
वीरेन्द्रनगरमा ब्राउन सुगरसहित ३ पक्राउ

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो सयम लागुऔषधका घटनाहरु बढिरहेका छन् । लागूऔषध ब्राउनसुगरसहित बुधबार मात्र प्रहरीले वीरेन्द्रनगरबाट ३ जनालाई प्रक्राउ गरेको छ । कर्णाली प्रदेश लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका– १२, बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही ठाउँका सुमन बटाला, गणेश सुनार र गंगे सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुमनको घरमा खानतलासी गर्दा तीनजना शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले बताए ।
‘उनीहरुलाई सोधपुछ गर्ने क्रममा सुमनले हातमा लुकाइछिपाई राखेको शंकास्पद वस्तु झ्यालबाट बाहिर फाले,’ उनले भने, ‘उक्त वस्तु हेर्दा ब्राउन सुगर रहेछ ।’
पछि तीनैजनालाई खानतलासी गरेको भन्दै उनले भने, ‘दुई पुडिया गरी जम्मा २४ पुडिया नापतौल गर्दा प्लास्टिकसहित दुई ग्राम नौ सय ६० मिलीग्राम र प्लास्टिकबाहेक नापतौल गर्दा एक ग्राम आठ सय २० मिलीग्राम लागूऔषध भेटियो ।’
उनीहरुका साथबाट ब्राउन सुगर नापतौल गर्न प्रयोग गरिने डिजिटल तराजुसमेत बरामद गरिएको प्रवक्ता घर्तीले जनाए । उनका अनुसार उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ