शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व कै सर्वाधिक धनी एलन मस्कको नयाँ रेकर्ड : एकै पटकमा प्रक्षेपण गरे १४३ भू उपग्रह

बुधबार, १४ माघ २०७७, ०८ : ४९
बुधबार, १४ माघ २०७७

नयाँ वर्ष २०२१ को आगमनसँगै  टेस्ला, स्पेसएक्स, न्यूरोलिंक लगायत विभिन्न  कम्पनीका मालिक युवा एलन मस्कले एक वर्षमै  १५० अर्ब डालर भन्दा बढीको कमाइ गरेर  सर्वाधिक धनाढ्य अरबपति जेफ़ बोजेसलाई पछि पार्दै विश्वको सर्वाधिक धनी व्यक्ति हुने सौभाग्य पाएका हुन्।

यिनै अरबपति मस्कले अब एउटा अर्को रेकर्ड पनि आफ्नो नाममा दर्ज गराएका छन्। मस्कको कम्पनी स्पेसएक्सले एकै पटकमा एउटै रकेटबाट १४३  भू उपग्रह (स्याटेलाइट) प्रक्षेपित गरेर  विश्व कीर्तिमान बनाएको हो।  २५ जनवरीमा मस्कको कम्पनीले भारतीय अन्तरिक्ष संस्था 'इसरो'को रेकर्ड ब्रेक गर्दै यो  नयाँ कीर्तिमान बनाएको हो।  यसभन्दा पहिला यो कीर्तिमान 'इसरो' अर्थात भारतीय अन्तरिक्ष संस्थानको नाममा रहेको थियो।  'इसरो' ले सन २०१७ को १५  फेब्रुअरीमा एउटै रकेटबाट १०४ स्याटेलाइट अन्तरिक्षमा पठाएर यो कीर्तिमान स्थापित गरेको थियो। इसरोले यस कार्यका लागि आफ्नो शक्तिशाली स्वदेशी रकेट 'पोलर स्याटेलाइट लांच व्हीकल' (pslv  ) सी -३७ फ्लाइट प्रयोग गरेको थियो। स्पेसएक्सले १४३ स्याटेलाइट पठाएर इसरोको रेकर्ड भंग गर्दै नयाँ रेकर्ड बनाएको हो।

स्पेसएक्स कम्पनीको ट्विटर पेज तथा अर्बपति एलन मस्कको ट्विटर पेजबाट यसको जानकारी गराइएको छ। ट्विटर पेजमा उल्लेख  गरिए अनुसार स्पेसएक्स कम्पनीले आफ्नो बाहुबली रकेट 'फाल्कन ९' ( falcon9 ) मार्फ़त १४३ विभिन्न स्याटेलाइटलाई अन्तरिक्षमा स्थापित गरेको हो।  प्राप्त समाचार अनुसार रकेट प्रक्षेपण  गरिएपश्चात अन्तरिक्षको कक्षमा स्थापित हुनुभन्दा पहिला  १४३ वटा स्याटेलाइट बोकेको फाल्कन ९ रकेट भारतीय भूमिको आकाश माथिबाट पनि गुज्रिएको थियो। भारतीय अन्तरिक्ष संसथान 'इसरो'ले भारतीय भूमि माथि रकेट उड़दै गरेको  संकेत आफ्नो 'टेलेमैटी' उपकरणमा  कैद  गरेको छ।

स्पेसएक्सको यस कीर्तिमानी  प्रक्षेपण अभियानमा सैनफ्रांसिस्को प्लानेट कम्पनीका सुपरडोभ मोडलका ४८ वटा स्याटेलाइट, फिनल्याण्डको आइसी कम्पनीका स्याटेलाइट, अमेरिकाको सपेला र अम्ब्रा  कम्पनीका स्याटेलाइट र जापानको आईक्यूपीएस कम्पनीका स्याटेलाइट रहेका छन्।

यस प्रक्षेपण कार्यक्रममा मस्कको आफ्नै कम्पनी स्पेसएक्सको 'स्टारलिंक कांस्टीलेसन' प्रोग्रामका १० वटा  स्याटेलाइट पनि रहेका छन्।

यसभन्दा ५ दिन पहिला २० जनवरीका दिन मस्कको स्पेसएक्स कम्पनीले एउटै रकेटबाट ६० वटा विभिन्न स्याटेलाइट प्रक्षेपित गरेको थियो।

मस्कको 'ड्रीम प्रोजेक्ट, स्टारलिंक कांस्टीलेसन' अन्तर्गत अहिलेसम्म ९६५ वटा स्याटेलाइट प्रक्षेपण भइसकेका छन।  उनी यस 'ड्रीम प्रोजेक्ट'का लागि ३० हजार स्याटेलाइट अन्तरिक्षमा स्थापित गरेर ब्रोडब्याण्ड इन्टरनेटका क्षेत्रमा अभूतपूर्व क्रान्ति नै ल्याउन चाहन्छन्। उनी यसै लक्ष्यका साथ अघि बढिरहेका छन् ।

  विभिन्न प्रयोजनका लागि पृथ्वीको तल्लो कक्षमा स्थापित गरिने स्पेसएक्स कम्पनीको विशेष अभियान 'डेडिकेटेड राइडशेयर प्रोग्राम' अन्तर्गत यी स्याटेलाइट पठाइएका  हुन्। स्पेसएक्सले अब कुनै पनि कम्पनी अथवा देशले  अन्तरिक्षमा स्याटेलाइट पठाउन  आफूसँग सम्पर्क गर्न सुचना पनि प्रकाशित गरेको छ। अरु देशका अन्तरिक्ष एजेन्सीभन्दा स्पेसएक्सको स्याटेलाइट पठाउने खर्च निकै कम हुनेछ।

मस्कले आफ्नो 'ड्रीम प्रोजेक्ट स्टारलिंक कांस्टीलेसन'का लागि अहिलेसम्म झण्डै १० अर्ब डालर लगानी गरिसकेका छन्।

मस्कले अन्तरिक्ष  पर्यटनको योजनामा पनि द्रुत गतिले काम गरिरहेका छन्।  उनी आउदो  ४-५ वर्ष भित्रै अन्तरिक्षलाई 'टूरिस्ट स्पट'का रूपमा विकसित गर्न चाहन्छन् ।  यसका साथै मस्कले आफू १४ वर्षको छँदा पढेको एउटा उपन्यासको योजनामा पनि काम गरिरहेका छन।  उनले विश्वको सबैभन्दा धनी बनेपछि ट्वीटमार्फत घोषणा नै गरेका थिए, उनको आधी सम्पति झण्डै ९५ अर्ब डालर आफू केटाकेटी हुँदा पढेको उपन्यासको कथालाई साकार पार्नमा खर्च गरिने छ। 

त्यस फैंटासी पुस्तकमा पृथ्वी छाड़ी मंगल ग्रहमा गई बस्ने उल्लेख भएको थियो।  मस्क आफ्नो जीवनकालमा मंगल ग्रहमा मानव बस्ती बसाउन  चाहन्छन्।  यसका लागि उनी अर्बौ अर्ब डलर खर्च गर्न तैयार छन्। 

गत वर्ष एउटा सार्वजनिक कार्यक्रममा उनले आफै मंगल ग्रहमा जाने इच्छा व्यक्त गरेका थिए।  उनले भनेका थिए– मलाई ७० प्रतिशत विश्वास छ मेरो यो सपना पूरा हुन्छ, म यसै जीवनकालमा मंगल ग्रहको धरातलमा पुग्न सफल हुनेछु।

पृथ्वीका मानिसले अहिलेसम्म पृथ्वी बाहेक चन्द्रमामा मात्रै पुग्ने सफलता पाएका छन्।  उक्त कार्यक्रममा उनले भनेका थिए -मलाई थाहा छ मंगल यात्राका क्रममा बाटोमै अथवा मंगलमा 'ल्याण्ड' गर्ने क्रममा अथवा मंगलबाट फर्किन नसक्ने कारणले  त्यही नै उनको मृत्यु पनि हुन सक्छ। एलन मस्क अहिले संसारभरिका युवाहरुका लागि  प्रेरणा श्रोत बनेका छन्। निश्चय पनि युवाहरुले यस्तो डेडिकेटेड युवालाई, आफ्नो सपनाका लागि सर्वस्व गुमाउनका साथै मृत्युलाईसम्म अङ्गाल्न नडराउने मस्कलाई आफ्नो प्रेरणाको श्रोत बनाउनै पर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप