शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइएमई भरोसा कोषले प्रदेश १ मा वितरण गर्यो रकम, कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभान्वित

सोमबार, १२ माघ २०७७, १३ : १९
सोमबार, १२ माघ २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नम्बर १ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरेको छ । 

आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा हालै आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहयोग राशी बराबरको चेक हस्तान्तरण गरे । 

चेक हस्तान्तरण कार्यक्रममा लाभग्राहीहरू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवम् सदस्यहरू लगायत ग्रुपको प्रदेश नम्बर १ मा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरोना भाइरस (कोभिड–१९)ले ज्यान गुमाउन वाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयोग गर्नु कोषको मुख्य उद्देश्य रहेको बताए । 

कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ । प्रदेश नम्बर १ अन्तर्गतको बिर्तामोड क्षेत्रबाट कूल ४ जनालाई अध्यक्ष ढकालले उक्त सहयोग राशी हस्तान्तरण गरेका हुन् । 

कोरोनाभाइरस (कोभिड–१९)का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको हो । कोषले विभिन्न प्रदेशमा सहयोग रकम हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ भने प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा छिट्टै नै सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको छ । 

कोषबाट सहयोग राशी प्राप्त गर्नका लागि सन् २०२०को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०)सम्म कोभिड–१९का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप