ad
केन्द्रीय संस्करण
मेरो जीवन

कलाकार गौरी मल्लको जीवन : विगतको सङ्घर्ष रमाइलो कथा जस्तो लाग्छ

‘सिंहदरबार’मा प्रधानमन्त्री बन्दा बेग्लै चर्चा र सफलता मिल्यो

person explore access_timeमाघ १०, २०७७ chat_bubble_outline0

गौरी मल्लनेपाली फिल्म क्षेत्रकी एक सफल अभिनेत्री हुन् । ‘ग्ल्यामर क्षेत्र उमेर र सुन्दरता रहुन्जेल मात्र हो’ भन्ने मान्यता उनले तोडिदिएकी छन् । करिब ४ दशकदेखि निरन्तर रहेकी उनको क्रियाशीलता कला क्षेत्रमा अहिले पनि उत्तिकै देख्न सकिन्छ । वि.सं. २०४३ मा निर्मित र २०४४ मा प्रदर्शित फिल्म ‘सन्तान’बाट अभिनयमा डेब्यु गरेकी उनले ‘पिरती’, ‘कन्यादान’, ‘चोट’, ‘सरस्वती’, ‘चेलीबेटी’, ‘चाहना’ लगायत थुप्रै फिल्ममा अभिनेत्रीको जिम्मेवारी निर्वाह गरेकी थिइन् । अभिनयमा आफूलाई परिष्कृत गर्दै विभिन्न भूमिकामा समेत फिट राख्न सफल उनले अहिलेसम्म एक सयभन्दा बढी स्वदेशी फिल्म, केही विदेशी फिल्म र थुप्रै सानो पर्दाका सिरियलमा काम गरेकी छन् ।
कलाकारको काम सशक्त अभिनय गर्नु हो । सानो र ठूलो पर्दामा विभेद गर्नु हुँदैन भन्ने मान्यता राख्दै आएकी उनले २००२ मा नेपालको मोसन पिक्चर अवार्ड प्राप्त गरेकी थिइन् । सन् १९६७ मा नक्साल काठमाडौँमा जन्मिएकी उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पदकहरु समेत प्राप्त गरेकी छन् ।पछिल्लो समय ‘सिंहदरबार’ शृङ्खलामा प्रधानमन्त्रीको भूमिका निर्वाह गरेर दर्शकको मनभित्र दर्बिलो छवि बनाउन सफल कलाकार गौरी मल्लको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा :

मेरो खाना
साझा नेपाली खाना, दालभात, तरकारी, गुन्द्रुक सबै मनपर्छ । म भेज भएकाले माछामासु खान्न । पहिले खान्थेँ । त्यो छोडेको अहिले १६, १७ वर्षभयो ।म रेस्टुरेन्ट पर्सन होइन । कहिलेकाहीँ साथीभाइसँग जानै पर्यो भने जान्छु । रेस्टुरेन्टमा  मनपर्ने खाना इटालियन, चाइनिज परिकार हुन् । पकाउन धेरै रुचि छ । सबैथरीका परिकार पकाउनसक्छु । अहिले पनि घरमा कहिलेकाहीँ खाना आफैँ पकाउँछु ।

मेरो फिट्नेस
फिट्नेसका लागि सजग छु । खानापिनबाटै फिट्नेस रहने कोसिस गर्छु । पहिलेपहिले एक्सरसाइज पनि गर्थें, अहिले गर्दिनँ । कोराना अगाडिसम्म म बिहान ४५ मिनेटदेखि १ घण्टासम्म नियमित मर्निङवाक गर्थें । अहिले कोरोनाको डरले त्यो पनि छाडेको छु ।

मेरो पोसाक
क्याजुअल पोसाक मनपर्छ । फिटिङभन्दा पनि हल्का लुज खालको पोसाक नै लगाउँछु । कुर्थासुरुवाल, सारी, जिन्सपाइन्ट, टिसर्टलगायत सबै प्रकारका पोसाक प्रयोग गर्नेगर्छु ।
सेतो रङ्ग पोसाकमा मेरो फेबरेट कलर हो । स्काईब्लु, कालो, पहेलो र रातो रङ्ग पनि मनपर्छ । प्रयोग चाहिँ सबै कलरका गर्छु ।

विशेष कार्यक्रम, विवाहलगायतमा भने सारी प्रयोग गर्छु । कहिलेकाहीँ कोट, पाइन्टसमेत लगाउँछु । आफूलाई सारीमा बढी कम्फर्टेबल फिलहुन्छ । धेरैजसो पहिरन रेडिमेड नै किन्ने गर्छु । कहिलेकाहीँ सिलाउँछु पनि । पोसाकमा ब्रान्ड अहिलेसम्म खोजेकी छैन । हरेक पटक नयाँ पहिरन फेर्ने मानिस पनि होइन म । त्यसैले पनि पहिरनमा धेरै खर्च छैन ।

मेरो अध्ययन
अध्ययन गर्न मनपर्छ । धार्मिक पुस्तक, उपन्यासहरु पढ्छु । पछिल्लो समय धार्मिक पुस्तक बढी नै पढ्न थालेकी छु । अहिलेसम्म पढेका मध्ये सबैभन्दा बढी प्रभाव पारेको पुस्तक ‘महाभारत’ हो । महाभारत पढेपछि अन्य पुस्तक गौण हो जस्तो लागेको छ । 

महाभारतमा सबै संसार अटेको जस्तो लागेको छ । महाभारत जहिले पढे पनि हरेक पटक नयाँ लाग्छ ।
मेरो अध्ययनको समय नियमित यही भन्ने छैन । फुर्सद भयो र समय मिल्यो भने जुनैबेला पनि पढ्छु । विकासानन्दको किताबहरु पनि पढ्न मनपराउँछु । घरमा अध्ययनका लागि किताब थुपारेको छु । हेर्दा सानोसानो लाइब्रेरीजस्तै छ ।

मेरो घुमफिर
घुमफिरमा मेरो एकदमै रुचि छ । जीवनमा घुम्नुपर्छ, हरेक ठाउँ हेर्नुपर्छ, नजिकबाट नियाल्नुपर्छ जस्तो लाग्छ । पहिले पहिले फिल्मको छायाङ्कन, साङ्गीतिक कार्यक्रम र आफ्नो इच्छाले पनि धेरै ठाउँ घुमियो । केही वर्षयता घुम्ने काम कम भएको छ ।

देशका धेरै ठाउँमा पुगेकी छु । विदेशका पनि केही स्थान घुमेकी छु । देश होस् वा विदेश मलाई घुम्न भने धेरै मनपर्छ ।

मेरो फुर्सद
फुर्सद नभए पनि आफ्ना लागि एक डेढ घण्टा दैनिक निकाल्छु । मैले गरिरहेको कलाकारिता एक किसिमले हेर्ने हो भने फुर्सद नै हो । काम भइरहेको समयमा पनि अलि अलि फुर्सद निस्किन्छ ।
 
मेरो खेलकुद
अहिले खेलकुद रहर गरेर हुन्न । पहिला त म खेलाडी थिएँ । लुम्बिनी अञ्चलबाट विभिन्न फुटबलका टुर्नामेन्ट समेत खेलियो ।

त्यसलाई निरन्तरता नदिएर हो, दिएको भए अहिले म फुटबल चर्चित खेलाडीका रूपमा चिनिन्थे । फुटबल, भलिबल, ब्याडमिन्टन मनपर्छ । पाल्पामा रहँदा ब्याडमिन्टनको विभिन्न प्रतिस्पर्धासमेत खेलेको थिए । टेनिस खेल भने मैले कहिल्यै खेलिन । हेर्न मनपर्ने उस्सु हो । अहिले टिभीमा फुटबलका विश्वकप हेर्छु । 

मेरो मोबाइल
अहिले मसँग दुईटा मोबाइल छ– एउटा आइफोन टेन, अर्काे स्यामसुङ ग्यालेक्सी । फोन गर्न, उठाउन, सामाजिक सञ्जाल चलाउन मोबाइल प्रयोग गर्छु । टिकटक पनि बनाउँछु ।

मोबाइल छिटोछिटो फेर्ने बानी छैन । मोबाइल प्रायः मलाई गिफ्ट आउने गरेको छ । कसैले गिफ्ट दियो वा बिग्रियो भने फेर्ने हो ।

मेरो टिभी 
टिभी मेरो साथी  र  फेबरेट मनोरञ्जनको साधन हो । टिभीमा धेरैथरीका कार्यक्रम हेर्छु । फिल्म, डकुमेन्ट्री, एनिमल प्लानेट, डिस्कभरीलगायत हेर्न मनपर्छ ।

मेरो चलचित्र
मेरो कर्म, पेसा नै चलचित्र हो । त्यसैले नहेर्ने कुरौ भएन । धेरै हेर्छु । हलमा, घरमा दुवैमा हेर्छु । कसैले राम्रो छ भनेर भनेको फिल्म हलमै गएर पनि हेर्छु । दर्शकलाई पकड राख्ने खालको छ भने सबै प्रकारका फिल्म मनपर्छ । सबै भाषाको फिल्म हेर्छु ।

मेरो पेसा
२०४३ सालमा निर्माण भएको र २०४४ सालमा रिलिज भएको फिल्म ‘सन्तान’बाट मैले अभिनयको सुरुवात गरेको थिएँ । त्यसपछि मेरो कर्म, धर्म जे भने पनि अहिले कलाकारिता नै हो ।

अहिले पनि कलाकारिता निरन्तर चलिरहेको छ । बसुन्धरा भुसालमार्फत म कलाकारितामा प्रवेश गरेको थिएँ । मैले, सोचेर, प्लानिङ गरेर कलाकारितामा प्रवेश गरेको थिइनँ । अहिलेको समय भए यस्तो बन्छु भनेर प्रवेश गर्थें होला । त्यो बेलामा वर्षमा एक वा दुई फिल्म मात्र बन्थ्यो । अन्य सबै हिन्दी फिल्मले बजार खाएको थियो ।

अहिलेसम्म एक सयभन्दा बढी फिल्म अभिनय गरे होला । त्यसमा अभिनेत्रीदेखि विभिन्न भूमिका निर्वाह गरेकी छु । सानोपर्दाका पनि थुप्रै सिरियल अभिनय गरेकी छु । विदेशका केही फिल्म अभिनय गरेको छु ।
सिंहदरबार जस्तो चर्चित टेलिसिरियलको दुई सिजन मैले नै अभिनय गरेँ । पहिले पहिले नेपाल टेलिभिजनबाट आउने थुप्रै टेलिशृङ्खला गरेकी थिएँ ।

अभिनयबाट मैले हरहमेसा चर्चामा र सफलता हात पारेकी छु । तर केही अगाडि प्रसारणमा आएको शृङ्खला सिंहदरबारमा प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दा अलग्गै उचाइ र पहिचान मिल्यो । त्यो भूमिकाले मेरो अभिनय जीवनमा एउटा उचाइ थप्यो । अभिनयमा अहिले गरिरहेको भन्दा केही अलग भूमिका गर्न मन छ अब । मैले सबैको माया प्रेम अभिनयबाटै पाइरहेको छु । यो रणभुल्लमै भुलिरहेको छ ।

मेरो सपना
सपना भन्ने कि एउटा सोच । छिट्टै एउटा टक सो लिएर आउँदैछु म । मैले जीवन नै कलाकारितामा बिताएँ । अब एउटा राम्रो फिल्म निर्देशन इच्छा छ ।

मेरो प्रेम
उमेरमा मेरो प्रेम पनि भयो । विवाह पनि गरेँ । अहिले सिङ्गल छु । त्यसैमा एकदमै खुसी छु । 

मेरो दुःख
आजभन्दा १५/२० वर्ष अगाडि दुःखको कुरा गर्नु परेको भए । कलाकारिताको सङ्घर्षलाई दुःख भन्थे होला । आजको दिनमा दुःख भन्ने नै छैन । कलाकारितामा हरेक सङ्घर्ष काटेर अगाडि आइसकेको छु ।
विगतको आफ्नो सङ्घर्ष अहिले रमाइलो कथा जस्तो लाग्छ । त्यसलाई अहिले दुःख कसरी भन्ने । भन्नै मन लाग्दैन ।

सफलता र असफलताले दुःख भन्ने शब्द जन्मने हो । मेरो विचारमा असफलता भन्ने नै हुँदैन । काम गर्दै जाने हो, कही प्राप्ति हुन्छ, कही हुँदैन । असफलताबाट पनि केही सिक्न सकिन्छ । त्यो सिकाइ सफलता हो । मेरो विचारमा कलाकारितामा सुखै सुख छ ।

मेरो गीतसङ्गीत
गीतसङ्गीत धेरै मनपर्छ, सुन्छु पनि । गजल गीतहरु बढी मनपर्छ । जगजित चित्राको गजलहरु पहिलेदेखि नै सुन्थेँ । नेपालीमा दीप श्रेष्ठ, नरायण गोपाल, प्रकाश श्रेष्ठ, अरुणा लामा, तारादेवी, भक्तराज आचार्य, सुक्मित गुरुङलगायतको ठूलो फ्यान हुँ ।

विशेष गरेर अरुणा दिदीको गीत असाध्यै मनपर्छ । फुर्सद भयो, पढ्न मन लागेन भने म गीतसङ्गीत सुन्छु ।

मेरो मापसे
मापसे कहिल्यै गरिनँ । म बाहिरको चिसो, जुस त खादिनँ । मापसे नगरे पनि पहिले पहिले घरमा सजाएर राख्थेँ । साथीभाइ आउँदा काम लाग्थ्यो । अहिले त्यसरी राखेको छैन । 

म मापसे गर्दिनँ भन्दैमा संसारले नगर्ने नपिउने भन्ने छैन । त्यस्ता साथीभाइ घरमा आउँदा सोधेर खुवाउँछु । एकदमै नजिकका साथीभाइलाई खाने भए आफै बोकेर ल्याउनु भनेरसमेत भनिदिन्छु ।

मेरो भुल
छिनछिनमा मेरो भुल हुने गर्छ । मानिस हुँ जानी नजानी धेरै भुल भए होलान् । कुनै मानिसले मैले भूल गरेको छैन भनेर भन्छ भने त्यसले आफैले आफूसँग झुट बोलेको हुन्छ ।

मेरो विचारमा जानी नजानी कसैले पनि भूल गर्नु हुँदैन । भूलबाट सिक्ने पनि त्यसलाई दोहोर्याउने होइन । जानेर होस् नजानेर होस् अरूका लागि दुःख पुग्ने भुल गरेको छैन ।

जीवनमा भुल भयो भने पनि म पछुतो मान्दिनँ । किनभने पछुताएर, मनलाई गलाएर आत्मग्लानि हुनुको अर्थ छैन । मबाट भुल भएछ । अब दोहोर्याउनु हुन्न भनेर अगाडि बढ्छु ।

मेरो रोग
भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । फिट एन्ड फाइन छु । रोग नै नभएपछि औषिध खाने कुरै भएन । रोग लाग्न नदिन म खानेकुरोमा ब्यालेन्स गरिरहेकी छु ।

मेरो राशि 
मेरो राशि ‘कुम्भ’ हो । पहिला पहिला विश्वास लाग्थ्यो, हेराउँथे पनि । अचेल त्यति हेराउदिनँ । भगवानप्रति आस्था भने छ । पूजापाठ गर्दछु । यसले एक किसिमको ऊर्जा प्रदान गर्छ, मनमा शान्ति दिन्छ । धेरै कुरा पोजेटिभ हुन्छ । यो कुरो छाड्नु हुँदैन ।

मेरो मृत्यु
मृत्यु जीवनको अन्त्य हो, सत्य पनि हो । यसलाई सहज रूपले हेरेकी छु । जुनै समय पनि मृत्यु हुनसक्छ । यो त्यस्तो सत्य हो जसलाई स्वीकार्नु नै पर्छ । यसबाट भागेर भाग्न सकिन्न । मृत्यु भनेको संसारिक झमेला, दुःख, पीडा लगायतबाट मुक्त हुने बाटो हो ।

जहिले आउँछ म तयार छु । मृत्युपछि पनि संसारमा नामको रूपमा बाँचिरहन केही कर्म गरेर जानुपर्छ भन्ने गरिन्छ । यो कुरामा मेरो विश्वास छैन । किनभने जति नै कर्म परे पनि एक स्थितिमा सबैले बिर्सन्छ ।

तस्बिरहरु : सुवास श्रेष्ठ

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.