.