शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हत्याको आशंकापछि देवर भाउजु फरार

सोमबार, १६ असोज २०७४, १५ : ४८
सोमबार, १६ असोज २०७४

परासी– सुनवल नगरपालिका २ बत्रौली बस्ने ३२ बर्षिय खेमराज (केदार) अहिरको हत्या भएको घटना बाहिर आएपछि हत्यामा संलग्न भनिएका दुई जना फरार भएका छन् ।  

असोज १४ गते शनिवार बिजया दशमीको राती ९ बजेको समयमा मृतक अहिरको साथी सोही गाउँ बस्ने २४ बर्षिय सुरेन्द्र गिरीले मृतक अहिरलाई एक ठाउँमा जाउँ भनि घरबाट बोलाएर बाहिर लगेका थिए । 

राती ९ बजे गएको मृतक अहिर रातीभरि घर नफर्केपछि उनको दाई बासुदेव अहिरले भोलिपल्ट आइतबार गिरीको घरमा सोधपुछ गर्न पुगे । गिरीका बुवाले मलाई केहि थाहा छैन भनेपछि मृतक अहिरको गाउँगाउँ र आफन्तहरुकहाँ खोजतलास हुन थाल्यो । 

दिउँसो ४ बजेको समयमा एक गाउँले घाँस काटन जाँदा धानको खेतमा अहिरलाई हत्या गरि फालिएको शव देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । अहरिको शरीरमा लाठी र धारिलो हतियार प्रयोग भएको निशान देखिएपछि अहिरको हत्या नै गरिएको शंका गरिएको छ । फेला परेको शवलाई पोष्ट मार्टम गर्न जिल्ला पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

मृतक अहिरलाई उनको साथी सुरेन्द्र गिरी र गिरीको भाउजु फुलमति गिरीले नै सुनियोजित तरिकाले हत्या गरेको पीडित परिवारको आरोप छ । घटनापछि आरोपित गिरी र भाउजु फूलमति दुबै फरार रहेको प्रहरीले जनाएको छ । 

असोज १३ गते नवमीको दिन मृतक र गिरीको घरपरिवारसँग सानो विषयमा झै–झगडा भएको थियो । विवाद मिलाउन भनी गिरीले अहिरलाई लगेको पीडित पक्षले बताए ।

हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै मृतकको दाइ बासुदेव अहिरले सोमवार जिल्ला प्रहरी कार्यालय परासीमा किटानी जाहेरी दिएका छन् । 

अहिरलाई उनको साथी गिरी र फूलमतिले नै हत्या गरेको शंकामा गिरीको बुवा र भाईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ भने फरार अभियुक्तलाई खोजतलास समेत गरिरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप