बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं २ मा पनि खोप अभियान सुरु

बुधबार, १४ माघ २०७७, १४ : ३७
बुधबार, १४ माघ २०७७

धनुषा । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो खोप दिएर उक्त अभियानको शुभारम्भ गरिएको छ ।

सङ्घीय सरकारले उक्त खोप अभियानअन्तर्गत नारायणी अस्पताललाई पाँच हजार कोभिड–१९ विरुद्धको खोप दिएको छ । सो खोपले पाँच हजार २०० व्यक्तिलाई खोप पुग्ने लक्ष्य लिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेण्टेड (मेसु) डा.सञ्जय ठाकुरले बताए ।

यस अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, अस्पतालका कर्मचारी, स्वास्थ्य स्वयमसेविका, दोस्रोचरणमा सुरक्षाकर्मी र तेस्रो चरणमालगायत सर्वसाधारणलाई सो खोप दिने बताइएको छ । खोप लिनलाई सबैले आइएमयुमा नाम दर्ता गराउनुपर्ने प्रावधान रहेको छ । अठार वर्ष भन्दामाथि उमेरका व्यक्तिलाई सो खोप दिइन्छ । गर्भवती महिला, भर्खर जन्मेका बच्चालाई दूध चुसाउने महिला तथा दीर्घरोगीलाई भने यो खोप लगाउन नहुने खोप अधिकृत अनिलकुमार सिंहले बताए ।

आजै प्रदेश २ मा रहेको आठ जिल्लाको नौ स्थानमा  खोप अभियान शुरु भएको छ । शुरुमा प्रदेश २ को आठ वटै जिल्लामा कोभिड–१९ को प्रकोप भयावह रहेकोले मानिस प्रदेश २ मा आउन डराउने गर्दथ्यो तर अब सो अवस्था नरहेकाले अहिले त्यो सङ्ख्या घटेर फाट्टफट्ट रुपमा मात्र देखापरेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताए ।

कोरोनाबाट प्रदेश २ मा मृत्यु हुनेको सङ्ख्या एक प्रतिशत मात्र रहेको स्वास्थ्य निर्देशनालय जनकपुरले दाबी गरेका छन् । प्रदेश नं २ मा कोभिड–१९ विरुद्धको ३४ हजार ८०४ वटा डोज औषधि दिइएको बताइएको छ । कोभिड–१९ विरुद्धको खोप लगाएपछिको अवस्थाबारे जानकारी दिँदै स्वास्थ्यकर्मी हेमा थापाले यो खोप लगाउँदा शरीरमा कुनै प्रकारको नकारात्मक प्रभाव नपरेकाले सबैसँग खोप लगाउन आग्रह गरे ।

यस खोप अभियानको उद्घाटन गर्दै प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा कोरोना सङ्क्रमणको अवस्था न्यून रहेको बेला सङ्घीय सरकारले प्रदेश २ का जनतालाई खोप दिएपछि भय र त्रास हटेर गएकोले सबैसँग खोप लगाउन आग्रह गरे ।

पर्साका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष आशमान तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा पर्सा क्षेत्र नं– १ का सांसद प्रदीप यादव, प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झा, वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेशकुमार, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सभापति दीपेन्द्र चौहान, नारायणी अस्पतालका मेसु डा.सञ्जय ठाकुरलगायतका वक्ताले भारतमा १० लाख भन्दा बढी मानिस यो खोप लगाएको र यसको नकारात्मक प्रभाव नदेखिएकोले सबै निर्धक्क भई यो खोप लगाउन सबैलाई आग्रह गरे ।

ढुक्क भएर खोप लगाउन आग्रह

नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान आजदेखि देशभरमा शुरु भएसँगै सप्तरीमा पनि शुरु भएको छ ।  राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले ब्यानर पढेर खोप हस्तान्तरण गर्दै अयाभिनको शुभारम्भ गरे । सप्तरीमा राजविराजस्थित अस्पताल र रुपनी गाउँपालिकास्थित पूर्व क्षेत्रीय प्रहरी अस्पताल (ठाको देवी–जोगेन्द्र भगत) मा स्वास्थ्यकर्मी, सफाइकर्मीलाई पहिलो चरणमा खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । 

खोप अभियानको सप्तरीमा उद्घाटन गर्दै प्रदेश २ का सामाजिक विकासमन्त्री साहले ढुक्क भएर खोप लगाउन आग्रह गरे । “खोप लगाएपछि कसैकसैलाई सामान्य असर देखा परे पनि ती असर केही समयपछि आफैँ हराएर जाने हुन्छ”, प्रदेशमन्त्री साहले भने, “जीवनरक्षाका लागि लगाइने हरेक खोपको सामान्य असर देखापरेझैं यसको सामान्य असर देखिए पनि आत्तिनुपर्ने अवस्था छैन ।” पहिलो चरणमा स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप लगाएपछि दोस्रो चरणमा सर्वसाधारणका लागिसमेत निःशुल्क खोप उपलब्ध हुने उनले बताए ।

गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजीतकुमार झाले खोप लगाउँदा कसैकसैलाई जीउ दुख्ने, ज्वरो आउने, टाउ कोदुख्ने, अल्छी लाग्ने, डाबर देखिने, कमजोरी महसुस हुने भए पनि खतरा नरहेको बताए । “कतिपय अवस्थामा यदाकदा औषधि पनि आवश्यक देखिन सक्छ, त्यस्को समाधान लागि अस्पतालले तयारी अवस्थामा टिम राखेको छ”, डा.झाले भने, “यो खोप परीक्षण गरेर ल्याइएकाले सुरक्षित र प्रभावकारी छ ।” उनले भने, “अरू मुलुकले नपाउँदै हामीले खोप पाएका छौँ, डर नमानी विश्वस्त भएर लगाउन सकिन्छ ।”

डा.झाले गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका महिला, गम्भीर बिरामी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप अभियानमा सहभागी नगराइने बताए । खोप लगाउनेलाई खोप लगाएको प्रमाणका रूपमा परिचयपत्र वितरण गरिनेछ । परिचयपत्रमा खोप लगाउने व्यक्तिको नाम, उमेर, पालिका, वडा नं, सम्पर्क नं, पहिलो र दोस्रोपटक खोप लगाएको मिति, खोपको नाम, खोपको ब्याच नं तथा खोप लगाइदिने स्वास्थ्यकर्मी र सफाइकर्मीको नाम उल्लेख हुन्छ ।

खोपको पहिलो डोज लगाएको चार सातापछि दोस्रोपटक लगाउनुपर्ने हुन्छ । दोस्रोपटक खोप लगाउँदा कार्ड अनिवार्यरूपमा पेश गर्नुपर्ने नियम बनाइएको छ । सप्तरीका लागि आएको ८३३ भायल कोरोना खोपले तीन हजार ७५४ जनालाई खोप लगाउन सकिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलालगायत स्वास्थ्यकर्मी र सरसफाइकर्मीको उपस्थित रहेको छ । यो खोप अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका नामक औषधि उत्पादकले संयुक्तरूपमा विकास गरेका हुन् । भारतस्थित सेरम इन्स्टिच्युटले उत्पादन गरेको यो खोपको तेस्रो चरणको ट्रायलसमेत पार भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा.झलक गौतमले आज ६५ भन्दा बढी जिल्लामा एकसाथ खोप लगाउन थालिने बताएका छन्। मुलुकभर चार लाख ३० हजारजनालाई खोप लगाउने लक्ष्य राखी सातवटै प्रदेशमा खोप ढुवानी भइसकेको डा गौतमले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप