शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचनका तयारीमा जुट्यो निर्वाचन कार्यालय

शुक्रबार, ०९ माघ २०७७, १९ : ३१
शुक्रबार, ०९ माघ २०७७

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तय गरेपछि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । निर्वाचन आयोगको निर्देशनअनुसार कार्यालयले मतदान केन्द्र पुनरावलोकन, मतदाता नामावली अद्यावधिकलगायतका काम थालेको हो । 

निर्वाचनको मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालयमा चहलपहल बढेको छ । कार्यालयले सरोकारवाला निकायसँग निर्वाचनलक्षित कार्यक्रमबारे छलफल शुरुआत गरेको छ । निर्वाचन कार्यालयले आज मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक सम्पन्न ग¥यो । जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा मतदान केन्द्र पुनरावलोकन र मतदाता अद्यावधिक कार्यक्रमसम्बन्धी छलफल गरेको जानकारी दिए ।

 उहाँका अनुसार मृत्यु, बसाइसराईलगायतका कारण मतदाताको विवरण हटाउनेदेखि नामावलीमा रहेका त्रुटीहरु सच्याउन माघ १६, १७ र १८ गते प्रत्येक स्थानीय तहमा अभियान सञ्चालन गर्ने कार्यक्रम तय भएको छ । यसका लागि निर्वाचन कार्यालयले माघ ११ गते सुर्खेतका नौवटै स्थानीय तहबाट एक÷एक जना कर्मचारीलाई सहायक नाम दर्ता अधिकारीका रुपमा तालीम दिई खटाउँदैछ । 

सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगको निर्देशनमा यही पुस ५ गतेदेखि कार्यालयले मतदाता नामावली सङ्कलन कार्य बन्द गरेको छ । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यहाँका दुई क्षेत्रमा १३८ मतदानस्थल र २६३ मतदान केन्द्र थिए । 

यसपटक मतदानस्थल नबढ्ने तर मतदाता हेरी केन्द्रको सङ्ख्या थप हुने बताइएको छ । कार्यालयले यसपटक २७६ मतदान केन्द्र हुने अनुमान गरेको छ । २०७४ सालको निर्वाचनमा सुर्खेतमा दुई लाख चार हजार ५७७ मतदाता थिए । यसपटक करिब १५ हजार मतदाता थपिएका छन् । सबैभन्दा बढी प्रदेश राजधानी शहर वीरेन्द्रनगरमा थपिएका छन् ।

कार्यालयका सूचना अधिकारी हिरानन्द पोखरेलले आयोगको निर्देशनअनुसार मतदानस्थलको भौगोलिक निर्देशाङ्क लिने काम भइरहेको बताउनुभयो । त्यसका लागि सबै मतदान केन्द्रहरूमा पुगेर जीपीएसमार्फत फोटो खिची निर्वाचन आयोगमा पठाउने काम भइरहेको छ । 

जिल्ला निर्वाचन अधिकारी रेग्मीले निर्वाचनसम्बन्धी कार्यक्रमहरुमा सबै राजनीतिक दलबाट सहयोग प्राप्त भएको बताउनुभयो । “निर्वाचनका नियमित कार्यक्रमहरुमा सबै दलको सकारात्मक सहयोग छ, हामीले आयोगको कार्ययोजनानुसार काम गरिरहेका छौँ,” उनले भने, “अहिले आयोगबाट स्वीकृत कार्यक्रम जिल्ला निर्वाचन कार्यालय पठाउने, प्रमुख नामदर्ता अधिकारी तोक्ने, जिल्ला निर्वाचन कार्यालयबाट तथ्याङ्क प्राप्त गर्ने, तथ्याङ्क एकीकरण गर्ने र प्राप्त तथ्याङ्कको जिल्लागत मतदाता नामावली तयार गर्ने काम भइरहेको छ, यी सबै काममा दलको सहयोग पाएका छौँ ।”

कार्यालयले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्दैछ । प्रकाशित नामावलीमा भएको त्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । 

यदि कसैले झुट्टा विवरण दिई नामावलीमा समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, प्रकाशित नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि सूचना दिने, बसाइँ सरी अन्यत्र गएका लगायतको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्नेदेखि दाबी विरोधसम्मका कार्य यही माघ २० गतेसम्म सम्पन्न गर्नुपर्नेछ । 

सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगले मतदाता नामावलीमा नामदर्ता कार्य बन्द गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप