शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको खोप लगाएकालाई दुबईका रेस्टुरेन्टमा विशेष छुट

सोमबार, १२ माघ २०७७, २२ : २७
सोमबार, १२ माघ २०७७

एजेन्सी । कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई दुबईका रेष्टुरेन्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ ।  रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् । 

संयुक्त अरब इमिरेट्स (युएइ) का कुल एक करोड बासिन्दा मध्ये अहिले झण्डै २५ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको अधिकारीहरुले जनाएका छन् ।  धेरै जनालाई खोप लगाएका मुलुकहरूमध्ये इजरायलपछि युएइ विश्वभरीको दोस्रो क्रममा रहेको पनि समाचारमा जनाइएको छ । 

रेस्टुरेन्ट व्यवसायीहरुले पहिलो खोप लगाएकालाई १० प्रतिशत र दोस्रो खोप लगाएकालाई २० प्रतिशत छुटको व्यवस्था गरेका छन् । छुट सुविधा उपभोग गर्नका लागि खोप लगाएको आधिकारिक प्रमाणपत्र पेश गर्नु पर्ने सर्त राखिएको छ ।

रेस्टुरेन्ट व्यवसायीहरूको यस अभियानलाई धेरैले सकारात्मक रुपमा लिएका छन् भने सामाजिक सञ्जालमा पनि प्रशंसा भइरहेको छ । “यसलाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । यो अभियानले कतिपयले हल्का रुपमा लिने र ठट्टाको विषय बनाउने छन् वा खोप लगाउनका लागि प्रेरित हुनेछन्,” एक जनाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

युएईको दुबईसहित सात क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने अभियान गत डिसेम्बरदेखि नै चलिरहेको अधिकारीहरुले जनाएका छन् ।  युएइमा चीनमा विकास गरिएको सिनो फार्म र अमेरिकी र जर्मनी साझेदारले विकास गरेको फाइजर खोप लगाइएको छ । सिनो फार्म खोप अहिले पनि निःशुल्क उपलब्ध गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
 
युएइमा आइतबार थप तीन हजार ५७९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै युएइमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजारभन्दा बढी पुगेको छ । युएइमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये  अहिलेसम्म ७९२ जनाको मृत्यु भएको छ  ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप