शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाँगुनारायणका युवालाई उद्यमी बनाउन युवा परिषदले सहयोग गर्ने

बुधबार, १४ माघ २०७७, १७ : ०४
बुधबार, १४ माघ २०७७

भक्तपुर । चाँगुनारायण नगरपालिकाका युवाहरुलाई उद्यमी बनाउन राष्ट्रिय युवा परिषदले सहयोग गर्ने भएको छ ।  नगरपालिकाको सातौं नगर परिषदबाट पारित भएको मेयर उद्यमशीलता कार्यक्रम अन्र्तगत व्यवसाय गर्न चाहाने युवालाई विना ब्याज, विना धितो ३ लाख रुपैयाँँसम्म ऋण दिने कुरा पारित भएको थियो । 

सोही अनुसार नगरपालिकाको सूचना प्रकाशित गरेर युवाहरुलाई आह्वान गरेको थियो । सो अनुसार १ हजार १२ जना युवाहरुले उद्यमी बन्ने चाहाना राखेका छन् ।  तर, सबैलाई एकैपटक समेट्न नसक्ने भएकाले क्रमशः यो आर्थिक वर्षमा ३ सय जनालाई उद्यमी बनाउने नगरपालिका र युवा परिषदबीच सम्झौता भएको छ । आगामी वर्ष थप ३ सय युवालाई स्वरोजगार बनाउने दुई संस्थाबीच सहमति भएको हो । 

परिषदको कार्यालय सानोथिमि भक्तपुरमा बुधबार एक कार्यक्रमकाबीच चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।  उद्यमी बन्नेलाई पहिलो चरणबाट छनोट गरेर मानसिक र व्यवसायिक रुपमा तयार बनाउने र ऋणको लागि विभिन्न बैंकसँग सहकार्य गर्ने युवा परिषदका कार्यकारी अध्यक्ष ढुंगेलले बताए । 

युवाहरुलाई तालिम दिने र सीप सिकाउन अन्य निकायसँग समन्वय गर्न हामीले यो सम्झौता गरेका हौं भन्दै ढुंगेलले भने–‘युवालाई विदेश पलायन हुनबाट रोक्न विभिन्न कार्यक्रम गर्दै आएका छौं ।’ नगरपालिकाका प्रमुख मिश्रले युवाहरुलाई आफ्नै गाउँमा रोजगारी दिने कार्यमा लागि रहेको र सहुलियत ऋण, सीपमुलक तालिमजस्ता विषयमा नगरपालिका योजना बनाएर अगाडी बढेको जानकारी दिए । 

उनले भने– ‘नगरपालिकाले आफैं युवाहरुको छनोट गरेर स्वरोजगार बनाउने भन्दापनि विज्ञसँगको परामर्शबाटनै मेयर उद्यमशीलताका लागि युवाहरु छानिने छन् । ’ १ हजार १२ जनाबाट क्रमश ६ सय जनालाई छनोट गर्ने र पहिलो चरणमा नेपाल बैंकसँग भएको सम्झौताअनुसार ३ सय जनालाई ऋण दिइने छ’ नगरप्रमुख मिश्रले भने । 

२ सय ५० जना मात्र युवा एक वर्षमा काम सूरु गरेर उद्यमी भएमा मात्रै पनि नगरपालिका सकारात्मक सन्देश प्रवाह हुने नगरप्रमुख मिश्रको विश्वास रहेको छ ।  उद्यमीमा छनोट भएका युवाले पाँच वर्षभित्रमा क्रमशः सावा भने सम्बन्धित बैंकलाई फिर्ता गर्नुपर्ने छ । 

उक्त कार्यक्रममा चाँगुनारायणकी उपप्रमुख विना बास्तोला, चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, परिषदका प्रमुख प्रशासकीय अधिकृत डाक्टर बाबुराम ढुंगाना लगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप