शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाको गोठी गाउँमा आगलागीबाट ३२ घर नष्ट, ६४ चौपाया जले

राहत वितरणमा प्रदेश सरकारको ढिलासुस्ती
बुधबार, १४ माघ २०७७, १७ : ५५
बुधबार, १४ माघ २०७७

-पंखबहादुर शाही 
सुर्खेत । जुम्लाको तिला गाउँपालिका–७ को गोठी गाउँमा मंगलबार भएको आगलागीबाट ३२ घर जलेर नष्ट भएका छन् ।  मंगलबार बेलुकी साढे ५ बजे बस्तीमा आगो लाग्दा घरसहित १७ गाई, २३ गोरु, २४ बाख्रा गरी ६४ पशुचौपाया जलेर मरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएन ।

मंगलबार बेलुका करिब साढे ५ बजे आगलागी सुरु भएको थियो । चुलोको पाईपबाट आगलागी भएको अनुमान गरिएको प्रहरीको भनाइ छ । स्थानीय परव रोकायको घरमा खाना पकाउने क्रममा हिमाली चुलोको पाइपबाट निस्किएको आगोको झिल्का छानामा पुगेर आगलागी सुरु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट ३२ घरधुरीका २५८ जना प्रभावित भएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको आपतकालीन बैठकले राहतका सामग्री लिएर घटनास्थलमा जाने निर्णय गरेको छ । प्रतिपरिवार ५ जना सदस्य भएको घरमा १५ हजार र ५ जनाभन्दा बढी परिवार भएका घरमा २० हजारका दरले नगद राहतसहयोग उपलब्ध गराउने निर्णय भएको छ ।  

प्रमुख जिल्ला अधिकारी थापाले रातोपाटीलाई भने, ‘राहत सामग्री चामल, दाल, नुन, लत्ताकपडा लिएर घटनास्थल जाने तयारी भएपनि प्रदेशको टोली नआउने भएपछि हामी रोकिएका छौँ ।’ अब बिहीबारमात्र त्यसतर्फ जाने उनको भनाइ छ । ‘हामी राहत सामग्री लिएर एयरपोर्ट गइसकेका थियौँ,’ उनले भने, ‘प्रदेशबाट आउने भनिएको टोली बुधबार नआउने भएपछि हामी सदरमुकाममै रोकिएका छौँ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीसहितको टोली राहत लिएर आउने भनेको थियो । यद्यपि, हेलिकप्टर उडान नहुने भएपछि रोकियो ।’

आगलागी भएको २४ घण्टासम्म पनि प्रदेश सरकारका प्रतिनिधि आगलागी भएको स्थानमा पुग्न नसकेको भन्दै पीडित परिवार आक्रोसित भएका छन् ।  आगलागी पीडित परिवारलाई तत्काल आपतकालीन व्यवस्थापनको लागि त्रिपाल, भाँडा, कम्बल, लत्ताकपडा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, चामल, दाल, तेल र नुन लगायत खाद्यान्न किडार्क नेपालले विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराउने भएको छ ।

आगलागी पीडितहरुको प्राथामिक उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले तत्काल प्राथामिक उपचारको व्यवस्था मिलाउने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा गृह मन्त्रालयको आदेशमा कर्णाली प्रदेश सरकार सुर्खेत हुँदै जुम्ला विमानस्थलबाट राहत सामग्री लिएर प्रभावित बस्तीमा पु¥याईने जनाइएको छ ।

प्रदेश प्रमुखद्वारा दुःख व्यक्त
कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आगलागीको उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘घटनास्थलमा पीडितको राहत एवं पुनर्स्थापनाको लागि आवश्यक व्यवस्था मिलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तथा गैरसरकारी निकायलाई ध्यानाकर्षण गर्दछु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप