ad
केन्द्रीय संस्करण
भ्याक्सिनले जगाएको आशा

कोरोनाविरुद्ध नयाँ युग : त्रासका ती दिन, खुसीका यी दिन

person explore access_timeमाघ १४, २०७७ chat_bubble_outline0

जुलाई २० सन् १९६९ मा निल आर्मस्ट्रङले पहिले आफ्नो देब्रे पाइलाले चन्द्रमा टेके । उनले सो उपलब्धिलाई,‘मानिसको  एउटा सानो पाइला, मानवताका लागि अजंग छलाङ’ भनेर व्याख्या गरेका थिए । तर, ५० वर्षपछि मानव जाति र विज्ञानको अस्तित्त्वमाथि नै संकट सृजना गर्नेगरी कोरोना भाइरसले शिर उठायो । 

२०१९ को अन्त्यमा चीनको ऊहानबाट फैलिएको कोभिड–१९  नामक कोरोना प्रजातिको यस भाइरसले मानव समूदाय र विज्ञानलाई  दिएको चुनौती अझै पार लागिसकेको छैन । यद्यपि, आशाका किरणहरु देखिएका छन् र त्यही किरणको एउटा झिल्को बुधबार नेपालमा प्रकट भयो । महिनौंसम्मको सकस, तनाव र अभावपछि सुरु भएको खोप विकास, विश्वका विभिन्न प्रयोगशालामा विभिन्न चरण र त्यसपछि मानिसमा यसको परीक्षणले आशाको दियो निभ्न दिएको थिएन । फलत, अहिले धेरै देशमा खोप कार्यक्रम चलिरहेको छ । 

यही अभियानअन्तर्गत बुधबार नेपालमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाइयोे, शुक्रराज ट्रपिकल सरुवारोग अस्पताल, टेकुका डाक्टर शेरबहादुर पुनले यसलाई कोरोनाविरुद्धको लडाइँको विराट उपलब्धिको रुपमा चित्रित गरे । ‘संख्यात्मक रुपमा अहिले थोरैले लगाएपनि कोरोनाविरुद्धको लडाँइमा यो ठूलो महत्त्व राख्ने कदम हो । यद्यपी, अझै लामो बाटो तय हुनै बाँकी छ । त्यसैले सतर्क रहँदै यसको सामना गर्नुपर्छ,’ खोप लगाएपछि पुनले प्रतिक्रिया दिए, ‘यसले समस्यासँगै समाधान पनि छ भन्ने सन्देश दिएको छ ।’ 

नेपालमा पहिलो चरणमा १० दिनको अवधिमा झन्डै ४ लाख ३० हजार जनालाई खोप लगाउने सरकारी तयारी छ, यसक्रममा २८ दिनको अन्तरमा प्रत्येकलाई खोपको दुई डोज लगाइन्छ ।  अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेका कम्पनीले मिलेर विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ र यसलाई ‘कोभिशिल्ड’ नाम दिइएको छ । यही खोपको १० लाख डोज नेपालले अनुदानमा पाएको हो । 

त्यस्तै, भारत, चीनलगायत अन्य देशसँग पनि खोप खरिद गर्ने विषयमा सरकारले छलफल अघि बढाएको छ । यसका अलावा ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनअन्तर्गत कोभाक्स सुविधाबाट नेपालले सहुलियत दरमा कुल जनसंख्याको २० प्रतिशतलाई पुग्नेगरी खोप प्राप्त गर्नेछ । 

अहिले नेपालमा प्रयोग गरिएको कोभिशिल्ड खोपको विश्वसनीयता दर ६२ देखि ९० प्रतिशत रहेकाले पनि यसलाई लगाउन कुनै हिच्किचाहट मान्नु नपर्ने जनस्वास्थविद्हरुको भनाइ छ । 
‘विभिन्न खाले भ्रम र अफवाहका कारण कतिपय व्यक्तिहरु खोप लगाउन तर्सनु भएजस्तो देखिन्छ । गर्भवती, स्तनपान गराइरहेका, हाइपरटेन्सन भएका र खोपका कारण एलर्जी देखिएकाबाहेक अरु सबैलाई नतर्सिइ खोप लगाउन आग्रह गर्छु,’ टेकु अस्पतालका कोभिड–१९ संयोजक अनुप बाँस्तोलाले रातोपाटीलाई भने । 

राष्ट्रिय जनस्वास्थ प्रयोगशालाकी डाक्टर रुना झाले कोरोनाविरुद्धको लडाइँ जित्नका लागि खोप लगाउन जरुरी छ भन्ने सन्देश दिनका लागि आफूले पहिलो दिन नै खोप लगाएको बताइन् । 
उनीसहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका महानिर्देशक सागर राजभण्डारीसहित फ्रन्टलाइनमा खटिने विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र सरसफाईकर्मीले बुधबार खोप लगाएका छन् । 
त्रासका ती दिन 

खोप लगाउँदै गर्दा धेरैजसो स्वास्थ्यकर्मीहरु कोरोनाका सुरुवाती दिन स्मरण गरिरहेका थिए । गत पुसमै नेपालमा कोरोनाका पहिलो बिरामी भेटिए, तर हङकङको ल्याबमा परीक्षण गरेर नतिजा आउँदासम्म माघ लागिसकेको थियो । 


‘माइक्रोबायोलोजी डाक्टर रन्जित शाहले पहिलो संक्रमितको स्याम्पल लिनुभएको हो । त्यसपछि हङकङस्थित ल्याबमा परीक्षणका लागि पठाइयो । स्याम्पल लिदाँसम्म परीक्षण गराउने व्यक्तिमा कोरोना होला भन्ने शंका गरिएन ।  जब नतिजा, पोजेटिभ आयो । तब समस्या भयो,’ प्रयोगशाला प्रमुख झाले विगत सम्झिइन्, ‘  शाहजीले केवल एउटा मास्कको भरमा प्रयोगशालामा स्याम्पल लिनुभएको थियो, पीपीई त उपलब्ध नै थिएन र स्याम्पल लिदाँ बिरामीले खोकिदिनु भएको पनि थियो र डाक्टर सापलाई धेरै समय त्रास थियो । १५–२० दिन प्रेसर भएको महसुस भएको थियो ।’

डाक्टर शाहमात्रै नभएर राष्ट्रिय जनस्वास्थ प्रयोगशाला र टेकु अस्पतालका अधिकांश स्वास्थ्यकर्मी तथा कर्मचारी पनि संक्रमणको घटना सार्वजनिक भएपछि आतंकित बनेका थिए । तर, त्रासका बाबजुद आम सर्वसाधारणको जीवनरक्षाका लागि उनीहरु महिनौंसम्म अहोरात्र खटिए, अहिले पनि खटिएकै छन् । 

टेकु अस्पतालमा कार्यालय सहयोगीका रुपमा कार्यरत नुवाकोटका लालबहादुर वाइवाले कोरोना संक्रमणको सुरुवाती दिनमा निकै त्रास भएको स्मरण गरे  । उनले भने, ‘अस्पतालमा काम गर्ने भएकाले म १० महिनासम्म त घर नै गइँन । निरन्तर ड्युटी गरियो, आफूमार्फत अन्य कोही संक्रमित नहोस् भन्ने सधैं थियो । तर आज, पहिलो प्राथमिकतामै खोप लगाउन पाउँदा निकै खुसी लागेको छ । यसले कोरोना न्यूनीकरण गर्छ भन्नेमा आशावादी छु ।’

सुरुवातमा आवश्यकताभन्दा धेरै त्रास फैलिएपनि स्वास्थकर्मीहरु सम्हालिएको झा बताउँछिन् । ‘गत वर्ष एक इटालियन पर्यटक हाम्रो कार्यालयमा आइपुगेका थिए । त्यसपछि सबै कर्मचारीहरुको भागभाग भयो । रिसेप्सनमा बस्ने साथीसँग उहाँले केही सोध्न खोज्नु भएको रहेछ । तर ती साथी काँपेर बस्नुभयो र जवाफ फर्काउनै सक्नु भएन । पछि, म आफैं गएर उहाँसँग कुराकानी गरे,’ झाले भनिन्, ‘उहाँ हाम्रो प्रयोगशालासँगै जोडिएको टेकु अस्पताल जानुपर्ने, बाटो झुक्किएर यता आइपुग्नुभएको रहेछ ।’

आम सर्वसाधारणझैं स्वास्थ्यकर्मी, उनीहरुका आफन्त र परिवारहरु चिन्तित हुनु स्वभाविकै थियो । किनकी, कोरोनाबारे न पर्याप्त अध्ययन भएको थियो, न यसको उपचार नै थियो । बिरामी तथा एकअर्काको सम्पर्कमा आउँदा समेत संक्रमित हुनसक्ने उच्च जोखिम रहेकाले स्वास्थकर्मीहरु निकै त्रासमा थिए । अवकाशपछि पनि सरकारी अस्पतालहरुमा कार्यरत कतिपय कर्मचारीहरुले त्रासकै कारण कोरोनाकालमा भने हतारहतार राजीनामा गरे, तर स्वीकृत भएन । उनीहरु किन समयमै जागिर छाडेर हिँडिएन भन्दै पछुतो पनि गर्थे । यद्यपी छोटो समयमै भ्रम टुट्यो अनि काममा सक्रिय भएर लागे । 

‘त्रासका बाबजुद मानवताको सेवा गर्ने मौका यही हो भन्नेमा धेरैजसो स्वास्थ्यकर्मी विश्वस्त हुनुहुन्थ्यो, किनकी हाम्रो पेशाको माग पनि यही हो,’ झाले थपिन्, ‘त्यसैले सुरुमा केही आतंकित भएपनि विस्तारै सतर्कता र साहसपूर्वक स्वास्थकर्मीहरु फ्रन्टलाइनमा खटिनुभयो । विश्वलाई नै आतंकित गर्ने यो महामारी जसरी एउटा दुग्भार्य हो, त्यसरी नै मानवताको सेवा गर्ने यस्तो अवसर स्वास्थ्कर्मीका लागि भाग्य पनि हो ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.