शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

व्यवसाय जीवनरक्षा कोषले व्यवसायी उत्साहित : निर्ब्याजी ऋणले पलायन रोक्ला ?

सोमबार, १२ माघ २०७७, ११ : २५
सोमबार, १२ माघ २०७७

नरहरि पौड्याल

पोखरा । चीनको ऊहानमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण देखिएपछि नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा ग¥यो । संक्रमण पैmलिन नदिन भन्दै लगाइएको लकडाउन र त्यसपछिको निषेधाज्ञाले करिब ९ महिना प्रभावित भयो । लामो लकडाउनका कारण सबै क्षेत्र ठप्प भए भने आर्थिक क्रियाकलाप बन्द भए । सधैंभरी विदेशी पर्यटकले भरिभराउ हुने पर्यटकीय गन्तब्यहरु ठप्प भए । पर्यटक आगमन ठप्प भएपछि पोखराको पर्यटनसमेत धरापमा प¥यो ।

विनाशकारी भूकम्पले थला परेको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिन लागेको अवस्थामा सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपछि व्यवसायीले करोडौं लगानी गरेका थिए । तर, व्यवसायीले गरेको अपेक्षा ठिक उल्टो भएपछि लगानीकर्ताको अर्बौंको लगानी डुब्ने अवस्थामा पुग्यो । सरकारले लकडाउन हटाएको लामोसमय बितिसक्दासमेत पोखराको पर्यटकीय क्षेत्र सुनसान बन्यो ।

गत मंसिरमा लकडाउन अन्त्य भएसँगै पोखरेली पर्यटन बजारमा केही चहलपहल सुरु हुन थालेको छ । विदेशी पर्यटकको उपस्थिति हुन नसके पनि आन्तरिक पर्यटकको चहलपहल सुरु भइसकेकाले व्यवसायी खुशी भएका छन् ।

यसै अवसरमा पर्यटन क्षेत्रमा छाएको सन्नाटालाई चिर्न व्यवसायीले अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सवसमेत आयोजना गरे । यसबाट व्यवसायीले केही राहत महसुस गरे । व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न विशेष छुटसहितको प्याकेज ल्याएर पोखराको पर्यटनमा ब्राण्ड बनेको प्याराग्लाइडिङ सञ्चालन गरे । एकैदिन ४÷५ सयको संख्यामा प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटकको घुइँचो लागेपछि व्यवसायीमा उत्साह थपियो ।

लामो समय शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुन थालेपछि आफूहरुमा उत्साह थपिएको व्यवसायीको भनाइ छ । कोभिडका कारण लामो समयसम्म थलापरेको पर्यटन व्यवसायले बिस्तारै गति लिने अपेक्षा गरेको पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनले बताए ।

‘अब विस्तारै आन्तरिक तथा बाह्य पर्यटन आगमनमा वृद्धि हुने अपेक्षा गरेका छौ,’ उनले भने, ‘तर, विभिन्न देशले अन्तर्राष्ट्रिय उडान संचालन नगरेकाले बाह्य पर्यटक आगमनमा समस्या छ ।’

अध्यक्ष तुलाचनले लकडाउन खुलेपछि छोटो समयमै आन्तरिक पर्यटकको चहलपहल सुरु भएका कारण व्यवसायीमा सकारात्मक आशा जगाएको बताए ।

अकुपेन्सीले जगाएको आशा

आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चाप हुने लेकसाइडमा होटल, रेस्टुराँ र रिसोर्टहरुमा बिस्तारै पाहुनाको अकुपेन्सी बढ्न थालेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए ।

कोरोनाभाइरसको आतङ्क सुरु भएपछि होटल व्यवसायको अकुपेन्सी भूकम्प र द्वन्द्वकालको भन्दा पनि न्यून अवस्थामा पुगेको भए पनि विस्तारै वृद्धि हुन थालेको उनले बताए ।

‘अंग्रेजी नयाँ वर्षको बेला होटलको अकुपेन्सी बढेर ३० प्रतिशत पुगेको थियो, अहिले अकुपेन्सी घटेको छ,’ उनले भने ।

पोखराका होटल विगतमा यस बेला ८० प्रतिशतसम्म पर्यटकले भरिभराउ हुने गर्दथे । लामो समयसम्म मुलुकमा भएको द्वन्द्व र भूकम्पको बेलासमेत आन्तरिक पर्यटकको भरमा धानिएको पर्यटन व्यवसाय पुनः आन्तरिक पर्यटकको आशमा रहेको उनी बताउँछन् । सरकारले तत्काल भारतीय पर्यटकका लागि आगमन खुलाउनुपर्ने उनको भनाइ छ ।

पश्चिमाञ्चल होटल संघमा आवद्ध होटलको संख्या चारसय छ भने भेड संख्या २५ देखि ३० हजार छ ।

ट्रेकिङ व्यवसायी समस्यामा

आन्तरिक पर्यटकको आगमनले होटल, रेस्टुरेन्ट र प्याराग्लाइडिङ व्यवसायीलाई केही राहत दिए पनि पर्यटनसँग सम्बन्धित अन्य व्यवसायी भने समस्यामा छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न पर्यटकीय गन्तब्यसम्म पदयात्रा गराउँदै आएका ट्रेकिङ व्यवसायी पनि समस्यामै छन् ।

चिसो मौसमका कारण विश्वको चर्चित पर्यटकीय गन्तब्य अन्नपूर्ण आधार शिविर जाने पर्यटक नपाउँदा उनीहरु समस्यामा परेका हुन् । पदयात्राका लागि विदेशी पर्यटककै भर पर्नु परेकाले पनि व्यवसायी सन्तुष्ट हुन नसकेका हुन् ।

पदयात्रामा जाने अधिकांश विदेशी पर्यटक भएको र अहिले उनीहरुको आगमन नभएका कारण ट्रेकिङ व्यवसायी समस्यामा परेको ट्रेकिङ एजेन्सिज एसोसियसन नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण बरालले बताए । ‘बाह्य पर्यटकको आगमन नभएकाले अहिले सबैभन्दा बढी समस्यामा ट्रेकिङ व्यवसायी रहेका छन्,’ उनले भने, ‘पर्यटन क्षेत्रका अन्य व्यवसायमा आन्तरिक पर्यटकको आगमनसँगै केही सहज भएको छ, तर, बाह्य पर्यटकको भरमा रहेका ट्रेकिङ व्यवसायी अति नै प्रभावित भएका छन् ।’

कोरोनाका कारण थला परेको ट्रेकिङ व्यवसाय अझै २ वर्षसम्म उठ्न सक्ने अवस्था नरहेको उनले बताए ।

पर्यटकीयस्थलमा प्रवर्द्धनात्मक कार्यक्रम

आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले टे«किङ्ग एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराले विश्वको चर्चित अन्नपूर्ण पदयात्रामा पर्ने मादी गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलहरुको प्रवर्द्धनात्मक कार्यक्रम गरेको छ ।

टानले गाउँपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा यही माघ ३ देखि ८ सम्म मादीका ताङतिङ, क्रपुडाँडा, क्होलार्सोंथर, ठुलीलेक, कोरी, क्हफुचे ताल, सिक्लेस पदयात्रा मार्गको अध्ययन, अनुसन्धान तथा खोज एवं प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरेको हो ।

यो टे«कको प्रवर्द्धनका लागि टानका प्रतिनिधि, गाउँपालिकाका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पेशागत पथप्रदर्शक ,स्थानीय प्रतिनिधिहरु र पर्यटन व्यवसायीहरुको समेत सहभागिता थियो ।

पदयात्रा खोज, अध्ययन तथा प्रवर्द्धनको नेतृत्व टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशिलराज पौडेलले गरेका थिए ।

नेपालको पर्यटनको प्रमुख हिस्सा ओगट्ने पदयात्रा पर्यटन विगत केही समयदेखि कोरोना संक्रमणका कारण धरासायी हुँदै गइरहेको अवस्था आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष पौडेलले बताए ।

उनले नयाँ वैकल्पिक पदमार्गहरुको खोजी, पुराना पदमार्गहरुको प्रवर्द्धन र सम्वर्द्धन हुन नसकेको अवस्थामा टान पोखराले नयाँ गन्तव्यको खोजी गरी पर्यटक प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए ।

विभिन्न जातजाति, भेषभुषा, रहनसहन, कलासंस्कृति र सम्पदाहरुको समिश्रणको सुन्दरताको पहिचान गरी पदयात्रा क्षेत्रलाई ‘पदयात्रा संरक्षण क्षेत्र’का रुपमा विकास गर्ने टानको लक्ष्य छ ।

व्यवसायीको गुनासो– भाडा तिर्नै मुस्किल

पर्यटकीय क्षेत्र लेकसाइडमा विगत साढे २ दशकदेखि ट्रेकिङ्ग ब्यवसाय गर्दै आएका पर्वतका विनोद पौडेलले व्यवसाय धरापमा परेको बताए । उनले कोरोनाभाइरसको संक्रमण फैलिएसँगै व्यवसाय धरासायी बनेपछि बिहान बेलुका हातमुख जोर्नै सकस भएको बताए । ‘पसलमा बोहनीसमेत नभएको  महिनौं भयो’, उनले भने, ‘जीविकोपार्जन गर्ने मुख्य आधार नै यही व्यवसाय हो । व्यवसायनै धरापमा परेपछि कसरी बालबच्चाको स्कूल फि तिर्ने, कसरी भाडा तिर्ने र कसरी दैनिकी चलाउने ?’

सवै व्यवसायनै धरापमा परेपछि कतैबाट ऋण पनि नपाएको पौडेलले गुनासो पोखे । ‘एक हप्तादेखि बेलाबखत ऋण सापटी लिने गरेका एक दर्जनभन्दा धेरै साथीभाइसँग पैसा सापटी माग्दासमेत पाइनँ,’ उनले भने, ‘साथीजति सबैले उस्तै पीडा पोखे । व्यापार छैन, घर भाडा, बैंकको ब्याज र छोराछोरीको स्कूल फि तिर्नै सकस परेको भन्दै उल्टै पीडा सुनाए ।’

विगत दुई दशकदेखि लेकसाइडमा व्यवसाय गर्दै आएका गोर्खाका नेत्र पौडेलले २०७२ को महाभूकम्पको भन्दा पनि कोरोनाभाइरसका कारण व्यवसायमा ठूलो असर परेको बताए । ‘कोरोना भाइरसको संक्रमणसँगै व्यापार चौपट भएको छ,’ उनले भने, ‘२०७२ को भूकम्प जाँदाको अवस्थामा पनि यस्तो भएको थिएन । हल्काफुल्का व्यापार भएको थियो, अहिले त व्यवसाय ठप्पै भयो ।’

प्रदेश सरकारको व्यवसाय जीवनरक्षा कोषले उत्साहित

गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण धरासायी बनेका व्यवसायीको ‘व्यवसाय जीवन रक्षा गर्ने’ भन्दै निर्ब्याजी ऋणको व्यवस्था गरेपछि व्यवसायीमा उत्साह थपिएको छ ।

प्रदेश सरकारले नेपाल राष्ट्र बैंकको सहकार्यमा साना तथा मझौला व्यवसायीलाई लक्षित गरी ५० हजारदेखि १५ लाख रुपैयाँसम्मको निर्ब्याजी ऋणको व्यवस्था गरेपछि व्यवसायीमा उत्साह थपिएको हो ।

व्यवसायीले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति पनि अविलम्ब लागू गर्न माग गरेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रदेश सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँदै मौद्रिक नीति पनि अविलम्ब लागू गर्न आग्रह गरे ।

उनले ढिलै भए पनि जीवनरक्षा कोष शुभारम्भ हुनु निकै प्रशंसनीय रहेको उल्लेख गर्दै भने, ‘सरकारले राम्रो कामको सुरुवात गरेको छ । अब मौद्रिक नीति पनि सहज र सरल रुपमा कार्यान्वयन गरेर कोभिड–१९ को कारण व्यवसायबाट पलायन हुनबाट रोक्नुपर्छ ।’

खरबौंको लगानी भएको पर्यटन क्षेत्र यतिबेला निकै नराम्ररी प्रभावित भएकोे र २० देखि ३० प्रतिशत पर्यटन व्यवसायी पलायनको स्थितिमा पुगेको उनले बताए । सरकारले आफैले ल्याएको मौद्रिक नीति कार्यान्वयनमा ढिलाई गर्दा व्यवसायी निरास भएको उनको भनाइ छ ।

उनले साना व्यवसायीलाई पनि समेटेर मौद्रिक नीति सहज र सरलरुपमा लागू गरेर व्यवसायीलाई जीवन्त राख्न आग्रह गरे ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले प्रदेश सरकारले व्यवसायीको समस्यालाई गम्भीररुपमा लिएर अभिभावकीय भूमिका निर्वाह गरेको बताए । उनले सरकारको यस कदमले व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका व्यवसायीलाई ठूलो सहयोग पुग्ने दावी गरे । तर, सरकारले ल्याएको व्यवसाय जीवनरक्षा कोष पर्याप्त नभएको उनको भनाइ छ ।

‘सरकारले व्यवसायीलाई ३ देखि १५ लाखसम्म निर्ब्याजी कर्जा दिने भनेको छ । यो कोष पर्याप्त छैन । सानो व्यवसायीलाई राम्रै होला तर, ठुला व्यवसायीलाई १५ लाखको निर्व्याजी ऋणले खासै ठुलो राहत पुग्दैन,’ उनले भने, ‘ठुलो लगानी गरेका व्यवसायीलाई मध्यनजर गरेर सरकारले ऋण कर्जाको सीमा बढाउनुपर्छ ।’

प्रदेश सरकारले कोरोनाका कारण ठप्प भएर प्रभावित भएका व्यवसायीलाई व्यवसायबाट पलायन हुन नदिन एक अर्बको व्यवसाय सञ्चालन कोष सञ्चालनमा ल्याएको हो ।

कर्जा लिनको लागि सामूहिक वा व्यक्तिगत जमानी, व्यवसायमा रहेको जिन्सी स्टक, उपकरण, सामग्री, सवारीसाधन, घर, जग्गा, सुनचाँदी लगायतलाई धितोका रूपमा लिन सकिनेछ ।

कर्जा आवेदनका लागि सरकारी निकायमा दर्ता भएर उद्योग व्यवसाय सञ्चालन गरेको एक वर्ष पूरा गरेको हुनुपर्ने छ । उक्त कोष सञ्चालानार्थ चारवटा कर्जा शीर्षकमा गण्डकी प्रदेशभित्रका सबै पालिकाहरूमा रहेका १८ वटा वाणिज्य बैङ्कका चार सय बढी शाखामध्ये जुनसुकै शाखाबाट कर्जा लिन सकिनेछ ।

वाणिज्य बैंकले कर्जाको अवधि तीन वर्षसम्म रहने गरी एक लाख देखि १५ लाखसम्म लघु, घरेलु साना उद्यम कर्जा तथा साना पर्यटन व्यवसायका लागि कर्जा दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप