बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई ‘बाजे वकिल’को कटाक्ष : आगोसँग खेलेर आएको हुँ, तपाईंसँग सरम रहेनछ

ओलीको बोलीबारे प्रश्न गर्दा न्यायाधीशले सुने, प्रतिक्रिया दिएनन्
सोमबार, १२ माघ २०७७, २० : ४१
सोमबार, १२ माघ २०७७

काठमाडौं । उमेरले ९४ टेकेका कृष्णप्रसाद भण्डारीलाई वकिलहरुले ‘गुरुदेव’ भनेर सम्मान गर्छन् । उनी वरिष्ठ अधिवक्ता मात्रै हैनन्, वरिष्ठतम वकिल हुन् । सोमबार वरिष्ठतम अधिवक्ता भण्डारीले संवैधानिक इजलासमा उभिएर सोधे, ‘न्याय क्षेत्रको जेष्ठ नागरिकलाई प्रधानमन्त्रीले ‘नटुवा’ भनेको छ । सो अपमान मेरो मात्रै हैन, श्रीमानहरुको पनि हो । त्यसैले तपाईंहरु पनि सोच्नुस् ।’ 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित अन्य चार जना न्यायाधीशले कृष्णप्रसादको कुरा सुनिमात्रै रहे । मुसुमुसु हाँसे तर, प्रतिक्रिया जनाएनन् । लौरोको सहारामा इजलाश अगाडि उभिएका कृष्णप्रसादको मुहारमा आक्रोशको आवेग थियो । उनले थपे, ‘०३४ सालमा बारामा हिन्दु र मुसलमानको दंगामा आगोसँग खेलेर आएको हुँ, अहिले मलाई नटुवा भन्ने ?’ 

माघ ७ मा उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा उभिएर प्रतिनिधिसभा विघटनबारे बहस गरेका थिए । बहस गर्दै उनले भने, ‘जनताको सर्वोच्चतालाई आघात पार्न मिल्दैन ।’

भण्डारीको सो बहसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा ‘बाजे वकिललाई अदालतमा लगेर तमासा देखाएको’ टिप्पणी गरे । प्रधानमन्त्रीको सो भनाइको सर्वत्र आलोचना भइरहेको छ । वरिष्ठ अधिवक्ता  डा. दिनेश त्रिपाठी आइतबार ओलीको सो भनाइबारे इजलासमा प्रश्न उठाउँदै उनलाई पुर्जी काट्नुपर्ने जिकिर गरेका थिए ।  

संवैधानिक इजलासबाट निस्केपछि भण्डारीले रातोपाटीसँगको कुराकानीमा आगोसँग खेलेको प्रसंग यसरी सुनाए  ः 

बारामा हिन्दु र मुसलमानको बीचमा संग्राम भइरहेको थियो । न्यायाधीशलाई गएर सोधेँ–‘तपाईं फैसला गर्न सक्नुहुन्छ ?’ मारापिट भएर मान्छे मर्छन् कसरी फैसला गरौं भन्नुभयो । त्यसोभए म गरौं भनेँ । न्यायाधीशले ‘हुन्छ भने ।’ 
कुरा ०३४ सालको हो । प्रशाासन र प्रहरीमा गएर भनेँ ‘गाउँमा अशान्ति भएको छ ।’ प्रहरी र प्रशासनले भन्यो–‘कति ल्याउनु कति कुट्नु तवाह–तवाह भयौं ।’

अनि, महिनौ दौडिएर दुवै समूहलाई मिलाएँ । पोखरीको झगडा थियो । झगडा मिल्ने बिन्दुमा पुगेपछि न्यायाधीश, वकिल र प्रशासनका मान्छे बोलाएर ठुलो भोज गरियो । सबैैले ‘मिल्छौं’ भने । अनि, माछा र भात खाएर छुटे । हिन्दु र मुसलमान समुदायको बीचको दंगामा हात हाल्नु भएको आगो चलाउनु सरह हो । म त्यो आगोसँग खेलेर आएको हुँ । अहिले त्यो मान्छेलाई प्रधानमन्त्रीले ‘नटुवा’ भनेका छन्, म छक्क परेको छु !

बन्दुक उठाएका कम्युनिष्ट

००७ सालमा श्रमजिवी जनताको पक्षमा कृष्णप्रसादले बन्दुक उठाएका थिए । ‘सात सालको बन्दुकधारी हुँ’ भण्डारीले रातोपाटीसँग भने । कम्युनिष्टको राजनीति समेत गरेका भण्डारी रौतहटमा थिए । झापा विद्रोहपछि मोहनचन्द्र अधिकारी र केपी ओली रौतहटको इनरबारीमा पुगे । त्यहाँ कृष्णप्रसाद भण्डारीले नै ओलीलाई सेल्टर दिने व्यवस्था मिलाएका थिए । 
कृष्णप्रसाद नेकपा बर्माका केन्द्रीय सदस्य पनि भएका थिए । 

प्रधानमन्त्रीले ‘बाजे वकिल’ भनेर होच्याएको समाचार उनले टिभीमा हेरेर थाहा पाए । इजलासमा  ध्यानाकर्षण गराएपछि रातोपाटीसँग कुरा गर्दै कृष्णप्रसादले ओलीको बोलीबारे टिप्पणी गरे–‘मलाई नटुवा भन्ने, जेष्ठ नागरिकको इज्जत गर्नुपर्दैन ?’ प्रधानमन्त्रीसँग ‘सरम नभएको’ भण्डारीको टिप्पणी छ । 

पञ्चायतकलमा गोली चलेर ११ जना मान्छे मर्दा कसैले गृह मन्त्रालयमा उजुरी गरेको प्रसंग पनि भण्डारीले सुनाएका छन् । ‘म दरभंगामा गएँ, यता मेरो मृत्युको हल्ला चलेछ ।’ फर्केर आएर भनेँ–‘म जिउँदै छु ।’
दरभंगामा बस्दा आफ्नी पत्नीलाई समाजले ‘विधुवा’ भनेको उनले सुनाए । भण्डारीले भने,‘संघर्ष गरेर आएको हुँ, नाटक देखाउन अदालतमा गएको हैन वकालत मेरो पेसा हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप