शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले खत्तम पार्दियो : ओली

प्रचण्ड–माधवलाई ‘कुलंगार र भस्मासुर’को संज्ञा
सोमबार, १२ माघ २०७७, १६ : २४
सोमबार, १२ माघ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षलाई ‘कुलंगार र भष्मासुर’को संज्ञा दिएका छन् । उनले त्यस्ता प्रवृत्तिका मान्छेहरुले पार्टी छाडेर गएको पनि दावी गरे । 
सोमबार दाङको भालुवाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललगायतको नाम उच्चारण नगरी दुईचार जना ‘कुलंगार र भष्मासुर’हरूले पार्टी छोड्दैमा कम्युनिस्ट आन्दोलन कमजोर नहुने दावी गरेका हुन् । 

उनले केही मान्छेहरुले पार्टी बैठकमा नआएर बैंक्वेट र रेष्टुरेष्टमा बसेर आफूलाई पार्टीबाटै हटाएको भनेर भन्ने गरेपनि उनीहरुलाई निर्वाचन आयोगले उचित जवाफ दिएको बताए ।  
‘दुईचार जना मानिस पार्टीको बैठकमा नआएर बाहिर गएर, चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँडेका छन्’, ओलीले भने, ‘त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दियो । अध्यक्षसध्यक्ष कोही भएका छैनौ भनेर ।’ 
उनले आफूलाई पार्टीबाटै हटाएको भनेर प्रचार गरेपनि उनीहरुले आफूलाई पृथ्वीमै नरहे हुन्थ्यो भनेर भनिरहेको बताए । 

‘तपाईंहरु अचम्म मान्नुहुन्छ होला–दुईचार जना मानिस बैठकमा नआएर विभिन्न बैंक्वेट र रेष्टुराँहरुमा बसेर केपी ओलीलाई पार्टीबाट निकाले रे, साधारण सदस्यबाटै निकाले रे ! हाँस्न मन लागेन तपाईंहरुलाई ? उनीहरु मलाई भरसक यो पृथ्वीमै नरहे हुन्थ्यो भन्छन् । तर हुँदैन,’ सम्बोधनका क्रममा ओलीले आफूले नभइ पार्टी फुटाउन उनीहरुनै लागेको आरोप पनि लगाए । 

‘पार्टी फुटाउन चाहेका छन् । तर भ्रममा नपर्नुस् पार्टी फुट्दैन । दुईचार जना मानिस देश, जनताको भलो नगर्ने आत्मकेन्द्रीत कुलंगार र भस्मासुरहरुले पार्टी छोडे भन्दैमा आन्दोलन कमजोर हुनेवाला छैन’, ओलीको भनाइ छ । उनले निर्वाचन नगर भनेर आयोगमा भन्न जाने त्यस्ता पनि लोकतन्त्रवादी हुन्छन् ? भन्दै प्रश्न समेत गरे । 

 उनले अध्यक्ष चाहियो भनेर केटाकेटी जस्तो क्याङक्याङ गरेको र कामै नगर्न नदिएकाले संसद विघटन गर्नुपरेको बताए । ‘अध्यक्ष चाहियो भनेर क्याङक्याङ गर्ने केटाकेटी जस्तो पार्टी फुटाएर विभिन्न किसिमका समीकरण बनाएर सरकार बनाएर स्थायीत्व दिन्छु भन्ने ? जनताले त्यस्ता तत्त्वहरुलाई छानीछानी दण्डित गर्छन्’, ओलीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप